संविधान संशोधनको पक्षमा उभिने कांग्रेसको निर्णय, जसपाको मागबारे छलफल नै गरेन

काठमाडौँ – जनता समाजवादी पार्टीले संविधान संशोधनका लागि पहल गरिदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे पनि कांग्रेसले भने त्यस विषयमा छलफल नै गर्न चाहेन।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावसँगै आफूहरुले उठाउँदै आएको माग पनि प्याकेजमा सम्बोधन जसपाले कांग्रेसको ध्यानाकर्षण गराए पनि उसले पनि त्यसलाई बेवास्ता गरेको हो।

शनिबार जसपाका नेताहरुले कांग्रेस सभपाति शेरबहादुर देउवालाई उनको निवासमै पुगेर संशोधनका लागि पहल गरिदिन आग्रह गरेपछि उनले आइतबार(आज) बस्ने पार्टीको पदाधिकारी बैठकमा छलफल गर्ने आश्वासन दिएका थिए।

नक्सा संशोधन गर्ने विषयमा अरु विषय मिसाउन नहुने ठहर बैठकले गरेको छ।

तर आइतबारको कांग्रेस पदाधिकारीको बैठकमा जसपाले उठाएको विषयमा कुनै छलफल नभएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार सभापति देउवाले जसपाका नेताहरु आफूलाई भेट्न आएको कुरा बैठकलाई जानकारी गराए पनि उनीहरुको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गर्ने विषयमा कुनै प्रस्ताव पेश गरेनन्।

सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसलाई संविधानको अनुसूची–३ मा रहेको नेपालको नक्सा संशोधन गर्न बिहीबार विधेयक संसदमा दर्ता गराएको थियो।

विगतमा शेरबहादुर देउवा नेतृत्वको सरकारले मधेशवादी दलका मागबारे संविधान संशोधनको प्रस्ताव दर्ता गरेको थियो । तर उक्त प्रस्ताव तत्कालीन एमालेको असहयोगका कारण अस्वीकृत भएको थियो ।

पदाधिकारी बैठकले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ। भारतले अतिक्रमण गरेको भूमि नक्सामा आएसँगै अब त्यहाँ नेपालको निर्वाद उपस्थिति हुनुपर्ने कुरामा कांग्रेसले जोड दिएको छ।

बैठकले राजनीतिक र कूटनीटिक माध्यमबाट कालापानी, लिपुलेक र लिम्पियाधुरामा रहेको भारतको उपस्थित हटाउन पहल गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको सहमहामन्त्री महतले जानकारी दिए।

बैठकले कोरोना रोगको रोकथाम तथा उपचारका लागि विशेष ध्यान दिन र संक्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

कांग्रेसले कारोनाका कारण अर्थतन्त्रमा परेको असरबारे गम्भीर बन्न र त्यसलाई पुनस्थापित गर्ने कार्यक्रम बजेटमा ल्याउन पनि आग्रह गरेको छ।

जेठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्