गोपालबहादुर कामी, पुष्पा भट्ट र उनीहरुको दुई छोरा। तस्बीरहरु रविन आचार्य ।
लकडाउनले चर्काएको घाउ

प्रेम बचाउँदा मर्दै गएको जीवनको आश

काठमाडौँ– जातीय छुवाछुत, बहिष्कार, प्रतिबन्ध र तिनका आधारमा वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई कानुनले निषेध गरेको आधा शताब्दी भन्दा बढी भइसकेको छ।

२०६३ को राजनीतिक परिवर्तनपछि यी विभेदबारे थप सक्रिय हुने घोषणा सरकारले गर्‍यो। त्यसको पृष्ठभूमिमा अनेक आन्दोलन र संघर्ष भए।

तर हाल पनि जातीय छुवाछुतदेखि अवहेलनाका उदाहरणहरु देख्न सकिन्छ, खासगरी ग्रामीण भेगमा।

गाउँबाट बहिस्कार भएपछि सहर छिरेका पीडितहरुको घाउ यतिबेला कोरोना भाइरस संक्रमणको यो अकल्पनीय महामारीमा झन् बल्झिएको छ।

सहाराविहीन अवस्थामा बाँच्न बाध्य पीडितहरुले आफ्नै जीवनलाई अर्थहीन देख्न थालेका छन्। कुनै बेला साहसी बनेका उनीहरुले हाल आएर जीवनप्रतिको आश मार्न थालेका छन्। सिंहदरबार टाढा छ उनीहरुदेखि।

शिक्षित परिवारद्वारा नै बहिस्कार


डडेल्धुरा, पर्शुराम नगरपालिका १२ जोगबुडाका २९ वर्षीय गोपालबहादुर कामी र २३ वर्षीया पुष्पा भट्ट छिमेकी थिए।

बाल्यकालदेखि सँगै खेल्नु, विद्यालय वा मेलापात जानु अनौठो थिएन उनीहरुका लागि। तर प्रेममा पर्नु समाजका लागि अस्वाभाविक बन्यो। अपराधीमा दर्ज भए उनीहरु।

अन्तरजातीय विवाहका कारण उनीहरु आफ्नै परिवार र थातथलोबाट बहिस्कृत भएको सात वर्ष भयो। तिरस्कारको श्रृङ्खला अझै रोकिएको छैन।

पुष्पाका बुवा शिक्षक थिए। दाइहरु पनि पढेलेखेका। जातका आधारमा भेदभाव गर्न हुन्न भन्दै उनी विद्यालयमा पढाउने मात्रै गर्थेनन्, छिमेकीलाई पनि सम्झाउँथे।

तर पुष्पा गोपालसँग हिँड्डुल गर्नु उनका लागि सह्य भएन। हुर्किदै गएकी पुष्पालाई गोपालसँग भेट्न प्रतिबन्ध लगाउने प्रयास भयो। त्यतिञ्जेल पुष्पा र गोपालको प्रेम झाँगिसकेको थियो।

पुष्पा ८ र गोपाल १० कक्षामा अध्ययन गरिहेका बेला उनीहरुमाथि परिवारको निगरानी र आलोचना तीब्र बन्यो। परिस्थिति कठिन देखेर गोपाल धनगढीस्थित मामाघर झरे। तर एक वर्षभन्दा बढी टिक्न सकेनन् उनी त्यहाँ।

‘पुष्पा र मेरो सम्बन्ध टुटाउन अनेक धम्की आउन थाले। हामीले घरपरिवार मात्रै होइन समाजको नाक काटेको, चलिआएको परम्परा तोडेको आरोप लाग्यो। बाध्यतामा म धनगढी झरेँ’, गोपाल सम्झिन्छन्।

गोपालले पुष्पालाई बिर्सन सकेनन्। पुष्पाले पनि गाउँबाट फोनमा रुँदै भन्न थालिन्, ‘घरपरिवार र छिमेकीले मलाई घरमा बस्न दिएनन्, अब म यहाँ बस्न सक्दिन। आएर मलाई आफ्नै साथ लैजाऊ। म मर्छु तर तिमीलाई छोड्न सक्दिन।’

त्यसपछि गोपालको मन धनगढीमा अडिएन। तत्कालै जोगबुडा पुगे। ‘मर्नु परे दुबै मरौँला’ भन्दै उनले रातरात पुष्पालाई भगाएर बैतडी पुर्‍याए।

तर जोखिमले उनीहरुलाई पछ्याइरह्यो।

उनीहरु भागेपछि पुष्पाका परिवारका सदस्यको विरोध र आरोपको स्वर गोपालका आमाबुवातर्फ मोडियो। जोगबुडामा कतिथ उच्च जातिका ३०/३५ घरहरुका बीचमा गोपालको एक्लो घर थियो। दलित समुदायबाट।

सामाजिक मूल्यमान्यता विपरित ब्राह्मणकी छोरी गोपाल (दलित समुदाय)ले भगाएको भन्दै गोपालका आमाबुवालाई पनि गाउँबाट निकल्ने प्रयास भयो। उनीहरुले अनेक यातना सहे। तर घर छोडेनन्।

परिवारको बहिस्कारले १६ वर्षमै विवाह


घरपरिवारको बहिस्कारका कारण पुष्पा १६ वर्षकै कलिलो उमेरमा अध्ययन छोडी विवाह गर्न बाध्य भइन्।

‘मैले अपराध गरेको थिइनँ। गोपाल मेरा मिल्ने साथी थिए। तर हामी मिल्दा हाम्रो विद्यालय मात्रै होइन गाउँमा पनि बदनाम गरियो। गाउँमा नबस भनियो। केही सीप नलागेर म गोपालसँग भागेँ’, पुष्पा सम्झिन्छिन्।

बैतडीमा उनीहरुले एक वर्ष कष्टकर जीवन बिताए। केही नलागेपछि गोपालका बुवाआमा गएर उनीहरुलाई जोगबुडा ल्याए।

तर पुष्पाको माइतीको आक्रोश जिवितै थियो। पुष्पा र गोपाललाई कतै देख्यो कि झम्टिन पुगिहाल्थे उनीहरु। छिमेकीको व्यवहार पनि उस्तै। दलित गरिब हुँदा पीडाको बोझ र थिचोमिचोको सम्भावना बढ्छ नै। त्यो उनीहरुले भोग्नसम्म भोगे।

पुष्पा, बुवाआमा लगायत परिवारका सदस्य गाउँमै छोडेर गोपाल नेपाली सेनामा भर्ती हुन फेरि धनगढी झरे।

सेना छनौट प्रक्रिया चलिरहेका बेला गोपाललाई खोज्दै पुष्पाका आफन्त धम्काउन त्यहीँ पुगे। तनावग्रस्त गोपाल अन्तवार्तामा फालिए। अनि फेरि उनी गाउँ फर्किए।

गाउँपालिकाले विवाह दर्ता गर्न नमान्दा


छुवाछुतविरुद्ध कानुन बनेपछि सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन र आर्थिक अनुदान घोषणा पनि गर्‍यो। तर पुष्पा र गोपालले  केन्द्र सरकार र स्थानीय सरकार दुबैबाट त्यो सहयोग पाएका छैनन्।

समाजबाट भाग्दा भाग्दै सात वर्ष विताएका पुष्पा र गोपालका दुई छोरा छन्। छोराहरुको जन्मदर्ता गराउने बेला उनीहरुको संघर्ष झन चुलियो।

आफूहरुनै विवाह दर्ता गर्नबाट बञ्चित भएकाहरुले छोराहरुको जन्मदर्ता बनाउन सहज थिएन।

पुष्पाका माइती पक्षको सहमति बिना गाउँपालिकाले उनीहरुको विवाह दर्ता गर्न धेरै समय आनाकानी गर्‍यो। गोपालले कयौँ ठाउँमा भनसुन गरेपछि मात्रै उनीहरुको हातमा विवाह दर्ता पर्‍यो।

उनीहरुले विवाहको कानुनी मान्यता पाए तर उनीहरुप्रति घरपरिवार र छिमेकीको दृष्टिकोण बदलिएन। उनीहरुलाई स्वीकारेनन्।

परिवारभन्दा समाजकै डर


विकल्प साँघुरिदै जाँदा गोपाल विदेशिए। कुवेतको मरुभूमिमा पुगेर पसिना बगाउन थाले। बचत गरेको पैसा गाउँमा बुवाआमालाई पठाउनु पर्ने कर्तव्य ठाने उनले । जोगबुडामा उनीहरुको चार कोठे ढलान घर पनि ठडियो।

तर समस्या भने सुल्झिएन।

परिवेशले अर्को मोड लियो जब छिमेकीको उक्साहटमा गोपालका बुवाआमाले पनि पुष्पालाई हेला गर्न थाले। बोक्सीको आरोपमा अमानवीय व्यवहार पुष्पाको नियत बन्न पुग्यो। क्षयरोगका कारण गोपालका १८ वर्षीय भाईको मृत्यु भयो। त्यसको दोष पुष्पामाथि आइलाग्यो।

जात नमिलेर विवाह भएकाले देवरको बितेको आरोप पुष्पाले खेपिरहेका बेला गोपालकी आमा पनि बिरामी भएर बितिन्। पुष्पामाथिको दोषको बोझ झन् थपियाे।

पुष्पाले गोपाललाई आफ्नै घरमा पनि बस्नेस्थिति नभएको बारम्बार सुनाउन थालिन्। गोपाल आत्तिए। १९ महिनामै गाउँ फर्किए। तर अपमानको बोझ बीसको उन्नाइस भएन।

पुष्पा र गोपाल मात्रै होइन उनीहरुका छोराहरु पनि सामाजिक तिरस्कारको शिकार बन्न थाले। गोपालका लागि गाउँमा काम गर्ने वातावरण पनि बनेन।

घरपरिवारलाई सम्झाएर गोपाल फेरि कुवेत जान काठमाडौँ आए। तर कुवेतका लागि उढ्न ठिक्क परेका गोपाललाई अघिल्लो दिन पुष्पाले रुँदै फोन गरिन्।

पुष्पाले भनिन, ‘घरमा बस्न दिएनन्। मलाई र छोराहरुलाई निकाले। हामी कैलाली, अत्तरीया आएका छौँ।’ गोपाल रन्थनिए। त्यसैदिन रात्री बस चढेर अत्तरीया पुगे। एक सरो कपडामा रहेका पुष्पा र दुई छोरा लिएर गोपाल काठमाडौँ आए।

सहरको मजदूरी पनि गुमेपछि


गोपालले बसुन्धारा ३ को सुकुम्बासी टोलमा डेरा लिएर परिवारलाई राखेका छन्। ज्यामी काम गरेर परिवार चलाइरहेका बेला फेरि उनको जीवनमा अर्को संकट आइलागेको अहिले। कोरोना भाइरसको जोखिम कम गर्ने भन्दै सरकारले लकडाउन लम्बाउँदै जाँदा गोपाल र उनको परिवारको आँतसुक्दै गएको छ।

साँघुरो घरको एउटा भाडाको अध्याँरो कोठामा उनीहरु सीमित छन् दुई महिना यता। गाउँ फर्कने आधार रित्तिसक्यो। सहर जोखिमपूर्ण बन्दैछ दिनप्रतिदिन उनका लागि।

गोपाल भन्छन्, ‘गाउँमा हामीलाई स्वीकार्दैनन्। सहरमा कामविहीन हुनुपरेको छ।  बेचैनी बढेको छ। बच्चाहरु बचाउन गाह्रो भएको छ। सरकार, राजनीतिक दलका नेताहरु कसैले पनि हाम्रो पीडा सुन्दैनन्। ’

सरकारले मजदुरहरुका लागि राहत प्याकेजको घोषण गरेपनि गोपालको परिवारलाई त्यसले छुन सकेको छैन।

व्यक्तिगत सहयोगमा हालसम्म छाक जुटाएका गोपालसँग घरधनीलाई भाडा दिने पाँच हजार रुपैयाँ छैन। घरधनीले बारम्बार फोन गरेर भाडा मागिरहेका छन्।

‘लकडाउन खुलेको भए जसरी पनि आफै काम गरेर परिवार पाल्थेँ। तर अनिश्चित भएको छ सबै कुरा। के गरेर परिवार पाल्ने? मैले केही सोच्न सकेको छैन।’

सरकारले लकडाउनभर भाडा नलिन गरेको आग्रहलाई घरधनीले टेरेका छैनन्। गोपाल एक्ला छैनन् यस्तो समस्या भोग्नेमा।

कमजोर बन्दै आत्मविश्वास


समाजले निर्माण गरेको कुरीति र अन्धविश्वासका घेरा नाघेर अन्तरजातीय विवाहको निर्णय गरेकी पुष्पा अहिले गल्न थालेकी छन्।

सात वर्षदेखि उनले आफ्नी आमालाई भेट्न पाएकी छैनन्। बुवा बित्दा पनि उनका लागि माइतीको ढोका बन्द भयो। बुवाको दाहासंस्कारसमेत टाढैबाट चिहाइन्।

‘यस्तो दुःख पर्दा हेरिदिने कोही छैन। माइतीले स्वीकारेको भए केही सहयोग हुन्थो होला। त्यो पनि बाटो बन्द छ। घरको ढोका पनि बन्द छ हाम्रा लागि’, बोल्दाबोल्दै भक्कानिन् पुष्पा।

संघर्षमै जीवन बित्न थालेपछि पुष्पाको आत्मविश्वास कमजोर भएको छ। उनी भन्छिन्,‘ अन्तरजातीय विवाहको निर्णय लिँदा कहिलेकाहीँ गल्ती भयो भन्ने लाग्दैछ’, पुष्पाको कुरा सुन्दा गोपालको अनुहार पनि अध्याँरो हुन्छ।

पुष्पाले फेरि आफ्नो मन बुझाउँछिन्। भन्छिन, ‘हुनत कानुनले मान्यता दिएको कुरा गरेको हो। हाम्रो गाउँले नबुझेको हो की जस्तो लाग्छ’, गोपालले आँखाको इशाराले पुष्पाको समर्थन गर्छन्।

गोपाल भन्छन्, ‘सरकारले कानुन ल्यायो। तर कार्यान्वयन भयो कि भएन भनेर गाउँमा गएर हेरेको छैन। गाउँमा जनचेतनाको अभावले हामी जस्तै धेरै जना अझै पनि अपहेलित हुनुपरेको छ। आफ्नै मान्छेबाट तिरस्कृत हुँदा धेरै गाह्रो हुँदो रहेछ।’

दुःख र अभावमा बाँचिरहेका गोपालको मन भने दयालु छ। आफू जस्तै समस्या परेकाहरुको उद्धार अहिले पनि उनको पहिलो प्राथमिकतामा पर्छ।

आर्थिक अभावमा उपचार सेवाको पहुँचमा पुग्न नसकेकालाई उनले आर्थिक रकम जुटाउन सहयोग गरिरहेका छन्।

भन्छन्, ‘मलाई जस्तो दुःख परेको छ अरुलाई पनि त्यस्तै भएको हुनसक्छ। त्यसैले मैले जे सक्छु त्यो गरिरहेको छु अरुका लागि।’