केटी पक्षका १२ जना पक्राउ, नदीमा हामफालेका चारजना अझै बेपत्ता

भेरी नदीमा मृत अवस्थामा भेटिएका एक युवा ।

काठमाडौँ – रुकुममा अन्तरजातीय प्रेम सम्बन्धको विवादका कारण दुईजनाको ज्यान गएको र चारजना बेपत्ता भएको घटनामा केटी पक्षका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । ‘केटी पक्षका परिवारका सदस्यसहित १२ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ’ एक प्रहरी अधिकृतले भने ।

शनिबार राति जाजरकोटका नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथ लिएर रुकुमको चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए। तर उनीहरु गाउँमा पुगेलगत्तै केटी पक्षका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेका थिए ।

गाउँलेहरुको आक्रमणमा प्रेमिका लिन पुगेका नवराज विकसहित दुईजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । मृत्यु भएका दुवैजनाको शव भेरी नदी किनारमा भेटिएको थियो । दुवै शव पोष्टमार्टमका लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

गाउँलेहरुले लखेटेपछि भाग्ने क्रममा नदीमा हाम फालेका उनीहरुको डुबेर मृत्यु भएको अनुमान गरिएको छ । ‘बेपत्ता चारजनाले पनि नदीमै हाम फालेको उनका साथीहरुले बताएका छन्’ जाजरकोट प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले भने ।

‘नदी तरेर कतै लुकेर पो बसेका छन् कि भन्ने ढंगले पनि खोजी भइरहेको छ’, श्रेष्ठले भने । नदीमा आफै हाम फालेका हुन् कि उनीहरुलाई नदीमा फालिएको हो भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गाउँमा पुगेका १८ जना मध्ये १२ जनालाई गाउँलेहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । उनीहरु मध्ये घाइते रहेका दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अन्य १० जनालाई अभिभावकको जिम्मा लगाइएको डीएसपी श्रेष्ठले बताए ।

नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन्। युवतीको सरसल्लाहमै नवराजसहितको समूह उनलाई लिन सोती पुगेको जनाइएको छ । प्रहरीले मृतक परिवारको जाहेरीका आधारमा थप अनुसन्धान अघि बढाउने जनाएको छ ।

जेठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्