नेशनल मेडिकल कलेजमाथि छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाइने

पर्सा-बीरगन्ज वीरगञ्‍जमा रहेको नेशनल मेडिकल कलेजमाथि छानबिन एवं कारवाही प्रक्रिया अगाडि बढाउनेको निर्णय संकट व्यवस्थापन केन्द्र पर्साले गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको बैठकले कलेजलाई कारवाही गर्न गृह मन्त्रालयमार्फत स्वास्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो। अस्पतालमा उपचारको लागि भर्ना भएका बाराका एक वृद्धको कोरोना रिपोर्ट आउनु अघि नै उनको शब परिवारलाई बुझाएर लापरबाही गरेकोले कलेजलाई कार्वाहीको लागी सिफारिस गर्ने निर्णय केन्द्रले गरेको हो।

बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं ७ निवासी चौधरी थरका ७० वर्षीय ती वृद्धको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा जेठ ४ गते मृत्यु भएको थियो।

उनको शब कोरोना रिपोर्ट आउनु अघि नै अस्पतालले परिवारलाई बुझएको थियो।ती वृद्धको उनका परिवारजनले अन्त्येष्टि समेत गरिसकेका छन।ती वृद्धको भने सोमबार कोरोना संक्रमण पोजेटिभ भएको रिपोर्ट आएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको बसेको बैठकले पिसिआर नतिजा नआउदै शव आफन्तलाई जिम्मा लगाईएको र मृतकको सदगद समेत गरिसकेको भन्ने बुझिएको घटनाको सम्बन्धमा थप छानबिन एवं कारवाही प्रक्रिया अगाडि बढाउन नेपाल सरकार गृह मन्त्रालय मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने लगायतको निर्णयहरु गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मी लगायत संलग्न सबै व्यक्तिहरुलाई क्वारेन्टाईनमा राखी पिसिआर चेकजाँच गर्ने र उक्त मेडिकल कलजको मृतकलाई उपचार गरिएको कक्ष तत्काल सिल गर्ने निर्णय समेत गरिएको बस्नेतले बताए।

यस्तै कोरोना पोजेटिभ देखिएका मृतकको सम्पर्कमा आएका उक्त कलेजका स्वास्थ्यकर्मी लगायत अन्य सबै व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्ने समेत जिल्ला संकट ब्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू