कोरोना महामारी रोकथाममा उत्प्रेरणाको भूमिका

कोरोना अर्थात कोभिड १९ महामारीको चपेटामा विश्व नै अलमलमा परेको अवस्था छ। मानिसहरु घरको साँघुरो चार दिवार भित्र खुम्चिएर बस्नु परेको छ । अर्थ  व्यवस्था शिथिल छ । करोडौँ मानिसहरुले रोजगारी गुमाउनु परेको छ ।

विश्व खाध्य कार्यक्रमका प्रमुख अर्थशास्त्री एरिफ हुसेनले २६ करोड मानिसहरु भोकमारीको चपेटामा पर्ने आंकलन गरेका छन्। विकसित राष्ट्रहरुलाई समेत छटपटी बनाईरहेको महामारीले नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरुमा एक किसिमको पीडा थापिदिएको छ।

आम मानिसमा समेत एक किसिमको हतास, त्रास, भयको वातावरण श्रृजना गरेको छ । विश्वभर सङक्रमितको सङख्या झन्डै ५५ लाखको हाराहारीमा भसकेको, लगभग ३ लाख ४४ हजार जनाले ज्यान गुमाएको अवस्था छ। महामारीलाई दोस्रो विश्वयुद्द पछिको हतियार बिनाको अर्को युद्दको संज्ञा  पनि दिइएको छ ।

पछिल्लो समयमा नेपालमा पनि सङक्रमितको सङख्या नसोचेको अनुपातमा बढ्नुले पनि अबका दिनहरु राज्य लगायत हामी सबैको लागि जटिल एवमं चुनौतीपूर्ण छन् । विश्वमा स्वास्थ्यको क्षेत्रमा अब्बल ठानिएको इटाली त्यस्तै गरि शक्तिमान राष्ट्रहरु अमेरिका, फ्रान्स, बेलायत जस्ता मुलुकहरुलाई समेत आक्रान्त बनाएको यस महामारीले नेपालको अवस्था के होला ?

यस जटिल परिस्थितिमा राज्य, राजनैतिक दलहरु, उच्चस्तरीय समन्वय समिति, कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स),स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग, स्वास्थ्य संस्थाहरु, सुरक्षा निकायहरु, प्रदेश सरकार, स्थानीय सरकारहरु, स्वास्थ्य कर्मीहरु, सरसफाईकर्मीहरु, सामाजिक अभियन्ता तथा स्वयम नागरिकहरु अझ जिम्मेवार देखिनुपर्ने हुन्छ ।

यस जटिल अवस्थालाई व्यवस्थापन गर्नर महामारीलाई समेत न्यूनिकरण गर्नको लागि राज्यको ठूलो भूमिका देखिन्छ । आवश्यक बजेट व्यवस्था गर्ने, राहत कार्यक्रम घोषणा गर्ने, स्वास्थ्य सामग्रीहरु औषधिहरुको समयमा जोहो गर्ने देखि लिएर महामारी न्युनिकरणसँग सम्बद्द सम्पूर्ण स्टेकहोल्डरहरुलाई परिचालन, निर्देशन, संयोजन, उत्प्रेरित Feedback लिने, कोरोना पहिचान, उपचार सम्बन्धी जानकारी लिने दिने आदि इत्यादि । विशेष गरि सङक्रमणको पहिचान, रोकथाम , उपचार र नियन्त्रणसँग प्रत्यक्ष संलग्न हुने जनशक्तिहरुलाई उत्प्रेरित गर्दै महामारीसँग जुध्नु पर्ने देखिन्छ । उच्च मनोबलले  नै रोगसँग लड्ने प्रतिरोध क्षमतामा वृद्धि गर्ने हुनाले क्वारेन्टाईन, आईसोलेसनमा बसेकाहरु मात्र नभएर आम नेपाली जनताहरुको समेत मनोबल पनि उच्च राख्नु पर्ने देखिन्छ ।

उत्प्रेरणाको शाब्दिक अर्थ उन्मुख, झुकाब, अग्रसर गराउनु हो । उत्प्रेरणा मनोवैज्ञानिक मानवीय पक्ष हो जुन निश्चित उदेश्य पूरा गर्नको लागि काम प्रति उत्सुक गराउने कार्यसँग सम्बन्धित छ । सांगठनिक दृष्टिकोणबाट हेर्दा उत्प्रेरित कर्मचारीबाट मात्रै संस्थाले निश्चित उदेश्य निश्चित समयमा प्राप्त गर्न सक्छ । उत्प्रेरणा मानिसको मनोविज्ञानसँग सम्बन्धित भएकोले यसलाई अलि जटिल प्रक्रियाको रुपमा पनि लिईन्छ ।

कुनै व्यक्तिहरु वित्तिय साधनहरुले उत्प्रेरित हुन्छन भने कुनै व्यक्तिहरु गैर वित्तिय साधनहरुले उत्प्रेरित हुन्छन । उत्प्रेरित कर्मचारीहरुबाट मात्रै लक्ष्य हासिल संभव देखिन्छ। कोरोना अर्थात कोभिड १९ वैश्विक महामारीले आक्रान्त भएको अवस्थामा यसलाई न्यूनिकरण गर्नको लागि विशेष गरि अग्रपङ्कतीमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मीहरु, डाक्टरहरु, नर्सहरु, पारामेडिक्स, प्रयोगशालाकर्मी, इमेजिङ सेवाप्रदायक, सरसफाईकर्मी, एम्बुलेन्स चालक र सहायक इलेक्ट्रिशियनतथा प्लम्बर, प्रशासनिक तथा अन्य सहायक कर्मचारीहरुलाई राज्य, समाजले उत्प्रेरित गराउनुपर्ने देखिन्छ ।

पछिल्ला दिनहरुमा कोभिड-१९ को उपचारमा संलग्न जनशक्ति माथि विभिन्न ठाउँहरुमा भएको अमानविय व्यवहार, आक्रमणले उक्त जनशक्तिलाई उत्प्रेरणाको सट्टा झन उपेक्षा गरे जस्तो देखियो । स्वास्थ्यकर्मीहरुलाई घरबेटीहरुबाट घरमा पस्न रोग लगाएका, टोलमा पस्न प्रतिबन्ध लगाउनु, विभिन्न किसिमको बहाना बनाई स्वास्थ्कर्मीको घरमा लुटपाट गर्नु, उनीहरु चढेको सवारी साधनमा नै हातपात गर्नु, अत्यन्तै निन्दनीय घटनाहरु भए ।

आफ्नै स्वास्थ्यका रक्षकहरुलाई उत्प्रेरित गर्नुपर्नेमा उल्टै अमानविय व्यवहार देखिनु कोरोना रोग प्रतिको भय र त्रासका पनि हुन सक्छ साथै सामाजिक सोच र चिन्तनको पराकाष्टा पनि देखियो । नेपालमा महामारीको विकराल रुपको त कल्पना नगरौँ नहोस् पनि तर महामारी अलि व्यापक रुपमा फैलियो भने यो भन्दा जटिल समस्या देखिन सक्छ । यो तर्फ पनि समयमै सचेत हुनुपर्छ ।

महामारीको उच्च चरणमा स्वास्थ्यकर्मीहरुलाई आफ्नै  घरबाट समेत अवरोध नहोला भन्न सकिँदैन । यस्ता घटनाहरु फेरि दोहोरिन नदिनको लागि राज्यले विशेष पहल गर्नुपर्ने देखिन्छ। बन्दाबन्दीको कारण होटल व्यवसाय सुस्ताएको सन्दर्भमा उनीहरुलाई बस्न, खानको लागि अस्पतालको पायकमा रहेका गुणस्तरिय  होटेलहरुमा बस्ने व्यवस्था गर्ने र अस्पताल सम्म पुग्न तथा फर्कनको लागि यातायातको सुविधा समेत व्यवस्था गरेको खन्डमा यो समस्या समाधान हुन सक्ने देखिन्छ ।

आगामी दिनहरुमा उक्त कार्यमा खटिने जनशक्तिले त्यो पीडा भोग्न नपरोस् । अर्को पक्षबाट हेर्दा कोभिड १९ सरुवा रोग भएकोले पनि सुरक्षाका विधिहरु समयमा अपनाईएन भने स्वयम स्वास्थ्यकर्मीमा नै सर्न सक्ने प्रबल सम्भावना देखिन्छ । ज्यान नै जोखिममा राखेर अहोरात्र खट्नु पर्ने बाध्यात्मक परिस्थिति एकातिर छ भने अर्कोतिर सामाजिक अपहेलना , घर परिवारका सदस्यहरु, काखे नानीहरु छोडेर अहोरात्र खटिनु परेको पीडा देखिन्छ । सबै पीडामा रहेर यसरी अग्रपङ्कतिमा काम गर्ने जनशक्ति  कसरी उत्साहित होला?  अर्को पक्षबाट विश्लेषण गर्दा यो शक्तिनै कोरोनाको चपेटामा पर्यो भने अर्को संकट  उत्पन्न हुने देखिन्छ । पछिल्ला दिनहरुमा नेपालमा पनि छिटफुट केही सुरक्षाकर्मी, नर्स तथा चिकित्सकहरु नै कोरोनाबाट प्रभावित भएको देखिएको छ । जसले गर्दा पनि राज्यले यस्ता जनशक्तिहरुलाई उपर्यक्त सुरक्षा सामग्रीहरुको व्सयवस्था समयमै गर्नुपर्ने देखिन्छ ।

आफ्नै स्वास्थ्यका रक्षकहरुलाई उत्प्रेरित गर्नुपर्नेमा उल्टै अमानवीय व्यवहार देखिनु कोरोना रोगप्रतिको भय र त्रासका पनि हुन सक्छ साथै सामाजिक सोच र चिन्तनको पराकाष्टा पनि हो। नेपालमा महामारीको विकराल रुपको त कल्पना नगरौँ, नहोस् पनि तर महामारी अलि व्यापक रुपमा फैलियो भने योभन्दा जटिल समस्या देखिन सक्छ। योतर्फ पनि समयमै सचेत हुनुपर्छ।

नेपाल सरकारले उपचारमा संलग्न हुने जनशक्तिहरुलाई उत्प्रेरित गर्नको लागि नेपाल सरकारले कोरोना भाइरसको सङक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्पयवस्थापन आदेश २०७७ कोदफा २ मा उल्लेखित जनशक्तिहरुलाई दफा ३ बमोजिम कार्य गर्ने जनशक्तिलाई दफा ७ बमोजिमको विभिन्न आधारहरु (कामको आधारमा ) बनाएर दोहोरो नपर्ने गरि कर्मचारीको शुरु तलबको ५०, ७५  ,१०० प्रतिशत सम्म जोखिम भत्ताको व्यवस्था गरेको छ । यस्ता किसिमका वित्तिय साधनहरुले पनि माथि उल्लेखित जनशक्तिहरुलाई महामारी न्युनिकरणको लागि केहि हदसम्म उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

कोभिड-१९ का बिरामीहरूको उपचारमा प्रत्यक्षरूपमा संलग्न स्वास्थ्यकमी तथा अन्य कर्मचारीहरूको व्यवस्थापन सम्बन्धि मार्ग निर्देशन, २०७७ जारी गरिएकोमा जसबाट लगातार १४ दिनसम्म दैनिक बढीमा १० घन्टा सम्म काम गर्नुपर्ने तोकेको छ । बिरामीहरूको उपचारमा प्रत्यक्षरूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू सिधै घर परिवारसँग्बा प्रत्यक्ष सम्पर्कमा जानु भन्दा पहिले १४ दिन क्वारेन्टाईनमा बस्नु पर्ने उक्त क्वारेन्टाईन भरसक अस्पताल भित्रै तोकिएको मापदन्ड पुरा गरेको हुनु पर्ने ।

यदि सम्भव नभएको खन्डमा आधारभुत सुविधासहितको गुणस्तरिय, सुरक्षित पहिचान गरेको भवनमा व्यवस्थापन गरिनुपर्ने व्यवस्था गरिएको छ ।  नभएमा अस्पताल देखि नजिकको गुणस्तरिय र सुरक्षित होटलमा आउन जान यातायातको सुविधा सहित व्यवस्था गर्नु पर्ने व्यवस्था गरेको छ जसलाई पूर्ण रुपमा कार्यान्वयन गराउनुपर्ने देखिन्छ ।

उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरूको लागि गुणस्तरीय तथा स्वस्थ खानपान, सरसफाई र आवासको व्यवस्थाको लागि वास्तविक खर्चका आधारमा प्रतिव्यक्ति दैनिक  रू २००० मा नबढ्ने गरि अस्पताललाई रकम उपलब्ध गराउने । व्यक्तिगत सुरक्षाका विषयमा रोष्टरमा रहेका र अन्य स्वास्थ्यकर्मी कर्मचारीहरूलाई तालीम वा समय समयमा थप जानकारी दिने । उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मीहरू र निजका  परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवा उपलब्ध गराउने ।

क्यारेन्टाईन अवधि र ७ दिन बिदालाई कार्य अवधिमा गणना गरि निजहरुले नियमित रुपमा पाउने तलब भत्तमा उपलब्ध गराउने लगायत निजहरुलाई कोभिड १९ पोजिटिभ देखिएमा प्राथामिकतामा राखि उपचार गराउने आदी इत्यादि जस्ता व्यवस्थाहरू गरेबाट पनि  उक्त जनशक्तिलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्यकर्मी मात्र नभएर क्वारेन्टाईनमा बसेकाहरुमा पनि एक किसिमको उर्जा दिनु जरुरी छ । मानिस क्वारेन्टाईनमा बस्दा भयवित नहोस् भन्नका लागि क्वारेन्टाईन किन बसिन्छ, कोराेना कस्तो रोग हो, के यो रोग लाग्न बित्तिकै मानिस मर्छ की मर्दैन आदि जस्ता विषयहरुमा जानकारी दिने ।  उनीहरुको निरसता हटाउनको लागि बेला बेलामा योगहरु, ध्यानहरु, नृत्य, संगीतको व्यवस्था गर्यो भने उनीहरुमा एक किसिमको उत्प्रेरणा उत्पन्न हुन्छ ।

पछिल्ला दिनहरुमा क्वारेन्टाईन निर्धारित मापदन्डको नभएको भन्ने गुनासोहरु आइरहेको सन्दर्भमा क्वारेन्टाइन बनाउँदा मापदन्ड पूरा गर्नुपर्ने, मापदण्ड पूरा नभएका क्वारेन्टाईनहरु तुरुन्त निर्धारित मापदण्डका बनाउनु पर्ने त्यस्तै गरि  स्वस्थ खानाको व्यवस्था गर्नु पर्ने देखिन्छ ।

सङक्रमित बिरामीलाई त झनै आत्मबल बढाउने किसिमले सुमधुर ब्यवहार गर्नु पर्नेमा, समय समयमा हौसला बढाउनु पर्नेमा उपचारमा संलग्न स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने देखिन्छ त्यस्तै गरि स्वयम बिरामी पनि संयमित धैर्य हुनु आवश्यक छ ।

सामाजिक सन्जालहरुमा पोष्ट हुने अनावश्यक हल्ला, अफवाह फैलाउने खालका समाचारहरुले आम नागरिकहरुमा एक किसिमको भय, त्रासको स्थिति देखापरेको छ । जसको लागि स्वयम नागरिक पनि अति सतर्क र चनाखो बन्दै आधिकारीक वेभसाईटहरुबाट प्राप्त सूचनाहरुलाई मात्रै विश्वास गर्नुपर्ने देखिन्छ । बन्दाबन्दीको कारण घरभित्रै बस्दा मानिसहरुमा विभिन्न किसिमका मनाेरोगहरु लाग्न सक्ने समस्या देखिन्छ । जसलाई कम गर्नको लागि घर मै शारीरिक व्यायाम, योगा, जस्ता कार्यहरु नियमित रुपमा गर्ने बानी बसाल्नु पर्ने देखिन्छ । संयमित भएर कोरोना सम्बन्धी डब्लुएचओका निर्देशनहरु पालना गर्नुपर्ने देखिन्छ ।

वैश्विक महामारी कोभिड १९ सँग जुध्नको लागि राज्यको अहंम भूमिका हुन्छ । नेपालमा तिन तहका सरकारहरु भएको परिपेक्ष्यमा सबै तहका सरकारको भूमिका खरो देखिनु पर्दछ । राज्यले वैश्विक महामारीसँग जुध्नको लागि माथि उल्लेख गरेका कार्यहरुको साथै संलग्न सम्बद्द सबै पक्षहरुलाई उत्प्रेरित गर्नुपर्छ ।

कोभिड १९ पहिचान, रोकथाम, नियन्त्रणमा अग्रपङ्तिमा खट्ने जनशक्ति भलै आर्थिक रुपमा राज्यबाट दिइएका सुविधाहरु कम होलान् तर पनि स्वयम उत्प्रेरित भई लाग्नु पर्ने देखिन्छ । कसैले भनेको कथन सापटी लिँदै वैश्विक महामारी कोभिड १९ को कारण मन्दिर, गुम्बा, मस्जिद, चर्च  आदि आदि बन्द भएको अवस्थामा हाम्रा अस्पताल, स्वास्थ्य केन्द्रहरू नै  मन्दिर, मठ, मस्जिद, चर्च भएका छन् भने उक्त कार्यमा खट्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरु भगवान बनेका छन्।

अतः यो मिठो कथनलाई आत्मसाथ गर्दै अग्रपङ्तिमा रहेका जनशक्तिहरु पनि यस महान पूण्य कार्यमा स्वउत्प्रेरित भई परिचालित हुनुपर्ने देखिन्छ । नेपालमा अहिले कोरोना सङ्क्रमित बाहेकका अन्य रोगहरुको उपचार नपाउने स्थिति बनेको अवस्थामा  निजी स्तरका अस्पताल, नर्सिङ् होमहरुले पनि सहयोगीको भूमिका खेल्नु पर्ने देखिन्छ ।

कोरोना बिरामीहरुको चाप अत्याधिक भएको अवस्थामा उपचार गर्ने सन्दर्भमा पनि  निजी क्षेत्रका अस्पतालहरु अग्रसर बन्नु पर्ने  देखिन्छ । महामारीको अवस्थालाई पार लगाउन समाजले पनि सहयोगी भूमिका निर्वाह गर्दै सरकारले गरेका आग्रहहरु पालना गर्ने गराउने, उपचारमा प्रत्यक्ष संलग्न हुने जनशक्तिलाई हतोत्साही नभएर उत्साही बनाउँदै जानुपर्ने देखिन्छ ।

अन्तमा कोभिड १९ महामारी न्यूनिकरण अभियानमा  सत्य, तथ्य  जानकारीमुलक समाचारहरु प्रकाशन,  प्रसारण गर्नेका साथै संलग्न सम्बद्द सम्पूर्ण सबैलाई उत्प्रेरित गर्नको लागि सन्चारकर्मी तथा मिडिया हाउसहरुले पनि अहमं भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

(लेखक व्यवस्थापन विषायसँग सम्बन्धित छन्। )

 

जेष्ठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्