नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालनको निर्णय

नेपालगञ्ज – गाउँपालिकाको ‘गुहार’लाई मध्यनजर राख्दै नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गर्दै नेपाली सेना परिचालन गर्ने निर्णय भएको छ।

जिल्ला सुरक्षा समितिले उक्त निर्णय गरेको हो। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नरैनापुरमा आज राति आठ बजेदेखि अर्को सूचना नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्दै सुरक्षा सतर्कताका लागि नेपाली सेना परिचालन गर्ने निर्णय भएको जानकारी दिए।

‘अब नरैनापुरमा सेनाको उपस्थिति रहन्छ’, सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, ‘राति आठ बजेदेखि निषेधित क्षेत्र घोषणा हुन्छ। यो नरैनापुरका सबै क्षेत्रमा लागु हुन्छ।’

नरैनापुर कोरोनाको ‘इपिसेन्टर’ नै बनेको छ। जिल्लाको पूर्वी दक्षिण यो पालिकामा अहिलेसम्म १ सय १४ जनामा कोरोना देखापरेको छ। त्यसमध्येमा एकजनाको मृत्यु भइसकेको छ। बाँकेमा हालसम्म १ सय ४२ जना संक्रमित भेटिएका छन्। त्यसमध्ये २१ जना निको भएर घर फर्किएका छन्।

नरैनापुरमा कोरोना संक्रमितका लागि आइसोलेसनसमेत छैन।  नरैनापुरका संक्रमितलाई नेपालगञ्ज, कोहलपुर र खजुरामा ल्याएर राखिएको छ।

नरैनापुरमा आइसोलेसन सेन्टरसमेत नहुनु र केही स्थानीयले पालिकाको बिरामीलाई पालिकामै राख्नु पर्ने भन्दै नेपालगञ्जबाट बिरामी लिन गएको एम्बुलेन्सलाई अवरोध गर्ने र संक्रमितलाई समेत भगाउने काम गरेपछि गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले थप सुरक्षाकर्मी परिचालन गर्न गुहार मागेका थिए। उच्च स्तरीय स्वास्थ्यकर्मीसहित थप सुरक्षाकर्मी परिचालन नगरिए गाउँमा कोरोनाको भयावह हुने अध्यक्ष शाहको भनाई छ।

नरैनापुरमा अझै भारतबाट आउने क्रम रोकिएको छैन। क्वारेन्टाइनमा बस्नेको संख्या पनि ठूलो छ। गाउँपालिकाका प्रशासकीय अधिकृत मणिराम खनालले गाउँमा केही व्यक्तिले कोरोनाबारेमा भ्रम सिर्जना गर्ने, स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई असहयोग गर्ने, कोरोना संक्रमितलाई भगाउनेसमेत गरेकाले संक्रमण समुदायमा फैलिन सक्ने चिन्ता गरिएको बताए।

भारतबाट नेपाली भित्रिरहेका छन्। दैनिक ठूलो संख्यामा भित्रिएका नेपालीलाई गाउँपालिकालाई क्वारेन्टाइनमा राख्ने चुनौती छ। त्यसमा गाउँमा कोरोनाप्रति विभिन्न भ्रम छर्ने काम भइरहेकाले क्वारेन्टाइनमा बसेकाहरु बाहिर निस्किने, भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्न नमान्ने अवस्थालाई मध्यनजर गरेर गाउँपालिकाले सेनाको उपस्थिति खोजेको हो।

गाउँपालिकाको आग्रह अनुसार नै निषेधित क्षेत्र घोषणाका साथै सेना परिचालन गरिएको छ। नरैनापुरमा प्रहरीलाई समेत कोरोना देखिएको छ।

जेठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्