११ दिनपछि बल्ल आयो संक्रमितको रिपोर्ट, रिकन्फर्म गर्दा बढी समय लागेको दाबी

वीरगञ्ज– नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारको क्रममा गत जेठ ४ गते मृत्यु भएका एक बृद्धको कोरोना परीक्षण रिपोर्ट आउन ११ दिन समय लागेको छ।

अस्पतालमा भर्ना भई उपचारको क्रममा ज्यान गुमाएका बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ निवासी ७० वर्षीय चौधरी थरका बृद्धको जेठ चारमा मृत्यु भएपनि उनको स्वाब संकलन भने जेठ २ गते नै गरिएको थियो। २ गते नै स्वाब संकलन गरिएको व्यक्तिको यसको ११ दिनपछि रिपोर्ट आएपछि अहिले आलोचना भइरहेको छ। उनको मृत्यु भएको ९ दिनपछि बल्ल रिपोर्ट आएको हो।

तर उक्त रिपोर्ट रि–कन्फर्म गर्नमा नै बढी समय लागेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए । उनले ल्याबमा नमुना धेरै भएकाले पनि परीक्षणमा समय लागको दाबी गरे ।

‘नेशनलमा मृत्यु भएको व्यक्तिको २ गते स्वाब संकलन गरी नारायणी अस्पतालमा ल्याइएको थियो तर ल्यावमा पहिले देखि नै संकलन गरिएको स्वाबको चापका कारण केही ढिलाइ भएको हो’, उनले भने।

२ गते संकलन गरिएको स्वाब नारायणी अस्पतालमा रहेको पीसीआर मेशिनमा पाँच गते परीक्षण गरिएको र त्यसपछि पुनः रि–कन्फर्म गर्न राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौँ टेकुमा पठाइएको उपाध्ययाले बताए।

‘काठमाडौँबाट पनि रिपोर्ट आउन ढिलो भयो’, उपाध्यायले भने ।

मृत्यु पश्चात कलेजले उनको परिवारजनलाई शव बुझाएको थियो। परिवारजनले शव बुझेर उनको दाह संस्कार समेत गरिसकेका छन्।

जेठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्