भारतसँग नेपालको जमिन फिर्ता लिन व्यवहारमा पनि स्वाभिमानी बन्नुपर्छ

नेपालले आफ्नो देशको नयाँ नक्सा प्रकाशन गरेपछि भारतीयमा अहिले नयाँ तरङ्ग आएको छ। उनीहरु आक्रोशित देखिन्छन्। नेपालको गुमेको जमिन फर्काउने उद्देश्यले आफ्नो कालापानी लगायतको जमिन देखाएर नक्सा प्रकाशन गरेको कुराले भारतको अहंकारमा ठेस पुगेको छ।

बहुदलीय व्यवस्था आएपछि नेपालका धेरै नेतालाई दानापानी खुवाएर भारतभक्ति प्रदर्शन गर्न लगाइरहेको भारत सधैँभरि उस्को इशारामा नेपाली नेता चलून् भन्ने चाहन्छ। त्यसैले नेपाललाई कहिले पनि स्थीरतापूर्वक सरकार चलाउन नदिने नीति भारतको रहिआएको छ। त्यही भएर कुनै पनि सरकारले कालापानी लगायतका विवाद बलियोसँग उठाउनै सकेनन्।

त्यही भएर भारतले विवादास्पद भनेको कालापानीमा सेना मात्र राखेन, त्यस्को नक्सा आफ्नो भूमिमा गाभेर प्रकाशन गर्‍यो। नेपालले त्यसको विरोधको नोट पठायो, उस्ले वास्तै गरेन। त्यही क्षेत्रमा बनाउँदै गरेको बाटो नेपालको कालापानी लिपुलेकको जमिन भित्रबाट बनाउँदै उद्घाटन समेत गरेपछि सम्पूर्ण नेपाली अत्यन्त आक्रोशित भए। फलस्वरुप विरोध बढ्दै गएर सरकारमाथि निकै ठूलो दबाब पर्‍यो। त्यसपछि नेपाल सरकारले पनि भारतीय कब्जामा रहेको कालापानीसहित नयाँ नक्सा प्रकाशन गर्ने हिम्मत गर्‍यो। यस्ले सम्पूर्ण नेपालीमा एक किसिमको खुशीयाली पैदा गरेको छ।

नेपालले आफ्नो नक्सामा लिम्पियाधुरा, कालापानी तथा लिपुलेक गाभेर नयाँ नक्सा प्रकाशन गरेपछि भारतमा यस्ले ठूलो तहल्का मच्चाएको छ। सबै भारतीय सञ्चार माध्यममा यस विषयलाई अत्यन्त महत्व दिँदै चीनको उक्साहटमा यो नयाँ नक्सा प्रकाशनमा आएको भन्दै निकै आक्रोशपूर्ण अभिव्यक्तिहरु आएका छन्।

भारतीय सरकारले कालापानी विवादमा भारत ठिक छ भनी मिडिया मार्फत आफ्ना स्वरहरु बाहिर ल्याइरहेको छ। यही सिलसिलामा भारतीय पत्रकार अर्नब गोस्वामीले भारतीय टिभीमा बहस चलाए। त्यस बहसमा २ जना नेपाली पत्रकार एकजना नेपाली कांग्रेसका नेतालाई पनि सामेल गरे। उक्त बहसको माध्यमबाट उनीहरुका अहंकार र आक्रोश पोखेको भान हुुन्थ्यो। खासगरी चीनको उक्साहटमा नेपालले उक्त नक्सा प्रकाशन गरेको भनेर नेपाली जनताको राष्ट्रिय भावनामा ठेस पुर्‍याएको देखियो। उक्त छलफलमा नेपालीहरुलाई प्राय बोल्न नदिएर आफ्ना कुरा राख्न मात्र खोजेका देखिन्थे कार्यक्रम संचालक अर्नब गोस्वामी।

भारतले यस्तो गम्भीर विषयमा दुई देशका नेता बसेर छिटो छलफल गर्नुभन्दा आफ्ना जनतालाई गुमराहमा राखेर गलत खबर प्रसारण गरिरहेको छ। त्यस्को प्रतिवादमा केही नेपाली समाचार माध्यममा आफ्ना तर्क र प्रमाणसहित हाम्रा विज्ञहरु पनि बोलेका छन्। खासगरी भारतले सीमा विवादमा वार्तालाई टार्दै आइरहेकोले यो समस्या यथावत रहँदै आएको हो।

अहिलेसम्म हाम्रा सरकारहरुले गम्भीरतापूर्वक वार्तालाई अघि बढाउनुभन्दा खालि जनताको आँखामा धुुलो हाल्ने काममात्र गरे। केही पढेलेखेका भनाउँदा दास मनोवृत्तिका विज्ञहरु पनि नेपालको हितमा भन्दा भारतको हितमा बोलेको समेत देखियो। यस्ले भारतलाई हाम्रो जग्गा कब्जामा राखिरहन सघाउ पुगिरह्यो।

अहिलेसम्म हाम्रा सरकारहरुले गम्भीरतापूर्वक वार्तालाई अघि बढाउनुभन्दा खालि जनताको आँखामा धुुलो हाल्ने काममात्र गरे। केही पढेलेखेका भनाउँदा दास मनोवृत्तिका विज्ञहरु पनि नेपालको हितमा भन्दा भारतको हितमा बोलेको समेत देखियो। यस्ले भारतलाई हाम्रो जग्गा कब्जामा राखिरहन सघाउ पुगिरह्यो।

भारत जतिसुकै ठूलो भए पनि उस्को मानसिकता अत्यन्त सानो सोचका साथ जहिले पनि छिमेकीलाई पेल्ने दुःख दिने प्रवृत्ति भएको उपनिवेशवादी नीति लिएको देखिन्छ। राष्ट्रियताका विषयमा भारतमा सबै जनमत एक हुन्छन्। अब नेपालले पनि यस्ता विषयमा हामी सम्पूर्ण नेपाली एक हुन अत्यन्त आवश्यक छ। अहिलेको २१ औँ शताब्दीमा कसैलाई ठग्ने झुुक्याउने र तर्साउने काम चल्दैन। दुवै सरकारले जतिसक्दो छिटो सीमा समस्या सुल्झ्याउन वार्ताको टेबलमा बस्नुको विकल्प छैन। यस्बाट सही परिणाम निकालेर सधैँको लागि अब शान्तिपूर्वक असल छिमेकी भएर बस्न सकौँ।

जसरी भारतको आफ्नो हितमा हुने कुरा छ भने सम्पूर्ण नेता पत्रकार कर्मचारी बुद्धिजिवी एक हुन्छन्। यता नेपालमा नेता पिच्छे उनीहरुको भारतप्रतिको सम्बन्ध र सोच फरक पाइन्छ।

हामी हाम्रो स्वाभिमान बचाएर आफ्नो देशको हितमा सबैले एकमतले बोल्न सक्नुपर्छ। हामीले समय अनुसारको सहि विदेश नीति बनाएर आफ्नो राष्ट्रिय अडानमा कायम राख्दै भारतीयले कब्जा गरेको जमिन फिर्ता ल्याउन सम्पूर्ण नेपालीको एउटै आवाज एउटै लय हुन आवश्यक छ। हामी भारतमुखी नभई सबै कुरामा भारतसँग निर्भर नहुने र हामी नेपालमुखी हुुँदै आत्मनिर्भर हुनेतर्फ लाग्न आवश्यक छ। अब हामी स्वदेशी उत्पादनमा जोड दिन थालाैँ। आत्मनिर्भर हुन हामीले हाम्रा उत्पादनलाई महत्व दिने र भारतीय सामानको प्रयोग क्रमशः घटाउँदै लान प्रयास मात्र गरेपनि त्यस्को प्रत्यक्ष असर पर्न थाल्छ। त्यस्तै गरेर खर्चमा मितव्ययी गर्न कमसेकम ३ वर्षसम्म नयाँ गाडीहरु खरिद गर्न बन्द गरौँ।

सरकारले सुविधाभोगी सामान र प्रशासनिक खर्चमा कटौती गर्दै स्वास्थ्यमा खर्च बढाउनुपर्छ। विदेशमा रोजगारका अवसरहरु घट्ने हुनाले युवाहरुलाई स्वदेशमा रोजगारका कार्यक्रमहरु कार्यान्वयन गरौँ।

कृषि उत्पादनमा महत्वपूूर्ण फड्को मार्न अधिराज्यभर सिँचाइमा अभियान चलाउन सकेमात्र पनि हाम्रो उत्पादन ह्वात्तै बढ्न सक्छ। तराईमा ठूला सिँचाइमा खासगरी सुनकोशी मरिन डाइभर्सन जस्ता सिँचाइ आयोजनाले २ नम्बर प्रदेशको कायापलट हुनसक्छ। पहाडतिर कुलो तथा ठूला ठूला पोलिथिन पाइपबाट पानी खेतबारीमा पुर्‍याउन अत्यन्त आवश्यक छ।

त्यसै गरेर कृषकका उत्पादन बजार पुर्‍याउन पनि सरकारले मद्दत गर्नुपर्छ। यस्ता महत्वपूर्ण कुराहरुमा सरकारले ध्यान दिनसके हामी आफ्नो स्वाभिमान नगुमाई भारतसँग टक्कर लिएर भएपनि बाँच्न सक्छाैँ, यसतर्फ लागिहालौँ। त्यसपछि सिमानामा तारको बार लगाएर पनि हामी बाँच्न सक्छौँ।

सम्पूर्ण संसार कोरोनाको कहरमा अलमलिएको बेलामा भारतले हाम्रो जमिनमा बाटो बनाएर उद्घाटन समेत गरेपछि नेपाली जनता भारतबाट पीडित तथा आक्रोशित एकसाथ भएका छन्। अब पनि हामीले आफ्नो स्वाभिमान नगुमाई भारतीयको अहंकार तोड्न समाचार माध्यम नेता कर्मचारीमा नैतिक शाहस र बल जुटाउनैपर्छ।

सरकारले भारतसँग लगातार कुटनीतिक वार्ता गर्नुको साथै विज्ञहरु, नेपाललाई माया गर्ने भारतीय तथा अन्य विद्वानहरुलाई खोजिखोजी टिभीमा बहस चलाइरहनुपर्छ।

भारतसँग वार्ता गर्न आवश्यक प्रमाण र विज्ञहरु तयार गर्ने र चीन तथा सुगौली सन्धिको सुत्रधार बेलायतसँग पनि वार्ता गरी कालापानीको विवादको समाधान गर्न आवश्यक सहयोगको वातावरण बनाउन अत्यावश्यक छ।

जेष्ठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्