नेपालगञ्जमा गर्मी ह्वात्तै बढ्यो, आजको तापक्रम ३९‍.५ डिग्री

नेपालगञ्ज– नेपालगञ्जमा आइतबार यो वर्षकै बढी गर्मी भएको छ। जल तथा मौसम विज्ञान कार्यालय, फिल्ड अफिस राँझाका अनुसार आइतबार साँझ मापन गरिएको नेपालगञ्जको तापक्रम ३९‍.‌५ डिग्री सेल्सियस रहेको छ। न्यूनतम तापक्रम २६‍.३ डिग्री रहेको छ।

फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकले आइतबारको तापक्रम नेपालगञ्जको यो वर्षकै बढी गर्मी भएको जानकारी दिए। उनका अनुसार नेपालगञ्जमा यसअघि मे २१ तारिखमा ३९ डिग्री तापक्रम थियो।

सन् २०१९ को मे २० मा नेपालगञ्जको तापक्रम ४३‍.५ डिग्री मापन गरिएको थियो।‍ यो गत वर्षको अधिक तापक्रम हो।

नेपालगञ्ज गर्मीमा अत्याधिक गर्मी र जाडोमा अत्यधिक जाडो हुने शहरको रुपमा चिनिन्छ। केही दिनदेखि यहाँ पानी परेको छैन। पानी नपर्दा तापक्रम बढिरहेको छ।

नेपालगञ्जमा यसपाली अरुबेला जसरी बत्ति काटिएको छैन। जसले स्थानीयलाई राहत दिएको छ। कोरोनाको कहरमा अत्याधिक तापक्रमले सास्ती थपेको छ।

जेष्ठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्