जनकपुरधाममा रियल टाइम पीसीआर मेसिन सञ्चालनमा

जनकपुरधाम – जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा जडान गरिएको दुईवटा पीसीआरले गलत रिर्पोट दिएपछि बन्द रहेको परीक्षण पुनः सुरु भएको छ ।

प्रादेशिक अस्पतालको पीसीआरले गलत रिपोर्ट दिएपछि बन्द रहेकोले जाँचलाई तीव्रता दिन प्रदेश सरकारले दुईवटा रियल टाइम पीसीआर मेसिन खरिद गरेको थियो । खरिद गरिएको मेसिन मध्ये एउटा रियल टाईम पीसीआर मेसिन जनकपुरधाममा जडान भएपछि कोरोना परीक्षणको काम सञ्चालनमा आएको छ ।

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जनकपुरधामको कदमचोकस्थित रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा निर्माण गरिएको ल्यावको निरीक्षण गरे पश्चात ल्याव सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएको उक्त पीसीआर मेशिनमा एक पटकमा ९६ वटा स्वाब परीक्षण गर्न सकिन्छ भने एक दिनमा तीन पटकसम्म जाँच हुने बताईएको छ ।

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सहमति लिएर मर्मत सुधार सँगै आवश्यक पूर्वाधार निर्माण गरेर सामाजिक विकास मन्त्रालयले जनकपुरमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाईम पिसिआर प्रयोगशाला स्थापना गरी सञ्चालन ल्याएको हो ।

जनकपुरधाममा जडानको काम पुरा भएपछि सञ्चालनमा आएको छ भने सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा अब पीसीआर मेसिन जडान गर्नको प्राविधिक टोली यहाँबाट गएका छन् ।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू