रेस्टुरेन्टमा नियमभन्दा एक घन्टा बढी बसेको भन्दै अष्ट्रियाका राष्ट्रपतिले जनतासँग माफी मागे

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागू भएको लकडाउन–कर्फ्यू उल्लंघन गरेकोमा अस्ट्रियाका राष्ट्रपतिले जनतासँग माफी मागेका छन्।

राष्ट्रपति एलेक्सान्डर भान डेर बेलेनले लकडाउनको नियम उल्लंघन गरेका हुन्। त्यसका लागि उनले माफी मागेका छन्। ७६ वर्षका राष्ट्रपति बेलेन राजधानी भियनाको एक रेस्टुरेन्टमा लकडाउनको नियम अनुसार बन्द हुनु पर्ने समय भन्दा एक घन्टा बढी बसेका थिए।

शहरको केन्द्रमा रहेको इटालियन रेस्टुरेन्टमा साथीहरुसँग कुरा गर्दागर्दै समय बितेको पत्तो नपाउँदा आफूबाट लकडाउनको उल्लंघन भएको उनले बताएका छन्।

उनले माफी माग्दै भनेका छन्, ‘म साँच्चिकै लज्जित छु, क्षमा चाहन्छु। मैले जे गरेँ त्यो गलत थियो।’

उनले माफी माग्दै ट्विटरमा लेखेका छन्, ‘लकडाउन सुरु भएपछि म पहिलोपटक दुई साथी र श्रीमतीसँग बाहिर गएको थिएँ। कुराकानी गर्दागर्दै समय बितेको पत्तो पाएनौँ।’

आइतबार मध्यरातपछि राष्ट्रपतिलाई प्रहरीले रेस्टुरेन्टको डाइनिङ्ग एरिया भन्दा बाहिर रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अष्ट्रिया सरकारले गएको हप्ता जारी गरेको लकडाउन सम्बन्धी संशोधित नियम अनुसार क्याफे तथा रेस्टुरेन्टहरु राति ११ बजे पछि खुला गर्न पाईँदैन। यो नियम उल्लंघन गर्ने रेस्टुरेन्टलाई जरिवाना तिराउने नियम छ। तर राष्ट्रपति बेलेनाले आफूले जिम्मेवारी लिने बताएका छन्।

इटालीपछि कडा लकडाउन लागु गर्ने युरोपको पहिलो राष्ट्र हो अस्ट्रिया। मेको सुरुदेखि त्यहाँ लकडाउन केही खुकुलो बनाउन थालिएको छ।

अष्ट्रियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ हजार ५०३ रहेको छ। त्यसमध्ये ६४० जनाको ज्यान गएको छ।

जेठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्