काठमाडौं उपत्यकामा निर्माण हुने चार नयाँ शहरको डिपिआर तयार

हवाई जहाजबाट देखिएको काठमाडौँ उपत्यकाको दृश्य । यो तस्बिरमा काठमाडौँ र भक्तपुरको क्षेत्र देखिएको छ । फाइल तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ– काठमाडौं उपत्यकाभित्र निर्माण गर्न लागिएको चार वटा नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिले चारवटा नयाँ शहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बताएको छ।

समितिको आइतबार बसेको १३ औं बैठकले दुई वटा नयाँ शहर (काठमाडौं नैऋत्य र काठमाडौं हरित) को डिपिआर स्वीकृत गरेको छ। बाँकी दुईवटा सहर (काठमाडौं इसान र काठमाडौं आग्नेय)को यही जेठ २५ गते बस्ने १४ औं बैठकले स्वीकृत गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए।

समितिको जेठ २५ गतेको बैठकले डिपिआरलाई स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्को बैठकमा पेश हुनेछ र मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा जानेछ।

काठमाडौं उपत्यका भित्र चार वटा आधुनिक नयाँ शहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ। न्यूनतम ८ आनाको कित्ताकाट गरी खरिद विक्री गर्न सकिने छ भने सो भन्दा कमको कित्ताकाट गर्न पाइने छैन।

चारवटा आयोजना मध्ये १ लाख रोपनी क्षेत्रफल भएको काठमाडौं ईसानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नको लागि १२ करोड रुपैयाँ विनियोजन भएकोमा भ्याट बाहेक सात कराेड रुपैयाँ र बाँकी तीन वटा परियोजनाको अध्ययनका लागि दुई/दुई करोड रुपैयाँ विनियोजन गरेकोमा भ्याट बाहेक १ करोड ४० लाख रुपैयाँ खर्च भएको तिवारीले बताए।

एक लाख रोपनी क्षेत्रफल रहेको काठमाडौं ईसान (पूर्व–उत्तर)को डिपिआर निर्माण फिनल्याण्डको हेलेन एण्ड कम्पनी र जेके एसोसिएट्सले गरेको छ। अन्य तीनवटा आयोजनाको डिपिआर निर्माण भने नेपाली कम्पनीले नै गरेका हुन्।

चार वटा परियोजनामा काठमाडौं ईसान (पूर्व–उत्तर), काठमाडौं आग्नेय (पूर्व–दक्षिण), काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम) र काठमाडौं हरित सहर (उत्तर) रहेका छन्। जसमध्ये काठमाडौं ईसानको क्षेत्रफल १ लाख रोपनी छ भने अन्यको १० हजार रोपनी रहेको छ।

परियोजनामा काठमाडौं ईसान (पूर्व–उत्तर) नयाँ शहर विस्तार क्षेत्र जसको कुल क्षेत्रफल १ लाख रोपनी क्षेत्रफल रहेको छ। यो परियोनामा पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म, पश्चिम क्षेत्र जोरपाटी क्रिकेट स्टेयिगम, मुलपानी, गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटोसम्म, उत्तरतर्फ साँखु बजार र साँखु जाने मुल सडक र दक्षिणतर्फ भक्तपुर पुरानो बाटोमा पर्ने नेपाल सैनिक प्रतिष्ठान, खरिपाटी लगायतको ठाउँसम्म रहेको छ।

काठमाडौं आग्नेयको कुल क्षेत्रफल १० हजार रोपनी रहेको छ। यो आयोजनामा पूर्वतर्फ अरनिको राजमार्गको सुर्यविनायक चोकदेखि सुर्यविनायक वनलाई बाहिर पार्दै जानेछ। पश्चिमतर्फ खहरेखोला, बालकोट–विरुवा सडक, पानी ट्याङ्की, अमरनगर लगायतका ठाउँ रहेको छ। उत्तरतर्फ अरनिको राजमार्गको सिमाना रहेको छ भने दक्षिणमा भक्तपुरको रानीकोट जंगलको छेउसम्म रहेको छ।

काठमाडौं नैऋत्यको कुल क्षेत्रफल पनि १० हजार रोपनी रहेको छ। यसको पूर्वमा छ्यासीकोटदेखि फर्सिडोल, बागमती नदीको झोलुङ्गे पुलसम्म, पश्चिममा बागमती नदी, उत्तरमा साविकको सैंवु गाविसको सिमाना, दक्षिणमा बागमती नदीसम्मको क्षेत्र रहेको छ।

काठमाडौं उत्तरको कुल क्षेत्रलफल पनि १० हजार रोपनी रहेको छ। यो योजनाको पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरमा सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्याड जोकदेखि मनोरथ हुँदै महादेव खोलासम्मको क्षेत्र समावेश गरिएको छ।

जेठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्