५४ लाख नाघ्यो संक्रमितको संख्या, अमेरिकामा मृत्यु हुने एक लाख नजिक

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ । गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेसँगै संक्रमितको संख्या ५४ लाख ७ हजार ७ सय १ पुगेको हो ।

कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३ लाख ४५ हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। हालसम्म सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा मृतकको संख्या एक लाखको हाराहारीमा रहेको छ । त्यहाँ हालसम्म ९७ हजार ७ सय २० जनाले ज्यान गुमाएका छन् भने हजारौँ संक्रमितको संख्या गम्भीर रहेको बताइएको छ ।

अमेरिकापछि सबैभन्दा धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३६ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ । यस्तै इटालीमा ३२ हजार ७ सय ८५ तथा स्पेनमा २८ हजार ७ सय ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

संक्रमितको तथ्याङ्कमा पनि अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकामा १६ लाख ४३ हजार भन्दा धेरै संक्रमित छन् भने ब्राजिलमा ३ लाख ६३ हजार तथा रसियामा ३ लाख ४४ हजार र बेलायतमा २ लाख ६१ हजार संक्रमित छन् ।

यस्तै स्पेनमा २ लाख ३५ हजार ७ सय तथा इटालीमा २ लाख २९ हजार ८ सय भन्दा धेरै संक्रमित छन् । फ्रान्समा १ लाख ८२ हजार ७ सय संक्रमित पुगेका छन् । ब्राजिलमा २२ हजार ६ सय ६६ र रसियामा ३ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ ।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू