श्रीमतीलाई कोरोना लागेका पूर्वसांसदसँग थुप्रै सांसदहरुको उठबस, संसदमा सन्त्रास

कोरोनाबाट बच्न संसदबाट बाहिरिँदै सांसदहरु। फाइल तस्विर

काठमाडौँ– श्रीमती कोरोना संक्रमित भएका एक पूर्वसांसदले बहालवाला सांसदहरुसँग उठबस गरेको पाइएको छ।

कोरोना संक्रमित श्रीमतीलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा राखे पनि संक्रमितको सम्पर्कमा पुगेका नेकपाका एक पूर्वसांसद विभिन्न स्थानमा पुगेको पाइएको हो।

श्रीमतीलाई संक्रमण पुष्टि हुनुअघि जेठ ९ गतेसम्म उनी हेरचाहमा संलग्न रहेको एक निकटले देश सञ्चारलाई जानकारी दिए। श्रीमतीलाई कोरोना संक्रिमित पुष्टि भएपछि दुईपटक गरिएको आरडिटी परीक्षणमा भने हेटौंडाका ती पूर्वसांसद र उनका छोराछोरीको आरडिटी परीक्षण नेगेटिभ देखिएको छ।

स्रोतका अनुसार सोमबार गरिएको परीक्षणमा पनि ती पूर्वसांसदको रिपोर्ट नेगेटिभ देखिएको हो। उनीहरुको अहिलेसम्म पिसिआर परीक्षण गरिएको छैन।

चिकित्सकहरुका अनुसार आरडिटी परीक्षणले कोरोना संक्रमण भए/नभएको ठ्याक्क भन्न सक्दैन। उनकी पत्नीको पनि दुईपटक आरडिटी परीक्षण नेगेटिभ हुँदाहुँदै पनि पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।

कहाँ कहाँ पुगे ती पूर्वसांसद?

स्रोतका अनुसार श्रीमतीको उपचारका लागि काठमाडौँ आएका ती पूर्वसांसद हेटौंडा नै स्थायी घर भएका राष्ट्रियसभाका हालका सांसद रामचन्द्र राईको कोटेश्वरस्थित निवासमा पुगेका छन्। राईको घरमा उनी तीन रात बसेका थिए।

उनी त्यहाँ रहँदा मकवानपुरबाट प्रतिनिसभामा प्रतिनिधित्व गर्ने अर्थ समितिका सभापति समेत रहेका सांसद कृष्णप्रसाद दाहाललगाय अरु केही व्यक्तिहरु पनि जेठ ५ गतेपछि राईको घरमा पुगेका थिए। सांसद राईले आफ्नो निवासमा दाहाल र ती पूर्वसांसदसहित अरु व्यक्ति तीन रात बसेको देश सञ्चारसँग स्वीकार गरे।

उनले भने, ‘उहाँहरु मेरो घरमा आउनुभएको हो। तीन रात यहाँ बस्नु पनि भयो। उहाँलाई कोरोना संक्रमण छैन भन्ने आरडिटी परीक्षणबाट देखिएको छ।’ हाल ती पूर्वसांसद काठमाडौँकै एक होटलमा बसिरहेका छन्।

पूर्वसांसदकी पत्नीलाई अस्पतालमा राखिएको थाहा पाएपछि नेकपाका स्थायी समिति सदस्य एवं सांसद मुकुन्द न्यौपाने, दाहाल र राई पनि अरु केही नेताहरुसहित टिचिङ अस्पताल पुगेका थिए।

त्यहाँ उनीहरुले बिरामीलाई टाढैबाट हेरेर सुरक्षित रुपमा फर्किएको त्यहाँ सहभागी एक नेताले देश सञ्चारलाई बताए। उनले भने, ‘हामी गएका हौं। त्यहाँ सुरक्षित रुपमै बिरामीको अवस्था बुझेपछि हामी फर्किहाल्यौं।’ अरु केही नेताहरुलाई खबर गरिए पनि उनीहरु बिरामी भेट्न गएनन्।

बिरामीलाई किन ल्याइयो काठमाडौँ?

हेटौंडाकै एक अस्पतालमा उपचार गराइरहेकी पूर्वसांसद पत्नीलाई जेठ ४ गते एम्बुलेन्समा पति, छोरा र छोरीले काठमाडौँ ल्याए। पेट फुलेको र मुटुमा समेत समस्या भएपछि उनलाई सिधै बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग अस्पताल लगियो।

तर पेटको समेत समस्या देखिएपछि उनलाई गंगालालमा भन्दा टिचिङ अस्पतालमा उपचार उपयुक्त हुने भन्दै टिचिङ रिफर गरियो।

टिचिङ ल्याएपछि उनको जेठ ५ र ६ गते दुवै दिन आरडिटी प्रविधिबाट गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको थियो। अस्पतालले फेरि जेठ ७ गते पिसिआर प्रविधिबाट परीक्षण गर्न स्वाब लियो।

उक्त स्वावको रिपोर्ट ९ गते आउँदा उनी कोरोना संक्रमित भएको पुष्टि भयो। त्यस दिन स्वास्थ्य मन्त्रालयले मकवानपुकी ५४ वर्षीय महिला कोरोना संक्रमित जानकारी दिएको थियो। उनमा कोरोना पुष्टि भएपछि हेटौडाको अस्पतालमा सम्पर्कमा आएका चिकित्सक तथा नर्सहरुलाई आसोलेसनमा राखेर पिसिआर परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट देखिएको छ।

यता मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरमा कार्यरत ४० जना डाक्टर तथा नर्सहरुका स्वाव संकलन गरिएको छ। उनीहरुको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

संसदमा सन्त्रास

पूर्वसांसदकी पत्नीलाई कोरोना संक्रमण भएको र उनको सम्पर्कमा अरु सांसदहरुसमेत आएको हल्ला चलेपछि संसद सचिवालय र सांसदहरुबीच संत्रास फैलिएको छ।

चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्न मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक राखिएको छ। उक्त बैठकमा ती पूर्वसांसदको सम्पर्कमा पुगेका सांसदहरुलाई उपस्थित गराउने कि नगराउने भन्ने विषयमा संसद सचिवालय अन्योलमा परेको छ।

बहालवाला सांसदहरु कोरोना संक्रमित महिलाको पतिको सम्पर्कमा पुगेको थाहा पाएका केही अरु सांसदहरुले चिन्ता व्यक्त गरेका छन्। नाम नबताउने शर्तमा एक सांसदले देशसञ्चारसँग भने, ‘उहाँहरुले धेरै हिँडडुल गर्नुभएको सुनेको छु। मंगलबार सदनमा जाउँ कि नजाउँ भन्ने अन्योल भइरहेको छ।’

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अग्नि सापकोटाले सांसदहरुले कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाएको भन्दै आपत्ति जनाएका थिए।

सांसदहरु सुरक्षित रुपमा घरमै बसेर संसद आउन आग्रह गरिए पनि संक्रमितको सम्पर्कमा जाने, निर्देशन विपरीत पटक पटक जिल्ला पुगेको भन्दै सभामुख सापकोटाले प्रमुख सचेतकहरुको ध्यानाकर्षण गराएका थिए।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू