रुकुममा प्रेमिका लिन पुगेको समूहमाथी गाउँलेको आक्रमणबारे नेकपाको छानबिन, बेपत्ता ४ जना अझै भेटिएनन्

भेरी नदीमा मृत अवस्थामा भेटिएका एक युवा ।

काठमाडौं –  पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथी गाउँलेले गरेको आक्रमण सम्बन्धीमा सत्तारुण नेकपाको जिल्ला समितीले छानबिन गर्न समिती गठन गरेको छ।

चन्द्रबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ। यो घटनामा दुई युवाको शव भेटिइसकेको छ भने ४ जना अझै बेपत्ता छन्। दुई युवाको शव भेरी नदिमा भेटिएको थियो।

जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना लिएर शनिबार साँझ सोती पुगेका थिए। उनिहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेका थिए।

नवराजको शव सोही दिन राती १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा रहेको सेति नदिको पुलमुनी भेटिएको थियो। अर्का युवकको शव आइतबार दिउँसो सल्यानस्थित भेरी नदि किनारमा भेटिएको थियो। घटनापछि समूहका १३ जनालाई भने गाउँलेले पक्राउ गरि प्रहरीलाई बुझाएका थिए।

चौरजहारी नगरपालिकाका मेयर विशाल शर्माले घटनाको छानबिन गर्न नेकपाले तीन सदस्यीय समिती गठन गरेको र तीन दिनभित्र प्रतिबेदन बुझाउनुपर्ने जिम्मेवारी पाएको बताए। ‘ समितीले अहिले हाम्रो पनि समर्थन छ। हामी पनि आन्तरिकरुपमा घटनाको बस्तुस्थितीबारे बुझिरहेका छौँ। आवश्यक परे नगरपालिकाले पनि छानबिन समिती गठन गरेर अनुसन्धान अगाडि बढाउने छ’, शर्माले भने।

पश्चिम रुकुममा एउटा मात्र प्रतिनिधि सभा सिट छ। नेकपाका जनार्दन शर्मा प्रभाकर यो जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित हुन्। मेयर शर्मा पनि नेकपाबाट निर्वाचित जनप्रतिनिधी हुन्।

घटनामा सोतीका ६/७ जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको मेयर शर्माले जानकारी दिए। दलित भएका कारण युवतीका परिवारले समूहमाथी आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। युवती लिन पुगेका समूहका सदस्यले  नवराज प्रेमिकाकै सल्लाहमा उनलाई लिन सोती पुगेको दावी गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले घटनाप्रति दुख व्यक्त गरेकी छिन्। ट्वीटरमा उनी लेख्छिन्-  नेपालको संविधानमा हरेक व्यक्तिलाई आफ्नो जिवन साथी छान्ने अधिकार छ । संविधानमा मल्ल वा विक समुदाय बिच विवाह हुदैन पनि भनिएको छैन र यदि भनिएको छैन भने किन उमेर पुगेकालाई जबरजस्ति यो वा त्यो भनेर हत्या गर्ने विभेद गर्ने प्रचलन कायम छ।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू