जाजरकोट–रुकुम घटना

बेहुली लिन भनेर १९ जना गएका थियौँ, गाउँलेले आक्रमण गरेपछि भेरीमा हाम फाल्यौँ

भेरी नदीमा मृत अवस्थामा भेटिएका एक युवा ।

काठमाडौँ– नवराज मेरो दाइ नाता पर्छन्, हाम्रो घर गाउँमा नजिकै पर्छ। उनको रुकुमकी एकजना ठकुरी थरकी युवतीसँग प्रेम चलेको छ भन्ने अलिअलि सुनेको थिएँ।

त्यो दिन (शनिबार साँझ) उसले (नवराज) बेहुली लिन जानुपर्‍यो, तिमीहरु आऊ भनेर फोन गरेको थियो। अरु केही भनेको थिएन। मसहित ६ जना हाम्रो टोलबाट हिँडेका थियौँ।

गाउँ नजिकैको धल्लाको पुलनिर भेट्ने कुरा भएको थियो। हामी ६ जना गएका थियौँ। दाइले त्यहाँ अरु १० जना जम्मा पारिसकेको रहेछ। हामी पुगेपछि तीनजना साथी फेरि थपिए। सबै गरेर हामी १९ जना भयौँ।

सबैलाई दाइले बेहुली लिन जानु पर्‍यो बाहेक अरु केही भनेको थिएन। मैले ती युवती र उनकी आमालाई चिनेको भए पनि घर देखेको थिएन। बाटोमा हिँड्दै थियौँ। एक्कासी एक महिला चिच्याएको सुने।

‘साला डुमहरु… फेरि आयौ…तिमिहरुलाई त आज मारेरै छाड्नुपर्छ ..’  भनेर चिच्याएपछि अरु तीनजना पनि आए। उनीहरु को हुन् मैले चिनेको थिएन। पछि थाहा भयो केटीकी आमा र आफन्त हुन् भनेर।

उनीहरुले ढुंगामुडाले आक्रमण गर्न थालेपछि हामीहरु भाग्न थाल्यौँ। केटीको घर सडक भन्दा केही माथि भीरतिर थियो, हामी तल परेपछि उनीहरुलाई आक्रमण गर्न सजिलो भयो।

रात परिसकेको थियो। भाग्ने क्रममा पछाडि फकेर हेर्दा त गाउँ नै उल्टेर आइसकेको थियो। हामी भाग्दा भाग्दै भेरी नदी किनारमा पुग्यौँ। अब के गर्ने? दायाँ बायाँ भागौँ भने सबैतिर मान्छे थिए। हामीले भेरीमा हाम फाल्यौँ।

१९ जना मध्ये भेरीमा हाम फाल्ने ११ जना रहेछौँ। पाँच जना नदी तर्न सफल भयौँ। चार जनाको पत्तो छैन। दाइसहित दुई जना मरिसके। केही साथीलाई गाउँलेहरुले पक्रे, कुटपिट गरे अनि प्रहरीलाई बुझाए। नदीमा हाम फाल्दा पनि उनीहरुले माथिबाट ढुंगा बर्साइरहेका थिए।

पछि मलाई पनि प्रहरीले नियन्त्रणमा लियो। अहिले प्रहरी चौकीमै छु।

(युवती भगाउन नवराजसँगै सोती गाउँ पुगेका महेश कार्कीसँग देशसञ्चारले गरेकाे कुराकानीमा आधारित)

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू