काठमाडौँ उपत्यकामा मात्रै कोरोना संक्रमितहरुको संख्या ३५ पुग्यो

काठमाडौँ– काठमाडौँ उपत्यकामा कोरोना संक्रमित बिरामीहरुको संख्या ३५ पुगेको छ। सोमबार बिहान थप तीनजनामा संक्रमण पुष्टि भएसँगै काठमाडौँमा कोरोना संक्रमित बिरामीको संख्या ३५ पुगेको हो।

उनीहरुमध्ये शुक्रराज ट्रपिकल अस्पताल टेकुमा पाँच जना तथा बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा १५ जनाको उपचार भइरहेको छ।

यस्तै पाटन अस्पतालमा १२ जना र त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टरमा एकजना कोरोनाका बिरामी उपचारका लागि भर्ना भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बिहान काठमाडौँको टोखाका दुईजना र बुढानिलकण्ठका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरु तीनैजनालाई पनि उपचारका लागि टेकु अस्पतालमा भर्ना गर्ने तयारी छ। अस्पताल स्रोतका अनुसार काठमाडौँ उपत्यका नै स्थायी ठेगाना भएका संक्रमितहरुको संख्या कम भए पनि बाहिर जिल्लाबाट यहाँ आएर बसोबास गरिरहेकाहरुका कारण संख्या बढेको हो।

आइतबार संक्रमण पुष्टि भएका काठमाडौ सोह्रखुट्टेका ६९ वर्षीय पुरुष र नुवाकोट ककनी–३ का ३९ वर्षीय पुरुषलाई पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइएको छ।

काठमाडौँमा रहेका संक्रमितमध्ये अधिकांश यहाँ अध्ययन तथा रोजगारीका लागि डेरा गरी बस्नेहरु रहेका बताइएको छ।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू