सांसद विकाष कोष खारेज गर्न श्रेष्ठको माग- पेट कसेर पनि देश बनाऔँ

काठमाडौँ- नेकपाका प्रवक्ता तथा सांसद नारायणकाजी श्रेष्ठले सांसद विकास कोष कम्तीमा एक वर्षका लागि खारेज गरेर उक्त रकम रोजगारी केन्द्रित राष्ट्रिय योजनामा लगानी गर्न सरकारसँग माग गरेका छन्।

उनले कोभिड १९ को महामारी स्वतन्त्र एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर पनि बन्नसक्ने उल्लेख गर्दै पेट कसेर भए पनि देशलाई बनाइछाड्ने दृढ संकल्पको खाँचो रहेको बताएका छन्।
श्रेष्ठले सोमबार लगातार तीन ट्वीट गर्दै आफ्नो चासो र माग प्रस्ट्याएका हुन्।

उनले लगातार केही समयदेखि सांसद विकास कोष खारेज गर्न माग गरिरहेका छन्।

उनले लेखेका छन्, ‘कोभिड-१९बाट हाम्रो देश समेत सबै क्षेत्रमा प्रभावित भएको छ। आगामी वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौतीको सामना गर्नुपर्ने निश्चित छ। तर यो स्वतन्त्र एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर पनि बन्न सक्छ। त्यसको लागि दृढ संकल्पको खाँचो छ; पेट कसेर भएपनि देश बनाई छाड्छौं। दुःख गरौं,फेरौं।’

त्यस्तै उनले सार्वजनिक खर्चमा कटौती, मितव्ययिता, चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि जरुरी भएको उल्लेख गर्दै आफूले एक वर्षसम्म राष्ट्रिय सभा तथा समितिहरुको भत्ता नलिने घोषणा पनि गरेका छन्। उनले संघका अन्य सांसद र प्रदेशका सांसदहरुलाई पनि भत्ता नलिनेबारे सोच्न पनि आग्रह गरेका छन्।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्