प्रधानमन्त्रीको कोरोना विशेष संवोधन

‘विदेशमा नेपाली सुरक्षित तर भारतपट्टि परीक्षण नहुँदा नेपालमा महामारी फैलिन योगदान’

काठमाडौँ- कोरोना भाइरस संक्रमणको महामारीसँगै जारी लकडाउनका कारण लामो समयदेखि विदेशमा अलपत्र परेका नेपाली नागरिक सरकारले आफ्नो उद्धार गर्ने प्रतीक्षामा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई समयमै फर्काउने दाबी गरेका छन्।

तर कुन-कुन मुलुकबाट कसरी र कहिलेसम्म आफ्ना नागरिकको सुरक्षित र व्यवस्थित उद्दार गर्ने भन्नेबारे सरकारको ठोष योजना प्रधानमन्त्री ओलीले खुलाएनन्।

कोरोना भाइरस संक्रमणलाई केन्द्रमा राखेर सोमबार देशबासीका नाममा संवोधन गर्नेक्रममा ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशिल भएको दाबी गरेपनि उनीहरुको सुरक्षित र व्यवस्थित उद्दारको प्रक्रियाबारे खुलाउन नसकेका हुन्।

तर उनले आफ्ना नागरिकको सुरक्षाको आश्वासन सम्बन्धित मुलुकका सरकार र राष्ट्रप्रमुखबाट आएको बताएका छन्।

उनले भने,‘कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना सहितको आदेश तत्काल जारी गरिनेछ। विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्छ।’

भारतबाट फर्किएका नागरिकलाई सीमा नाकामा प्रभावकारी रुपमा स्वास्थ्य जाँच, उनीहरुका लागि सुरक्षितरुपमा क्वारेन्टिनको व्यवस्थामा सरकार चुकेको भन्दै आलोचना भइरहेको छ।

प्रधानमन्त्री ओलीले समस्याको प्राथमिकता र देशभित्रको तयारीकाबीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिने दाबी गरे। ओलीले भने,‘सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।’

खाडीलगायत विश्वका विभिन्न मुलुकमा खर्च रित्तिएका, भिसा अवधि सकिएका, बिरामी परेका, रोजगारी गुमेका नेपाली नागरिकले आफ्नो उद्दारका लागि सरकारलाई आग्रह गरेको लामो समय भइसकेको छ।

आफूहरुको आग्रहलाई सरकारले गम्भीररुपमा नलिएको उनीहरुको गुनासो छ। विदेशमा रहेका नागरिकले आफ्नो उद्दारका लागि सरकारलाई निरन्तर दबाब दिइरहेको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले सोमबार त्यसबारे ठोष कार्य योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो।

तर ओलीले नेपालीहरु रहेका मुलुकका राष्ट्र र सरकार प्रमुखसँग वार्ता गरेको र उनीहरुले नेपाली नागरिकहरुको सुरक्षाको आश्वासन दिएको भन्दै उनीहरुलाई धन्यबाद समेत दिन भ्याए।

गत चैत्र १६ गते सरकारद्धारा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्मा गठित कोभिड क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी)ले भारतसहित अन्य मुलुकबाट साढे १३ लाख नेपाली नागरिकलाई उद्दार गर्न आवश्यक रहेको ठहरसहित त्यसको कार्ययोजनाको प्रस्ताव तयार पारी अनुमोदनका लागि सरकारलाई पेश गरिसकेको छ।

आइतबार मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिलाई विदेशमा रहेका करिव २५ हजार नागरिक पहिलो चरणमा उद्दार गर्नेगरी तयारी भइरहेको जानकारी गराएका थिए।

कोरोना भाइरस संक्रमणलाई केन्द्रमा राखेर सोमबार देशबासीका नाममा संवोधन गर्नेक्रममा ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशिल भएको दाबी गरेपनि उनीहरुको सुरक्षित र व्यवस्थित उद्दारको प्रक्रियाबारे खुलाउन नसकेका हुन्।

तर मन्त्री ज्ञवालीले पनि उनीहरुको कहिले र कसरी उद्दार गरिसक्ने भन्नेबारे खुलाएका थिएनन्। सात दिन अघि सरकारले जारी गरेको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जबाफ दिनेक्रममा ओलीले विदेशबाट आउन चाहने सबै नागरिकलाई नेपाल भित्राउने सरकारको क्षमताले नभ्याउने भन्दै तत्काल कम्तिमा २० हजार नागरिक ल्याउने गरी सरकारले तयारी थालेको बताएका थिए।

सीमा पारी परीक्षण नहुँदा नेपालमा कोरोना फैलिन योगदान


हाल भारतबाट भित्रिएकाहरुमा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमण पुष्टि भइरहेको छ। त्यसैलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले आफ्नो संवोधनमा भारतबाट भित्रदा नेपालीको सीमा पारी कोरोना भाइरसको परीक्षण नभएकाले नेपालमा महामारी फैलिन योगदान पुर्‍याएको बताएका छन्।

उनले भने,‘ विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो ।

तर छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ । परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ ।’

गत साता संसदमा संवोधन गर्दै प्रधानमन्त्री ओलीले चीनबाट भन्दा भारतबाट आएको कोरोना भाइरसको संक्रमण कडा रहेको दाबी गरेका थिए।

सरकारले समयमै स्वास्थ्य सेवा प्रणाली र क्वारेन्टाइनलाई व्यवस्थित गर्न नसक्दा नेपालमा कोरोना भाइरसको संक्रमणले तिब्रता पाइरहेका बेला प्रधामन्त्री ओलीले भने सुरुवाती दिनमा सरकार केही अलमल परेको भएपनि हाल आएर त्यसको नियन्त्रण तथा उपचारमा चालिएका कदम सफल भएको दाबी गरे।

अव्यवस्थित र असुरक्षित क्वारेन्टाइनका कारण संक्रमण थप फैलिने जोखिम बढेको र त्यसमा सरकारले लापरवाही गरेको भन्ने अर्को ठूलो आरोप सरकारलाई लागेको छ।

त्यसबारे प्रधानमन्त्री ओलीले पहिलो पटक क्वारेन्टिनको संख्या बढाउने मात्रै नभई त्यसको स्तरको पुनरावलोकन गर्ने बताएका छन्।

उनले भने,‘ क्वारेण्टिनको संख्या बढाउने र त्यसको स्तरमा पुनरावलोकन गरी व्यापक सुधार गरिनेछ । आवश्यकताअनुसार बन्द अवस्थामा रहेका होटल तथा उपयुक्त सार्वजनिक संरचनाहरुलाई समेत क्वारेन्टिनको रुपमा प्रयोग गर्ने बारेमा समेत योजना बनाइएको छ।केन्द्रीय योजना र स्थानीय तहको व्यवस्थापनमा संक्रमित नागरिकको स्वास्थ्योपचार र क्वारेन्टिनमा राखिएका व्यक्तिहरुको खानपान तथा हेरचाह व्यवस्थित गरिने छ ।’

जेठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्