स्वाब निकालेको ११ दिनपछि बल्ल कोरोना पोजेटिभको रिपोर्ट- कहाँबाट भयो गल्ती?

जेठ २ गते बाराको करैयामाई गाउँपालिका–७ का ७० वर्षीय वृद्ध स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजको आइसियूमा भर्ना भए। स्वास्थ्यमा समस्या देखिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने भन्दै उनी अस्पतालमा भर्ना भएकै दिन स्वाब संकलन गरी परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो।

तर उक्त व्यक्तिको उपचारकै क्रममा जेठ ४ गते मृत्यु भएको थियो। उपचारकै क्रममा मृत्यु भए पश्चात अस्पतालले उनाको रिपोर्ट नेगेटिभ होला भन्दै अड्कल बाजी गर्दै शव मृतकका आफन्तलाई बुझायो। मृतकका आफन्तले शव बुझे र आफ्नो संस्कार अनुरुप दाहसंस्कार गरे।

उनको मृत्यु भएको सोमबार ९ दिन भयो। परीक्षणका लागि पठाइएको रिपोर्ट पोजेटिभ आएको छ। कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा उनी सहित ४ पुगेको छ। यो भन्दाअगाडि मृत्यु भएका सिन्धुपाल्चोककी २९ वर्षीया महिला, नेपालगञ्जका २५ वर्षीय युवक र गुल्मीका ४१ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

संक्रमण देखिएका तीनै जनालाई संक्रमित व्यक्तिको मृत्यु भएको खण्डमा गरिने दाहसंस्कारका लागि मन्त्रालयले बनाएको कार्यविधि अनुसार दाहसंस्कार गरिएको थियो। संक्रमित व्यक्तिको मृत्यु भएमा मृतकका आफन्तले शव छुन नपाउने तर एक मिटरको दुरी कायम गरेर हेर्न भने पाईने कार्यविधिमा उल्लेख गरिएको छ।

क्षयरोगका विरामी भएकाले कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने भन्दै कलेजले उक्त वृद्धको स्वाब संकलन गरी नारायणी अस्पतालमा परीक्षणका लागि जेठ २ गते नै पठाएको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अनसारीले बताए।

‘वृद्ध भएकाले संक्रमण हुन सक्छ भनेर शंकै शंकामा भर्ना हुने बित्तिकै स्वाब संकलन गरेर नारायणी पठायौँ। ४ गते बिहान मान्छे मर्छ, रिपोर्ट आउँदैन। यो मधेशको मामला हो। मधेशमा कोही मरिहाल्यो भने दुई चार घण्टा बढी राख्न सकिँदैन। नत्र आईसीयूमा राखेर पैसा लियो भनेर यो गर्‍यो, त्यो गर्‍यो, आरोप लगाउन बेर हुँदैन’, प्रबन्ध निर्देशक अन्सारीले भने, ‘मृत्यु भएको मृतकका आफन्त हल्ला गर्न थाले, हामीलाई शव दिनुस्। ल रिपोर्ट आएको छैन, लैजानुस् भनेर दियौँ। रिपोर्ट नआएपछि हामीले नेगेटिभ होला भनेर सोच बनायौँ र परिवारलाई शव बुझायौँ।’

तर मृतकका आफन्तलाई शव बुझाएको ८ दिनपछि उनको रिपोर्ट पोजेटिभ भएको भन्दै नारायणी अस्पतालले जनाएको उनले बताए। उनले थपे, ‘तर आज १० दिनपछि बिहान फोन आउँछ र भनिन्छ, ‘रिपोर्ट पोजेटिभ छ।’ हामी आफैँलाई अचम्म लाग्यो, १० दिन पछि आयो अब के गर्ने?’

अन्सारीका अनुसार जेनरल व्यक्तिको रिपोर्ट आउन केही ढिला भए पनि तर विरामीको त्यति धेरै राख्न नहुने थियो। आफूले परीक्षण छिटो गरिदिनू भने पनि कुनै पनि सुचना नआएको उनले दावी गरे।

‘हामीले भनेका थियौँ बुढो मान्छे छ। शंकास्पद छ। यसको रिपोर्ट अलि चाँडै पढाइदिनु होला। हामीलाई न कुनै सुचना आयो, न त रिपोर्ट नै पठाए’, उनले भने, ‘रिपोर्ट आगाडि आएको भए कुनै समस्या नै हुने थिएन, हामीले शव राखिराखेको भए मधेसको मानिसले लठ्ठीले हानेर हाम्रो टाउको फुटाइ दिन्थ्यो। यहाँ स्रोत, साधन छैन। धेरै समस्याहरु छन्। कुन हालतमा कसरी अस्पताल चलाइ रहेका छौँ। विरामी रिफर गर्‍यो भनेर पत्रकारहरु नै अनेक लेखिदिन्छन्।’

‘शंकास्पद केसको रिपोर्ट नआउन्जेलसम्म उसलाई पोजेटिभ नै ठान्नु पर्छ। शंकास्पद व्यक्तिको मृत्यु भएको खण्डमा उक्त व्यक्तिसँग डिल गरेका वा उपचारमा संलग्न चिकित्सक, नर्सहरुलाई समेत आइसोलेट गरेर राख्नु पर्छ। र अन्त्येस्टि गर्दा जसरी कोभिड–१९ को संक्रमण पुष्टि भएका व्यक्तिलाई गरिन्छ, त्यही किसिमको गर्नु पर्छ।’

तर नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले पछिल्लो समय चाप धेरै भएका कारण रिपोर्ट ढिलो आउनु अस्वाभाविक नभएको बताए।

‘नमूना संकलन भइसकेपछि ल्याबमा पठाइन्छ। ल्याबमा परीक्षण हुन्छ। एक पटक चेक गर्दा शंकास्पद हुन्छ, फेरि अर्को पटक परीक्षण गर्नु पर्ने हुन्छ। दोस्रो पटक अझै शंकास्पद भएपछि हामी केन्द्रीय ल्याबमा पठाउँछौँ। केन्द्रीय ल्याब त्यसैपनि वर्क लोडेड छ। सबै टेष्ट रन गर्ने हो’, उनले भन्छन्, ‘त्यहाँ पनि रिकन्फर्मेसनका थुप्रै परीक्षणहरु हुन्छन्। परीक्षण गर्दा गर्दै त्यहाँ समय लाग्यो। केन्द्रमा पनि दुई पटक परीक्षण गर्नु पर्ने अवस्था भयो। त्यसकारण यो त्यति सजिलो चाहिँ होइन। सबै स्याम्पल इभ्यालुयट गर्न सजिलो रहेनछ भन्ने कुरा केन्द्रले पनि दुई पटक गरेको हुनाले पुष्टि हुन्छ।’

उनका अनुसार यो भनेको विज्ञानको कुरा हो, विज्ञान कसैको अधिनमा हुँदैन। हरेक विरामी एकै नासका हुँदैनन्, हरेक स्याम्पल एकैनासका हुँदैनन्। त्यही कारणले कसैको चाँडो र कसैको ढिलो भएको उनले दाबी गरे।

आफूले रिपोर्ट दिनुभन्दा अगाडि कन्फम हुन आवश्यक भएको डा. उपाध्यायले बताए।

‘सबै कुरा एकै ठाउँमा हुने भए किन अस्पताललाई विभिन्न तहमा विभाजन गर्नुपर्‍यो र? हामी पनि त्यही तहमा पुगेर काम गरेका हौँ। उक्त तहमा पुग्न समय लाग्छ। जेठ २ गते साँझ नमुना आएको थियो’, उनले भने, ‘३ र ४ गते रन गर्‍यौँ। फेरि ५ गते परीक्षण गर्दा शंकास्पद भएपछि उक्त स्याम्पल र अन्य ८ वटा शंकास्पद स्याम्पल काठमाडौँ पठायौँ। नमूना ७ गते काठमाडौँ पुग्यो। ९ र १० गते बारा, पर्सा र रौतहटको ६ वटा पोजेटिभ देखियो, त्यही नमुनामध्येका हुन्। तर ४ गते मुत्यु भएका व्यक्तिको रिपोर्ट भने १२ गते बिहान सार्बजनिक भएको हो।’

डा. उपाध्यायका अनुसार कसैको पनि नमूना परीक्षणका लागि पठाइन्छ भने त्यसलाई शंकास्पद केस भन्ने गरिन्छ। त्यस्तो केसलाई रिपोर्ट नआउन्जेल पोजेटिभ भनेर बुझ्नु पर्ने उनले बताए।

उनले भने, ‘शंकास्पद केसको रिपोर्ट नआउन्जेलसम्म उसलाई पोजेटिभ नै ठान्नु पर्छ। शंकास्पद व्यक्तिको मृत्यु भएको खण्डमा उक्त व्यक्तिसँग डिल गरेका वा उपचारमा संलग्न चिकित्सक, नर्सहरुलाई समेत आइसोलेट गरेर राख्नु पर्छ। र अन्त्येस्टि गर्दा जसरी कोभिड–१९ को संक्रमण पुष्टि भएका व्यक्तिलाई गरिन्छ, त्यही किसिमको गर्नु पर्छ।’

धेरै नमुना परीक्षणका लागि आउने भएका कारण सबैको पालैपालो गर्दा रिपोर्ट आउन समय लाग्ने गरे पनि इमजेन्सी हुनेहरुका लागि भने अगाडि राखेर रिपोर्ट दिन सक्ने टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयागशालाकी निर्देशक डा. रुना झाले बताइन्।

‘नारायणी अस्पतालले परीक्षणका लागि नमूना पठाइरहेको हुन्छ। धेरै नमुनाहरु क्यूमा छन्। सबैको एकैदिन रिपोर्ट निकाल्न सकिँदैन। जति नमुना आउने गरेका छन्, सबैको अर्जेन्ट नै हुन्छ’, निर्देशक डा. झाले भनिन्, ‘परीक्षणका लागि दिइएको नमूना कुनै अर्जेन्ट छ भने उहाँहरुले फोन गरेर भन्नुभयो भने हामी उक्त नमूनालाई अगाडि राख्दिन्छौँ र चाँडो रिपोर्ट आउन सक्छ। तर नारायणीबाट इमर्जेन्सी छ भनेर हामीलाई फोन वा कुनै खबर आएन।’

कुनै व्यक्तिलाई शंका गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन समय लाग्ने देखिएमा शवलाई जस्ताको तस्तै अस्पतालमै राख्नु पर्ने मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

उनले भने, ‘मन्त्रालयले सबैलाई यही भन्ने गरेको छ, शंकास्पद व्यक्तिको रिपोर्ट नआउँदै मृत्यृ भएमा रिपोर्ट नआउन्जेल मृतकका आपन्तलाई शव नबुझाउनुहोस्। तर बाराको कुरा गर्ने हो भने अफन्तहरुलाई साबधानी अप्नाएर अन्तेष्टि गर्न भनिएको थियो।’

मृतक व्यक्तिको रिपोर्ट आएसँगै उनको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरिएको समेत उनले बताए।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू