लकडाउनमा औषधि पसल सञ्चालकको मनोमानी, विभागले थाल्यो कारबाही

माेरङ– लकडाउनको क्रममा औषधि व्यवसायीहरुको बदमासी बढेसँगै विराटनगरस्थित औषधि व्यवस्था विभागले अनुगमनलाई तीव्रता दिएको छ।

विराटनगरका विभिन्न अस्पताल नजिक रहेका औषधि पसल सञ्चालकहरुले म्याद सकिएको औषधि विक्री वितरण गर्दै आएको, पसलमा विज्ञको अनुपस्थिति, मूल्यभन्दा बढी रकममा औषधि विक्री लगायतका गुनासो बढ्दै गएपछि विभागले अनुगमन थालेको हाे।

विभागका विराटनगर प्रमुख संजीव कट्टेलले यस्ता पसल सञ्चालकलाई कारबाहीको दायरामा ल्याएको बताए। अनुगमनका क्रममा विराटनगर अस्पतालभित्र सञ्चालनमा रहेका मेडी प्लस फार्मेसीले म्याद सकिएको औषधिको विक्री गर्दै आएको बताएका प्रमुख कट्टेलले फार्मेसीले पसलमा विज्ञ नराखी औषधि विक्री वितरण गरिरहेको जानकारी दिए।

अनिल चौधरीले सञ्चालन गर्दै आएको पसलबाट जेसिक्स ४०० को सेसिकजीम नामक औषधिहरु म्याद सकिएको भएपनि विरामीलाई विक्री गर्दै आएको फेला परेको उनले बताए। उनका अनुसार शरीरमा हुने संक्रमण रोक्न प्रयोग गरिने सो औषधिको म्याद जेठ ५ गतेसम्म रहेको भएपनि पसलेले सो औषधी विरामीलाई बेच्दै आएको गुनासो थियो।

औषधि विक्रीवितरणका लागि पसलमा अनुमति प्राप्त र फार्मेसी अध्ययन गरेको ब्यक्ति हुनुपर्ने प्रावधान रहेपनि अधिकांश पसलमा त्यो पाइँदैन। प्रमुख कट्टेलले भने, ‘यहाँ विज्ञको स्थानमा व्यवस्थापन अध्ययन गर्दै गरेकाहरु औषधि विक्री  वितरणमा रहेकाछन्। जसका कारण सही औषधि विरामीसम्म नपुग्ने डर रहेको छ।’

सो पसलबाट अवैध रुपमा विक्रीका लागि राखिएको दुइ कार्टुन खाद्य पुरक सामाग्री समेत जफत गरिएको बताएका कट्टेलले पसल सञ्चालक चौधरीलाई पाँच दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिए।

पसलमा कार्यरत नारायण दाहालले भने औषधि विक्री वितरणका क्रममा त्रुटी भएको स्वीकार गरे। अस्पताल नजिकमा सिरहाका रवीन्द्र महतोले सञ्चालन गरेको पश्चिमवासी फार्मेसी र सप्तरीका कृष्णकुमार यादवले सञ्चालन गरेको महेश मेडिकल हलमाथि छानबिन भइरहेको विभागले जनाएको छ।

दुवै पसलमा मान्यता प्राप्त विज्ञ नरहेको र औषधि बिक्रीमा अरु नै व्यक्ति प्रयोग गर्ने गरेको, दुवै फार्मेसीको औषधि दर्ता प्रमाणपत्र (लाइसेन्स) नियन्त्रणमा लिएर तत्काललाई औषधि बिक्री बन्द गर्न निर्देशन दिइएको छ।

विभागको टोलीले दुईवटा फार्मेसीको लाइसेन्स नियन्त्रणमा लिइरहँदा यी दुईवटाको बीचमा रहेको गोलबजार फार्मेसीका सञ्चालक भने पसल बन्द गर्दै हिँडेका थिए।

जेष्ठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू