लुकीछिपी आउनेलाई नियन्त्रण गर्न तीन स्थानीय तहले म्यादी प्रहरीको भर्ना लिदैं

मोरङ-कोरोनाभाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र भारतीय क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेशमा कडाई गर्नका लागि मोरंगका तीन स्थानीय तहले म्यादी प्रहरी भर्ना लिने भएका छन्।

भारतसंग जोडिएको मोरंगको दक्षिणीसीमामा पर्ने रंगेली नगरपालिका, रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकाले संयुक्त रुपमा ६९ जनाको खुल्ला आव्हान गर्दै म्यादी प्रहरी भर्ना गर्ने भएका हुन।

सीमाक्षेत्रबाट अवैध ढंगबाट राती लुकीछिपी नेपाल आउनेको संख्यामा कमी नआएको, नगरपालिका घरमा आएरसमेत जानकारीमा नआएकोले संक्रमणको जोखिम बढ्दै गएको स्थानीय तहको भनाइ छ।

दक्षिणतर्फ तीनवटै नगरपालिका र भारतबीच ३१ किलोमिटरको सीमा रहेको छ। जहाँबाट रातीको समय र लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम दिनानुदिन बढ्दै गएको छ।

३१ किलोमिटरको सीमामा प्रत्येक २ सय ५० मिटरको दुरीमा पोष्ट बनाएर भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा निकायको मातहतमा रहने गरि खटाइने जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ। मोरंग प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार सो क्षेत्रमा अपुग संख्या स्थानीय तहले परिपूर्ति गर्ने र त्यसले सुरक्षा नियन्त्रणमा सहजता हुनेछ।

तीनवटै नगरपालिकासंग जोडिएको भारत नेपाल सीमामा नेपालतर्फबाट करिब १० वटा सुरक्षा पोष्ट रहेको छ। रतुवामाई नगरपालिकाका मेयर रविन राईका अनुसार सुरक्षा निकायलाई सहजता मिल्ने हेतुले म्यादी प्रहरी परिचालनको स्थितीमा स्थानीय तह पुगेको हो। मेयर राईका अनुसार सीमामा सुरक्षार्थ खटिएका प्रहरीलाई साथ दिनका लागि तीन वटा नगरपालिकाले समान २३ जना नियुक्त गर्नेछन्। ३१ किलोमिटरको सीमामा सुरक्षानिकायले आवश्यक्ता अनुसार उनीहरुलाई खटाउनेछन्।

लकडाउनसंगै भारतले रेलसेवा सुरु गरेपछि नेपाल आउनेहरु सीमा क्षेत्रमा बाक्लो रहेको बताएका मेयर राईले भने, रातीको समय लुकेर सीमा कट्ने, घरमा आएर लुक्ने जस्ता प्रवृत्ति देखिएपछि कोभिड १९ को संक्रमण समेत बढ्न सक्ने खतरा रहेको छ। गत जेष्ठ २ गते लुकेर आएका २४ वर्षीय स्थानीय युवकमा कोरोना पोजेटिभ भेटिएपछि उनको ११ जना परिवार सदस्यसमेत संकाको घेरामा परेका थिए।

यसबीच उनीहरुको समेत कोरोना परिक्षण गरिएको र नेगेटिभ रिर्पोट आएको राईको भनाइ छ। रतुवामाई नगरपालिकामा हालसम्म २० जनाको कोरोनाभाइरस परिक्षण गरिएको बताएका मेयर राईका अनुसार १८ जनाको रिपोर्ट नेगेटिभ र २ जनाको पोजेटिभ आएको छ।

त्यसैगरी भारतको दिल्ली तथा अहमदाबादबाट लुकीछिपी फर्किएका करिब ४० जनालाई रतुवाईमाई नगरपालिकाले आरडिटी परिक्षण गरेको छ।
यद्धपी, अझैपनि सीमापारीबाट लुकेर घर फर्कनेको संख्या दैनिक १२।१५ जनासम्म बढ्दै गएको उनी बताउँछन्।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू