अमेरिकाले लगायो ब्राजिलबाट हुने विदेशीको यात्रामा प्रतिबन्ध

अमेरिकाले हालै ब्राजिल गएका विदेशी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको छ । कम्तिमा पछिल्लो १४ दिनमा ब्राजिल पुगेकाहरु विदेशीलाई अमेरिकाले आफ्नो देश प्रवेशमा रोक लगाउने भएको हो । ब्राजिलमै रहेका वा हालै त्यहाँ गएका अमेरिकीलाई भने यो नियम लागु हुने छैन ।

दक्षिण अमेरिकी देश ब्राजिल पछिल्लो समय कोरोना भाइरस महामारीको नयाँ ‘इपिसेन्टर’ बन्दै गएको देखिएको छ । सोही कारण संक्रमण फैलिन नदिनका लागि कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले यात्रा प्रतिबन्ध लगाएको हो ।

विश्वमै सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा ब्राजिल अमेरिकापछि छ अर्थात दोस्रो स्थानमा छ । पछिल्ला दिनमा त्यहाँ संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

अहिलेसम्म ब्राजिलमा संक्रमितको संख्या तीन लाख ६३ हजार भन्दा बढी पुगेको र ज्यान गुमाउनेको संख्या २२ हजार ६६६ रहेको जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले उल्लेख गरेको छ ।

कोरोना भाइरसका नयाँ केसहरु अमेरिका नभित्रिउन् भन्नका लागि ब्राजिलबाट हुने यात्रामा प्रतिबन्ध लगाउने निर्णय भएको राष्ट्रपति कार्यालयकी प्रवक्ताले बताएकी छन् । आफूहरुको उद्देश्य थप संक्रमणको स्रोत ब्राजिल नबनोस् भन्ने नै रहेको उनले उल्लेख गरेकी छन् ।

अमेरिका प्रवेशका लागि आवेदन दिनु पूर्व पछिल्लो दुई हप्तामा ब्राजिल गएका वा त्यहाँ रहेका गैर अमेरिकीहरुको यात्रामा प्रतिबन्ध लागेको हो । तर यो प्रतिबन्धले दुई देशबिच हुँदै आएको व्यापारमा भने कुनै असर नगर्ने बताइएको छ । यो प्रतिबन्ध मे २८ देखि लागु हुनेछ ।

यो प्रतिबन्ध अमेरिकी नागरिक, उनीहरुका पतिपत्नि, अभिभावक, कानूनी अभिभावक, अमेरिकी नागरिकका सन्तान, स्थायी बसोबास अनुमति प्राप्तहरु तथा उनीहरका २१ वर्षमुनिका सन्तानमा लागु हुने छैन ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ९७ हजार ६८६ जनाको ज्यान गएको छ । यस्तै कुल संक्रमितको संख्या अमेरिकामा १६ लाख ४१ हजार भन्दा बढी रहेको छ ।

जेठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्