कोरोना पुष्टि भएका वृद्धको दाहसंस्कारमा ५० भन्दा बढी सहभागी, मरेपछि कोरोना पुष्टि भएसँगै गाउँमा त्रास

पर्सा- कोरोना पुष्टि भएका बाराको करैयामाई गाउँपालिकाका ७० वर्षीय वृद्धको दाहसंस्कारमा ५० भन्दा पनि बढी व्‍यक्तिहरु सहभागी भएको खुलेको छ।

कोरोना संक्रमण पुष्टि भएका करैयामाई गाउपालिका वडा नम्बर ७ उम्जन टोल निवासी ७० वर्षीय बृद्धको दाहसंस्कारमा ५० जना भन्दा बढी गाउँलेहरु सहभागी भएको वडा नम्बर ७ का वडाध्यक्ष बिरिज चौधरीले जानकारी दिए।

उनले बृद्धको मृत्यु र दाह संस्कार गरिएपछि सोमबार कोरोना पुष्टि भएका बृद्धको अन्तिम संस्कार ५० जना भन्दा पनि बढी ब्यक्तिहरु सहभागी भएको बताए। मरेको मान्छेमा अहिले आएर कोरोना संक्रमण भएको थाहा पाएपछि गाउँबासीहरुमा भने सन्त्रास फैलिएको वडाध्यक्ष चौधरीले जानकारी दिए।

मृतक वृद्ध कोरोना संक्रमित हुनसक्ने भन्ने बारेमा अस्पतालले पनि नभनेका कारण दाहसंस्कारमा सामेल भएका मानिसहरुलाई कोरोना भएको भन्ने जानकारी नै नभएको वडाध्यक्ष चौधरीको भनाइ छ।

‘गाउँकै एक जना बृद्धको उपचारको क्रममा अस्पतालमा मृत्यु भयो, उनको दाहसंस्कारमा ५० भन्दा पनि बढी गाउँलेहरु सहभागी भएका थिए,’ वडाध्यक्ष चौधरीले भने, ‘तर उनीहरुलाई ती बृद्धमा कोरोना संक्रमण भएको जानकारी थिएन।’

’मृत्यु भएर दाहसंस्कार समेत भइसकेका मानिसमा अहिले आएर कोरोना संक्रमण भएको जानकारी पाएसँगै गाउँभरि नै अहिले मानिसहरुमा त्रासको वातावरण रहेको चौधरीले जिकिर गरे।

मृतकलाई कोरोना हुनसक्नेबारे उनले उपचार गराएका नेशनल मेडिकल कलेजले पनि कसैलाई जानकारी नगराएकाले यसमा उक्त अस्पतालको पनि गल्ती रहेको उनको भनाइ छ।

गत जेठ २ गते कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएका ७० वर्षीय बृद्धको ४ गते नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो।

मृत्युपश्चात कलेजले कोरोनाको रिपोर्ट नै नआई परिवारलाई शव बुझाएको थियो। शव बुझेपछि आफन्तजनले सोही दिन गाउँमा उनको दाहसंस्कार गरेका थिए।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू