मोरङमा थपिँदै छन् क्वारेन्टिन सेन्टरहरु

विराटनगर – भारतबाट नेपालीहरु आउने क्रम बढ्दै गएपछि मोरङका स्थानीय तहले क्वारेन्टिन सेन्टर थपिरहेका छन् ।

कोरोनाभाइरस कोभिड–१९ का कारण भारतबाट लुकीछिपी घरफर्कने नेपालीको संख्या बढ्दै गएको र सीमा क्षेत्रमा ठूलो संख्यामा रहेका कारण क्वारेन्टिन स्थल बढाउनु परेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ। जनस्वास्थ्य कार्यालय मोरङका अनुसार हाल जिल्लाका विभिन्न स्थानीय तहमा १८ वटा नयाँ क्वारेन्टिन स्थल सञ्चालनमा आएको छ।

जिल्लामा यसअघि ९ वटा क्वारेन्टिन सञ्चालनमा रहेको र हाल नयाँ थप गरि कुल २७ स्थानमा क्वारेन्टिन स्थापना भएको कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । ती क्वारेन्टिनमा झण्डै सात सयजनालाई राख्न सकिन्छ । बस्नेतका अनुसार भारत तथा अन्य स्थानबाट आएका र शंका लागेका व्यक्तिलाई कम्तिमा १४ दिन क्वारेन्टिनमा राखिन्छ । कोरोना भाइरसको संक्रमण रहे नरहेको थाहा पाउन परीक्षण भएपछि मात्रै क्वारेन्टिनमा राखिएकालाई अस्पताल वा घर पठाइन्छ ।

यसैबिच क्वारेन्टिनमा रहेका केही ठाउँका मानिसले भने बसोबासका लागि उचित व्यवस्था नरहेको बताएका छन् । उनीहरुले शौचालय समेत नभएको गुनासो गर्दै आएका छन्।

मोरङमा हालसम्म ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लोपटक संक्रमण पुष्टि भएका ३५ र ४१ वर्षका पुरुष रतुवामाई नगरपालिकाका हुन्, उनीहरु भारतबाट आएका हुन् । ८ जना संक्रमित मध्ये चार जनामा जिल्ला भित्रै र बाँकी चार जनामा जिल्ला बाहिरबाट आएका हुन ।

रतुवामाई नगरपालिकाका मेयर रविन राईले भारतबाट फर्कनेको संख्या धेरै रहेकाले क्वारेन्टिन सञ्चालनमा जोड दिइएको जानकारी दिए। क्वारेन्टिनमा दुई साता राखिएकालाई पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा होम क्वारेन्टिनमा बस्ने गरी बिदा दिने र पोजेटिभ आएमा उपचारका लागि कोभिड–१९ अस्पताल लैजाने गरिएको उनको भनाइ छ।

त्यसैगरि, जिल्ला प्रहरीकाअनुसार एक साताको अवधिमा भारतबाट एक सयको हाराहारीमा नेपाली मोरङ भित्रिएका छन्। बाहिरी मुलुकबाट आएका तर क्वारेन्टिनमा बस्न नमानेका ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको मोरङ प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू