महाभारत युद्धको प्रमुख कारण के थियो?

दूरदर्शनबाट प्रसारित भइरहेको महाभारत टेलिशृङ्खला हेरिरहँदा गान्धारीले श्रीकृष्णलाई भनिन्, ‘मधुसूदन, तिमीले चाहेको भए युद्ध रोक्न सक्थ्यौ, मेरो कुलको विनाश हुने थिएन। म तिमीलाई श्राप दिन्छु–जसरी मेरो कुलको विनाश भयो, त्यसरी नै सम्पूर्ण यदुवंश (कृष्णको कुल) को नाश हुनेछ।’

श्रीकृष्णले गान्धारीको श्रापलाइ सहज र निष्काम भावले स्वीकार गरे। यस दृश्यपछि सँगै महाभारत हेरिरहेका मेरा भान्जाले प्रश्न गरे– के श्रीकृष्णले चाहेको भए महाभारत युद्ध हुनबाट रोक्न सक्थे? र, महाभारत युद्ध हुनुका पछाडि मूल कारण के थियो?

भान्जाको प्रश्न स्वाभाविक थियो। तपार्ईलाई स्वाभाविक शब्दले अप्ठेरो पार्नसक्छ। तर, युवापुस्ताले सनातन हिन्दु धर्म, यसका ग्रन्थ एवं पात्र, प्रवृत्ति, ज्ञानविज्ञान, आशय र उपादेयताबारे गरेका अनर्गल, हाँस्यास्पद, सन्देहात्मक सबैखाले प्रश्न मलाई सहज लाग्छन्।

पक्कै पनि तपार्ईलाई मेरो यस अभिव्यक्तिका लागि कुनै प्रमाण चाहिन्छ। केही दिन पहिलाको कुरा हो, एकजना कट्टर हिन्दुवादी मित्रले सोधे–त्यो स्कुलमा (एउटा क्रिश्चियन स्कुल) केही ‘सोर्सफोर्स’ लाग्दैन? मेरो बच्चाको त्यहाँ ‘एडमिसन’ गराउनु परयो।

होइन, तपाईं कट्टर हिन्दुवादी होइन? अनि बच्चालाई क्रिश्चियन स्कुलमा किन भर्ना गराउने?

यसो भनेर कहाँ हुन्छ स्वामीजी? बच्चाको भविष्यको सवाल छ।

अनि बच्चालाई दिने संस्कारबारे के नि? त्यहाँ त उसले पश्चिमा धर्मकै सेरोफेरोमा विकसित हुनुपर्छ।

योभन्दा बढी यस प्रसंगलाई तन्काउन चाहन्नँ (बुझ्नेले यतिमै आशय बुझ्न सक्छन्।)

जूना अखडा (भारतका सन्यासीहरुको एउटा फोरम) का एकजना महिला महामण्डलेश्वर (नेपाली) हुनुहुन्छ। केही वर्ष पहिले उनले अमिश त्रिपाठीले भगवान शिवका ‘माइथोलोजी’ माथि लेखेको पुस्तक क्या गजब छ पढ्नुहोस् भनेर सिफारिस गरिन्। त्यो पुस्तक उनलाई गजब लाग्नुको कारण पश्चिमा परिवेशको शिक्षादीक्षा नै कारक हो।
मलाई त्यो पुस्तक बकवास मात्र होइन, बाहियात लाग्यो। त्यसका अन्य शृङ्खला मैले पढिनँ। तर, पश्चिमी संस्कृतिको सानिध्यमा संस्कारित भएका अनि जन्मले मात्रै हिन्दु भनिने वर्गका लागि अमिश मात्रै होइन, यस्ता थुप्रै लेखकहरु जस्तोः राहुल सांस्कृत्यायन, आचार्य चतुरसेनलगायत गजब लाग्छन्। गजब लाग्नुको कारण यति मात्रै हो, मन संस्कारित हुने बेलामा उनीहरु अर्कै कित्ताको गोडमेलमा रम्दै–रस्दै हुर्किएका थिए।

उनीहरुलाई हिन्दु धर्मग्रन्थको महानता पनि पाश्चात्य विद्वानका यस विषयक अभिव्यक्ति पढेपछि मात्रै थाहा हुन्छ। उनीहरुलाई विवेकानन्दमाथि विश्वास लाग्दैन, शोपेनहावरमाथि विश्वास लाग्छ।

हिन्दु धर्मको जगत विषयक अवधारणा बुझ्न आधुनिक भौतिक शास्त्रको जानकारी हुनु आवश्यक छ। सृजन र प्रलयलाई ‘बिग बैंग’ एवं ‘बिग क्रन्च’को पार्श्वमा राखेर हेर्नुस् त! दुवै बिम्ब अनवरत लीलाकै बखान गरिरहेका हुन्छन्। सृजन, प्रलय, पुनः सृजन, पुनः प्रलय।

‘बिग बैंग’–अन्तरिक्ष, पदार्थ, समय सबैको उत्पत्ति एवं विस्तारण। ‘बिग क्रन्च’–अनन्तसम्म विस्तार भएको प्रकृति पुनः सुक्ष्म बिन्दुमा समाहित। विज्ञान कल्पित र वर्णित यसै बिन्दुलाई हिन्दु अवधारणामा शेषशायी विष्णु भनिएको छ।

अलि–अलि विज्ञान पढेका मानिस सन्देह गर्छन्, जब अन्तरिक्षलगायत केहीको अस्तित्व नै हुँदैन भने विष्णु कसरी हुन्छन्? बन्धु हो, यही प्रश्न विज्ञानसँग गरिहेर्नुस्।

प्रकृतिमा हुने कुनै पनि घटनाका लागि कुनै एउटा प्रमुख कारण हुन सक्दैन । लाखौलाख कारण थुप्रिएर घटना हुने गर्छ र, ती सबै कारण प्रमुखकै हैसियत र मर्यादा राख्छन् किनकि तीमध्ये कुनै एकको अभावमा त्यो घटना हुने सम्भाव्यता रहन्न।

अर्बौ प्रकाश वर्षसम्म विस्तीर्ण महाकाशमा रहेका खर्बौ–खर्ब भीमकाय संरचना कसरी एउटा सुक्ष्म बिन्दुमा समाहित हुन सक्छन्? तपाई ९३ अर्ब प्रकाश वर्ष ठूलो अन्तरिक्षलाई होइन, हामी बसेको पृथ्वी अथवा बुध ग्रहलाई मात्रै सुक्ष्म बिन्दुमा अथवा यिनलाई पनि छाड्नुस्, चिया पिउने कपलाई नै सुक्ष्म बिन्दुमा परिणित गरेर देखाई दिनुस्। विश्वास गर्नुस्–हार्वर्डलगायत विश्वकै नामी विश्वविद्यालयले यस्तो प्रश्न गर्ने विद्यार्थीलाई क्याम्पसको ‘कम्पाउन्ड’बाट बाहिर निकालिदिन्छन्।

मेरो भान्जा विज्ञानको विद्यार्थी भएको भए ‘थर्मोडाइनामिक्स’ र ‘एन्ट्रोपी’बाट चर्चा गर्न सकिन्थ्यो। ‘बिग बैंग’ भएयता प्रकृति निरन्तर सेलाउने उपक्रममा छ। तारा, ग्रहलगायत संरचनामा करोडौं डिग्री सेन्टिग्रेडसम्म तापमान भए पनि ब्रह्माण्डको औसत तापक्रम माइनस २७० डिग्री सेन्टिग्रेड रहेको छ। ‘बिग बैंग’ हुँदाको तापक्रम खर्बौ–खर्ब डिग्री सेन्टिग्रेड रहेको थियो। तर, जसरी–जसरी अन्तरिक्षको विस्तार हुँदै गयो, तापमान घट्दै गयो।

अहिले तारा र तिनका नजिक रहेका यावत पिण्डको तापमान ‘प्लस’मा छ, र बाँकी समस्त ब्रह्माण्डको तापमान माइनसमा छ। विज्ञान भन्छ– ‘एब्सोल्युट जिरो’ (माइनस २७३ दशमलव १५ डिग्री सेन्टिग्रेड अथवा ० केल्भिन) महाप्रलयको स्थिति हो। यस तापमान (तापमान भन्ने कि नभन्ने) मा पदार्थ त के, ‘एटम’ नै बन्धनमुक्त हुन पुग्छन्। ‘एटम’ विशुद्ध एनर्जीमा रुपान्तरित हुँदा न स्थान, न देशकाल, न समय।

मलाई आरोप लाग्ने गर्छ– तपाईंका लेख क्लिष्ट हुन्छन्, भाषा क्लिष्ट हुन्छ। नेपाली भाषा नै क्लिष्ट लाग्नेलाई जवाफ दिन जरुरी छैन। अब रह्यो लेखको क्लिष्टता। बन्धु! यो विषयजन्य हुन्छ। म मूलतः अध्यात्म र मोडर्न साइन्सबारे लेख्छु। मेरो पाठकवर्ग सीमित छ, म ‘पपुलर राइटर’ होइन।

साइन्स र अध्यात्ममा अभिरुचि एवं यस विषयक सामान्य ज्ञान नहुने पाठकका लागि विषयबारेको अनभिज्ञताले क्लिष्टता अनुभव हुनु स्वाभाविक हो। अब ‘थर्मोडाइनामिक्स’, ‘एन्ट्रोपी’, ‘बिग बैंग’, ‘बिग क्रन्च’, ‘एब्सोल्युट जिरो’बारे थाहा नहुनेलाई यही लेख क्लिष्ट लाग्न सक्छ। तर, यसबारे अलि–अलि जानकारी भएका पाठकलाई नयाँ जानकारीका साथै नयाँ ‘एंगल’ले सोच्ने र सम्झिने अवसर हुनसक्छ यो लेख।

सचेत पाठकजनले माथि वर्णित प्रसंगबाटै जीवनको नयाँ व्याख्या गर्न सक्छन्। न्युनतम तापमान माइनस २७३ दशमलब १५ डिग्री सेन्टिग्रेडबाट खर्बौ खर्ब ( १ दशमलब ४२ गुणा १० को घात ३०) डिग्री सेन्टिग्रेडमध्ये १५–४५ डिग्री सेन्टिग्रेड ‘रेन्ज’को तापमान नै हामीले बुझ्ने गरेको जीवनको अनिवार्य शर्त हो। यसभन्दा तल र माथि दुवै तापमानमा हामीले बुझेको जीवन हुन सक्दैन।

तपार्ईलाई रुचि छ भने यसभित्र पनि डुबुल्की मारेर हेरौं– हामी मानिसहरुको शरीरको तापमान ३६ दशमलव १ देखि ३७ दशमलब २ डिग्री सेन्टिग्रेड( हामी ज्वरो नापन फारेनहाइट यूनिट प्रयोग गर्छौ। शरीरको तापमान ९७ देखि ९९ फारेनहाइटलाई सामान्य भनिन्छ ) रहनुपर्छ। योभन्दा तल र माथि दुवैतिर तापमान जता ढल्के पनि जीवन खतरामा पर्छ। ३५ डिग्री सेन्टिग्रेडभन्दा तल गए ‘हाइपोथर्मिया’ (Hypothermia ) ३७ दशमलव ५ भन्दा माथि गए ‘हाइपरथर्मिया’ ( Hyperthermia ) र योभन्दा पनि माथि गए (४०–४१ ) ‘हाइपरपाइरेक्सिया’ ( Hyperpyrexia ) को स्थिति हुन्छ। दुबै अवस्थामा चिकित्सकीय सहायताले शरीरको औसत तापमान कायम राख्ने प्रयास गरिन्छ। ‘देन ह्वाट इज ह्युमन लाइफ? सिम्पली इट इज ब्यालेन्स अफ टेम्परेचर इक्वल टु ३६ प्वाइन्ट १ टु ३७ प्वाइन्ट २ डिग्री सेल्सियस। अल अदर डेफिनेसन्स अफ लाइफ अर बेस्ड अन दिस फ्याक्ट।’

भान्जासँग त मैले उनले गरेको प्रश्नमा खासै चर्चा गर्ने जाँगर देखाइनँ।

तपाईंहरुसँग चर्चा गर्न मुखातिव भएको छु। गान्धारीले भनेझैं कृष्णसँग महाभारत युद्ध रोक्ने सामर्थ्य थिएन। मेरो यो अभिव्यक्ति बुझ्न तपाईंले ‘म्याट्रिक्स’ भन्ने शब्द बुझ्नुपर्ने हुन्छ।

कृष्ण प्रकृतिको त्यस ’म्याट्रिक्स’को प्रतिनिधित्व गर्छन्, जसको ‘प्रोग्रामिङ’ महाभारत युद्ध गराउने थियो। कृष्ण ’म्याट्रिक्स’को खिलाफमा जान सक्दैनन्। हिन्दु अवधारणामा कृष्ण आफैं ‘म्याट्रिक्स’ हुन्। सबै प्रकृति उनैमा लीन र समाहित हुन्छ। तसर्थ, जुन उद्देश्यका लागि उनी अवतरित भएका थिए, त्यसविरुद्ध जाने उनी चेष्टा नै किन गर्छन् ! कृष्णको जन्म नै जगतको बिथोलिएको ‘एन्ट्रोपी’ साम्य गर्न भएको थियो। हिन्दु धर्मका समस्त अवतारवादको अवधारणा ‘धर्मसंस्थापनार्थाय सम्भवामि युगेयुगे’ को जगरुपी ‘एन्ट्रोपी’मा आधारित छ।

चर्चा गरौं दोश्रो प्रश्नको, महाभारत युद्धको प्रमुख कारण के थियो?

तथानामका स्वनामधन्य लेखक (खासगरी पाश्चात्य र कम्युनिस्ट स्कुलिङमा हुर्केका ) ले यसबारे धेरै नै मगज खियाएका छन्। ती सबै गलत हुन्।

प्रकृतिमा हुने कुनै पनि घटनाका लागि कुनै एउटा प्रमुख कारण हुन सक्दैन । लाखौलाख कारण थुप्रिएर घटना हुने गर्छ र, ती सबै कारण प्रमुखकै हैसियत र मर्यादा राख्छन् किनकि तीमध्ये कुनै एकको अभावमा त्यो घटना हुने सम्भाव्यता रहन्न। यो पनि ‘सेकेन्ड ल अफ थर्मोडाइनामिक्स’मै आधारित हुन्छ। ‘अकार्डिंङ टु द सेकेन्ड ल अफ थर्मोडाइनामिक्स, द एन्ट्रोपी अफ अ सिस्टम क्यान ओन्ली डिक्रिज इफ एन्ट्रोपी अफ अदर सिस्टम इन्क्रिज।’

वास्तवमा ‘एन्ट्रोपी’ हो नै सिस्टममा आएको गडबडी अथवा विचलन। प्रकृतिले बेलाबेलामा सिस्टममा देखापरेको गडबडी सुधार्न गरेको प्रयास नै हिन्दुहरुको अवतार विज्ञान हो।

तपार्हरुलाई थाहै छ– मानिसको शरीरमा ज्वरो आउनलाइ पनि सयौ कारण जुट्नुपर्छ। ती मध्ये कुनै एउटा कारणलाई प्रमुख भन्नु उपयुक्त हुन्न। सानोभन्दा सानो, मसिनोभन्दा मसिनो, क्षुद्रभन्दा क्षुद्र कारण पनि अति महत्वपूर्ण हुन्छन् किनकि यसको अभावमा घटना हुने सम्भावना फलित हुन सक्दैन।

महाभारत युद्धका लागि कुनै एउटा घटना वा पात्रलाई प्रमुख कारक अथवा दोषी ठम्याउन मिल्दैन। सहस्रौ कारण जुटेर महाभारत संघारसम्म आइपुगेको थियो। तपाई जसलाई प्रमुख कारण ठान्नुहुन्छ, त्यो तपाईको आग्रह वा पूर्वाग्रह मात्रै हो।

महाभारत युद्ध हुने कारणमा पहिलो कारणको चर्चा गर्ने हो भने यो निश्चय नै ‘आदि सृष्टि’ हुनु हो। ‘वन हु ह्याज अ बिगनिङ मस्ट ह्याभ एन इन्ड।’ सिस्टम बनेपछि त्यसभित्र ‘एन्ट्रोपी’ ( गडबड र अन्ततः नष्ट) हुन्छ नै।

महाभारत युद्धका लागि शान्तनु दोषी होइनन र? माझी कन्या सत्यवतीमा उनको आशक्ति नभएको भए अथवा सत्यवतीका पिता दासराजले राजा शान्तनुसमक्ष आफ्नो कन्याको विवाह हेतु आफ्नै नाति (छोरी सत्यवतीको छोरो) नै राजा हुनुपर्ने शर्त नराखेको भए, अथवा गंगापुत्र देवव्रत ‘भीष्म’ले कामान्ध पिताका लागि आजन्म अविवाहित एवं आफू राजा नबन्ने प्रतिज्ञा नगरेको भए महाभारत युद्धको भूमिका नै निर्मित हुने थिएन।

द्रौपदीलाई अथवा दुर्योधनलाई अथवा धृतराष्ट्रलाई अथवा शकुनीलाई प्रमुख कारण हेर्नु र मान्नु विषयप्रतिको अल्पज्ञान मात्रै हो। तपाईसँग तर्क गर्ने क्षमता छ भने म युद्ध गर्ने पुस्तालाई ( सय कौरव र पाँच पाण्डव) निमित्त नायक सावित गर्नसक्छु। विषवृक्षको रोपण त राजा शान्तनुको पालामा उनको कामान्धताले पुस्तौ पहिला भइसकेको थियो। सय कौरव र पाँच पाण्डवको पुस्तामा त्यो विषवृक्ष यौवनमा पुगी विष फलले लटरम्म भई नुहिसकेको थियो।

म सत्यवतीलाइ दोषी सावित गर्न सक्छु। सत्यवतीको विवाह पूर्व पराशर मुनिको संसर्गबाट जन्मेका छोरा महर्षि वेदव्यासलाई प्रमुख दोषी साबित गर्न सक्छु। मत्स्यगन्धा र योजनगन्धाका नामले ख्याति पाएकी सत्यवतीले आफ्ना विधुवा बुहारी अम्बिका र अम्बालिकाबाट पुत्रको इच्छा राखी आफ्ना जेष्ठ पुत्र व्यासको नियोगबाट धृतराष्ट्र र पाण्डुको (दासीपुत्र महात्मा विदुर पनि ) जन्म नगराएको भए धृतराष्ट्र र पाण्डुका युद्ध लोलुप सन्तान नै (सय कौरव र पाँच पाण्डव) जन्मिने थिएनन्।

फेरि धृतराष्ट्र र गान्धारीका ९९ पुत्रको (धृतराष्ट्रका सयमध्ये एउटा पुत्र गान्धारीको सेविका सुघदाबाट जन्मेको युयुत्सु थियो) जन्म हुनुमा पनि महर्षि वेदव्यासकै लीला थियो। यी सबै केलाउँदा के महाभारत युद्ध हुनुमा वेदव्यासको भूमिकालाई हल्का रुपमा लिन मिल्छ!

महर्षि वेदव्यास मात्रै किन धर्मराज, वायुदेव र देवराज इन्द्रले कुन्तीबाट युधिष्ठिर, भीम र अर्जुन नजन्माइ दिएको भए, कुन्तीकी सौता माद्रीसँगको नियोगमा अश्विनी कुमारले २ वटा ‘आश्वीनेय’ नकुल र सहदेव नजन्माएको भए राज्यका लागि संघर्ष नै हुने थिएन। दुर्योधन निष्कन्टक राज्य गथ्र्यो। गांधार नरेश शकुनी अन्धा धृतराष्ट्रसँग आफ्नो सुन्दर बहिनीको बिहे गर्नुपरेको विवशताले विक्षोभित बनेका थिए ,उनी सम्पूर्ण कौरवकुलको सर्वनाश हेतु संकल्पित थिए । महाभारत नभइदिएको भए उनको संकल्प र उनीभित्रको प्रचंड नकारत्मक ऊर्जा कसरी संतुलित हुन्थ्यो !

ओझलमा परेकी अर्की एउटा महत्वपूर्ण पात्रा अम्बा हुन। उनी काशी नरेशको जेष्ठ पुत्री थिइन्। उनी आफ्ना दुई बहिनी अम्बिका र अम्बालिकासँगै भीष्मद्वारा अपहरणमा परेकी थिइन।

हस्तिनापुर आएपछि सत्यवतीका छोरा एवं भीष्मका सौतेनी भाइ विचित्रवीर्यसँग बिहे हुनुपूर्व उनले भीष्मलाई आफ्नो प्रेम मद्र देशका राजा शल्यसँग( नकुल -सहदेवको मामा ) रहेको निवेदन गरिन्। भीष्मले उनलाई जान दिए। तर, अपहरणमा परेको भनी शल्यले उनीसंग बिहे गरेनन्। दुःख र सन्ताप एवं प्रतिशोधको ज्वालाले उनले आफ्ना दुःखका कारण भीष्मसँग प्रतिशोध लिने संकल्प गरिन्। नातामा उनी धृतराष्ट्र र पाण्डुकी ठूली आमा थिइन्।

‘बिग बैंग’ देखि ‘बिग क्रन्च’ नभएसम्म प्रकृति र प्रकृतिभित्रको सृष्टिमा ‘एन्ट्रोपी’को सतत् प्रक्रिया भइरहन्छ। विज्ञानसँग चेतनाको स्तर अथवा यसको स्तरमा आएको विचलन रविक्षोभ (एन्ट्रोपी) नाप्ने उपाय छैन। विज्ञान फगत पदार्थ विज्ञान हो, यसको परिधि पदार्थको अनुसन्धान र विश्लेषण गर्नमै सीमित छ। पदार्थको परिधि बाहिर गई चेतनाको नाडी छाम्न सक्ने अहिलेसम्म आधुनिक विज्ञानको कुनै गवाक्ष खुल्न सकेको छैन।

भगवान शिवको आशिर्वादले उनी अर्को जुनीमा शिखन्डीका रूपमा जन्मिन र शिवको आशिर्वादले गर्दा उनले भीष्मको मृत्युको कारण हुनुपर्ने थियो। के महाभारत युद्ध हुनुमा यी दुबै पात्रको भूमिका र योगदानलाई गौण भन्न मिल्छ ?

परिवारको मात्रै कुरा किन, राजा द्रुपद र उनका बालसखा द्रोणाचार्य ( दुबै ऋषि भारद्वाजको गुरुकुलमा विद्यार्थी थिए। द्रोणाचार्य भारद्वाजकै पुत्र थिए) बीचको मनोमालिन्यले पनि महाभारतरूपी अग्निकुण्डमा एउटा आहुति थप्ने काम गरेको थियो। ब्राह्मण द्रोणाचार्य राजा द्रुपदबाट अपमानित नभएको भए हस्तिनापुरका युवराजहरु (कौरव र पाण्डव) को शस्त्र गुरु नै बन्ने थिएनन्।

आफना शिष्य अर्जुनबाट द्रुपदलाई परास्त एवं अपमानित गरी द्रोणाचार्यले बदला नलिएको भए, द्रुपदले द्रोणलाई मार्न सक्ने छोरो जन्माउने त्यो यज्ञ नै गर्ने थिएनन्, जसबाट द्रौपदी र धृष्टधुम्न जन्मिएका थिए। धृष्टधुम्नको जन्म नै द्रोणाचार्य वधहेतु भएको थियो। के यी सबै संयोग नजुटेको भए महाभारत युद्ध हुने थियो र?

महाभारत युद्धको पटकथा प्रकृतिले चार पुस्ताअगाडि नै उन्न सुरु गरेको थियो। कृष्ण अवतारको समय, युधिष्ठिर , दुर्योधनको समय, शकुनिको कपट, द्रोपदी मर्यादा हननको घटनालाई ( महाभारत युद्धको वर्तमान) मात्रै आधार बनाएर महाभारतको मूल कारण अथवा मुख्य दोषी पहिल्याउनु सम्भव छैन, र यो उचित पनि होइन।

महाभारत प्रकृतिको गाथा हो, ‘उर्ध्वमूलम् अधःशाखम्’ अर्थात् उल्टो वृक्ष को गाथा हो, मनुष्य जातिको उत्थान–पतनको गाथा हो। विज्ञान जसलाई ‘फन्डामेन्टल ल’ अथवा ‘फन्डामेन्टल फ़ोर्स’ भन्छ, त्यसको साक्षात विवरण गाथा हो।

हिन्दु धर्ममाथि तथानाम आरोप लगाउनेहरुले बुझून्–यस धर्ममा जन्मले होइन, कृत्यले श्रेष्ठता सावित हुन्थ्यो। माझी कन्याको पुत्र ऋषि मुनिमा सर्वश्रेष्ठ वेदव्यास हुन्छ। अन्य धर्मको प्रमुख पात्र अविवाहित माताबाट जन्मिएको प्रसंग ढाक्न अनेक कथा थोपर्छन्, हिन्दु धर्मले आफ्ना श्रेष्ठ ऋषि नै कामातुर भएर (परासर–सत्यवती ) स्खलित भएको कुरा भन्न किञ्चित धक मान्दैन। यहाँ धर्मराज नै दासी पुत्रका रूपमा जन्म लिन्छन्। महाभारत धर्म र अधर्म दुबैको उत्कर्ष हो। सम्पूर्ण जीवन हो, प्रकृतिको एउटा कालखण्डको दस्तावेज हो।

‘बिग बैंग’ देखि ‘बिग क्रन्च’ नभएसम्म प्रकृति र प्रकृतिभित्रको सृष्टिमा ‘एन्ट्रोपी’को सतत् प्रक्रिया भइरहन्छ। विज्ञानसँग चेतनाको स्तर अथवा यसको स्तरमा आएको विचलन र विक्षोभ (एन्ट्रोपी ) नाप्ने उपाय छैन। विज्ञान फगत पदार्थ विज्ञान हो, यसको परिधि पदार्थको अनुसन्धान र विश्लेषण गर्नमै सीमित छ। पदार्थको परिधि बाहिर गई चेतनाको नाडी छाम्न सक्ने अहिलेसम्म आधुनिक विज्ञानको कुनै गवाक्ष खुल्न सकेको छैन।

गर्मीको मौसम छ, तपाई आइसक्रिम ल्याउनु हुन्छ। आइसक्रिम के हो? ताप र दबाब परिवर्तन गरी पानीको स्वरुप परिवर्तन गरी बनाइएको जिनिस हो आइसक्रिम। आइसक्रिम ‘रेफ्रिजरेटर’बाट बाहिर राख्दा पग्लिन थाल्छ। तपाईंले पानीमाथि आरोपित गरेको ताप र दबाबमुक्त हुन्छन्। पानी पुनः वातावरणको तापमान अनुसार आफ्नो वास्तविक स्वरुपमा आउन थाल्छ। वाष्पमा पनि प्रक्रिया यही हो, विस्तारै सेलाएर वाष्प पनि वातावरणीयस्वरुप तरल पानीमा फर्किन्छ।

चेतना पदार्थ, अणु, इलेक्ट्रोन, प्रोटोन, न्युट्रोन, परमाणु, क्वार्क कण ( प्रोट्रोन र न्युट्रोन स्वतन्त्र अथवा अखण्ड होइनन्, यी विभिन्न क्वार्क कणको संयोगले मिलेर बनेका हुन्छन्) भन्दा पनि सूक्ष्म तत्व हो। विज्ञानलाई चेतनाबारे नै स्पष्ट रूपले थाहा छैन भने यसमा आएको विक्षोभ वा विचलन ( एन्ट्रोपी ) बारे थाहा हुने कुरा नै आउँदैन।
प्रकृति ‘म्याट्रिक्स’ त हुँदै हो, ‘थर्मोडायनामिक्स’बारे थाहा हुने विज्ञान प्रेमीहरुलाई ‘बोल्ट्जमैन नियान्तक’ बारे ( Boltzmann constant
“k” is equal to 1.38065 × १० to power minus 23 joules per kelvin) पनि थाहा होला। महाभारतकाल अर्थात् द्वापर युगका लागि कृष्ण, त्रेताका लागि राम र हिन्दुहरुको मान्यतामा फरक–फरक समय र कालखण्डमा भएका विभिन्न अवतार यस्तै ‘नियान्तक’ हुन्, जसले देश, समाज, सभ्यता, मानवजातिको चेतनामा गडबडिएको ‘एन्ट्रोपी’ साम्य पार्ने महत्वपूर्ण कार्य गरे।

कति गम्भीर चिन्तन मात्रै गर्नु केही परिहास गर्दै विश्राम लिने सोचमा छु। ‘एन्ट्रोपी’ लाई विज्ञानले ‘जुल प्रति केल्भिन युनिट’ले नाप्छ, भविष्यमा यदि चेतनाबारे विज्ञानले थाहा पायो भने यसलाई कुन ‘युनिट’ले नाप्ने काम गर्छ होला? तपार्हहरुलाई कुनै ‘आइडिया’ भए मलाई पनि सूचित गर्नुहोला।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्