लकडाउन सुरु भएपछि भारतबाट ६० हजार भन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौँ- कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन लागु गर्‍यो।

घरेलु तथा बाह्य हवाई उडान बन्द भए। विदेशमा रहेका नेपालीलाई समेत आउन प्रतिबन्ध लगाइयो। भारतमा रहेका नेपालीसमेत आउन नपाउने भनियो। भारतबाट आएका हजारौँ नेपाली सिमामा आएर अड्किए।

पश्चिम नेपालमा भारतीय सिमामा रोकिएका नेपालीहरु रातको समयमा नदी तर्दै स्वदेश छिरे। खुला सिमानाको सदुपयोग गर्दै नेपालीहरु लुकिछिपी स्वदेश फर्किए।

नेपाल र भारतमा लगभग एउटै समयमा लकडाउन सुरु भएको हो। नेपालमा दुई वटा मात्र संक्रमित भेटिँदा भारतका विभिन्न क्षेत्रमा कोरोना भाइरस पुगिसकेको पाइएको थियो।

लकडाउन सुरु भएको दुई महिना बित्दा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ७५ पुगेको छ। पछिल्लो तथ्यांकअनुसार चार जनाको मृत्यु भएको छ।

नेपालमा कोरोना भाइरस संक्रमितमध्ये अधिकांश भारतबाट फर्किएका छन्। काठमाडौँमा भेटिएका संक्रमितमध्ये केही लकडाउनपछि तराई पुगेर फर्किएको पाइएको छ।

भारतीय सिमामा सरकारले सुरक्षाकर्मीको उपस्थिति बढाएपनि लुकेर स्वदेश फर्कने नेपालीको संख्या नरोकिएपछि पछिल्लो समय नेपालले उनिहरुलाई सिमामा क्वारेन्टाइनमा राखिरहेको छ।

झापाको केचनाकवल, बाँकेको नरैनापुर सीमा क्षेत्रमा क्वारेन्टाइनमा राखिएका नेपालीमा ठूलो संख्यामा कोरोना भाइरसको संक्रमण रहेको छ। भारतबाट नेपाली आउने क्रम रोकिएको छैन।

भारतीय सीमा नजिक रहेका नेपाली भूभागमा उनीहरुलाई क्वारेन्टाइनमा राखिने गरिएको छ।  भारतमा रेल सेवा सुचारु गरिएसँगै स्वदेश फर्कने नेपालको संख्या अझ बढ्दो छ।

प्रहरीको तथ्यांकअनुसार लकडाउन सुरु भएयता भारतबाट ६० हजार पाँच सय २८ जना स्वदेश फर्किएका छन्। सबैभन्दा बढी प्रदेश-५ मा रहेको भारतीय सीमा क्षेत्रबाट नेपाली भित्रिएका छन्।

प्रहरी स्रोतका  प्रदेश-५ को भारतीय सीमाबाट २८ हजार ९ सय २१ जना नेपाली स्वदेश छिरेका छन्। त्यसमा २४ हजार ८ सय ३३ महिला  र ४ हजार ८८ महिला छन्। प्रदेश-७ को भारतीय सीमा क्षेत्रबाट १९ हजार पाँच सय ६५ नेपाली स्वदेश छिरेका छन्। यसमा १८ हजार पाँच सय ५६ पुरुष र एक हजार ९ महिला छन्।

प्रदेश-२ बाट ८ हजार २ सय ७८ पुरुषसहित  ९ हजार ३२ जना नेपाली स्वदेश प्रवेश गरेको प्रहरी तथ्यांक छ। प्रदेश-१ बाट २ हजार ९९, प्रदेश-३ बाट ९ सय ९ र प्रदेश-४ बाट २ जना नेपाली भारतीय सीमाबाट स्वदेश फर्किएको प्रहरी स्रोत बताउँछ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख बसन्तराज पन्त जेठ महिना सुरु भएयता मात्र आफ्नो प्रदेशमा ६ हजार मानिसहरु भित्रिएको बताउँछन्। लकडाउनपछिका सुरुवाती दिनहरुमा लुकिछिपि स्वदेश फर्किएकाहरुलाई स्थानीय निकाय र स्थानीयको सहयोगमा क्वारेन्टाइनमा राखिएको थियो।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू