बाबुराम-उपेन्द्रको शक्ति संघर्षले जसपा एकीकरणमा अलमल

काठमाडौँ- जनता समाजवादी पार्टीको पूर्वघटक समाजवादी पार्टी नेपालका दुई अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको शक्ति संघर्षका कारण जनता समाजवादी पार्टीको एकता प्रक्रिया रोकिन पुगेको छ।

पूर्वघटक राजपा र समाजवादीबाट एक एक जना अध्यक्ष रहने गरी तत्कालका लागि पार्टी एकता प्रक्रिया अघि बढाउने सहमति भए पनि यादव र भट्टराईबीचको टकरावका कारण सहमित जुट्न नसकेको हो।

राजपाका तर्फबाट महन्थ ठाकुरले नेतृत्व गर्ने सहमति भए पनि समाजवादीले नाम दिन नसकेको दल दर्ता प्रक्रियामा अघि बढ्न नसकेको एक नेताले जानकारी दिए। तत्कालीन समाजवादीमा भट्टराई सेरिमोनिय संघीय परिषदको अध्यक्ष थिए भने यादव कार्यकारी मानिने केन्द्रीय समितिका अध्यक्ष थिए।

वरिष्ठतामा भट्टराई स्वतमाथि हुने भए पनि पार्टीको कार्यकारी हैसियत गुम्ने भएपछि यादवले ठाकुरसँगै आफ्नो एकीकृत पार्टी दर्ता हुुनुपर्ने अडान रोखका हुन्। समाजवादी घटककै एक नेताका अनुसार राजपा घटकले तत्कालीन समाजवादीमा बाबुराम पहिलो वरियतामा रहेकाले उनैलाई एकीकृत पार्टीको दोस्रो अध्यक्ष बनाएर मधेसमा जनआधार भएका यादवलाई सन्तुलनमा राख्न चाहेका छन्। त्यसलाई बुझेर पनि यादव कार्यकारी हैसियत छाड्ने पक्षमा छैनन्।

दुई दलबीच तत्काल दल दर्ताका लागि दुईजना अध्यक्ष रहेन, अरु सबै केन्द्रिय सदस्य मात्र रहेन र बाँकी नेताहरुको वरियता तथा कार्य विभाजनबारे छलफल गर्दै जाने सहमति भएको छ।

राजपा घटकका नेता राजेन्द्र महतोले आफ्नो तर्फबाट ठाकुरको नेतृत्वमा दल दर्ता गर्न सहमति भए पनि समाजवादीका तर्फबाट नाम आउन नसकेको देश सञ्चारलाई बताए। उनले भने, ‘हाम्रोतर्फबाट एक जना अध्यक्ष ठाकुरजीलाई बनाउने भनेर प्रस्ताव लगेका छौं। उताबाट नेतृत्वमा को रहने भन्ने टुंगो लागेको छैन। समय छ छलफल चल्दै होला।’

समाजवादी घटकका वरिष्ठ नेता अशोक राईले भने आफू व्यस्त भएकाले पार्टी एकताबारे अहिले कुरा गर्न नसक्ने प्रतिक्रिया दिए।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार दल एकीकरण गर्ने घोषणा गरेको ४५ दिनभित्र नयाँ दल दर्ताका लागि आवश्यक कागजासहित निवेदन दिनुपर्नेछ। वैशाख १० गते घोषणा गरेर ११ गते निर्वाचन आयोगलाई पार्टी एकता गर्ने जानकारी दिएका थिए। जसअनुसार जेठ २४ गतेभित्र एकीकृत पार्टीको नेतृत्व, विधान र दुवै पार्टीको केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउनु पर्ने भए पनि नेताहरुबीच शक्ति संघर्ष चलिहरको छ।

ठाकुरलाई सेरिमोनियल बनाउने प्रस्ताव अस्वीकार
समाजवादीका नेताहरुले पहिलो वरियतामा महन्थ ठाकुर रहने कुरामा सहमति जनाउँदै उनलाई सेरिमोनियल अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए। तर पार्टी एकताका लागि वैशाख १० गते भएको सैद्धान्तिक सहमतिपत्रमा पार्टी एकता समानताका आधारमा गर्ने उल्लेख भइसकेकाले दुवैतर्फबाट रहने अध्यक्ष कार्यकारी नै हुने अडान राजपाले छाडेन।

जनता समाजवादीका दुई घटकबीच पहिलो संविधानसभाको राज्य पुनःसंरचना समितिले दिएको प्रतिवेदनअुनसार पहिचानमा आधारित ११ प्रदेश हुनेमा एकमत छ। तर शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे भने एकता महाधिवेशनले टुंगो लगाउने महतोले बताए। समाजवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली पार्टीको एजेण्डा हुनुपर्ने प्रस्ताव गरेको छ। उदार संसदीय लोकतान्त्रिक प्रणालीलाई अंगिकार गरेको राजपाले त्यसलाई स्वीकार गरेको छैन। महतोले भने, ‘संघीयताको विषयमा हामीबीच एउटै धारणा छ। बाँकी नमिलेका विषयमा एकता महाधिवेशनसम्म छलफल गर्दै गएर टुंगो लगाउने हो।’

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू