साउदी अरेबियाका निर्वासित उच्च सुरक्षा अधिकारीकाे परिवार सत्ताको ‘निशाना’मा

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान

निर्वासित जीवन बिताइरहेका साउदी अरेबियाका उच्च सुरक्षा अधिकारीको परिवारका सदस्यालाई सत्ताले निशाना बनाएको आरोप लागेको छ।

साउदी अरेबियाका उच्च सुरक्षा अधिकारी डा. साद अल–जाब्रीको परिवारका सदस्यलाई ‘बन्धक’ बनाएको आरोप लागेको हो ।

डा. सादले बिद्रोही संगठन अल–कायदाले पश्चिमा देशमा आक्रमण गर्न भनी बनाएको योजना विफल बनाउन सहयोग गरेका थिए । उनी पछिल्लो तीन वर्षदेखि क्यानडामा निर्वासित जीवन बिताइरहेका छन् ।

क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान सत्ताको शक्तिमा आएसँगै उनी निर्वासित भएका हुन् । हाल डा. सादका दुई सन्तानलाई साउदी अरेबियाका सुरक्षाकर्मीले बन्धक बनाएको उनका जेठो छोरा खालिद अल–जाब्रीले बताएका छन् । खालिद पितासँगै क्यानडामा बस्दै आएका छन् ।

ओमार (दायाँ) का साथमा खालिद (बायाँ) ।

उनले आफ्ना भाइरहरुलाई बन्धक बनाइएको बताउँदै भनेका छन्, ‘ओमार र सारहलाई गएको मार्च १६ मा २० वटा कारमा आएका झण्डै ५० सुरक्षाकर्मीले बिस्ताराबाटै उठाएर लगे ।’

रियादमा रहेको घरबाट २१ र २० वर्षका ओमार र सारहलाई लगेर डिटेन्सन सेन्टरमा राखिएको तथा त्यसपछि उनीहरुसँग सम्पर्क हुन नसकेको खालिदले बिबिसीसँग भनेका छन् ।

उनीहरुलाई पक्राउ गर्नुको कारण नखुलाइएको खालिदले बताएका छन् । उनीहरु जीवित छन् या छैनन् भन्नेसम्म पनि थाहा नभएको उनले बताए । आफ्ना पितालाई साउदी अरेबिया फर्किन बाध्य पार्नका लागि भाइहरुलाई ‘अपहरण’ गरिएको हुन सक्ने खालिदले बताए ।

जेठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्