दुर्घटनामा घाइते कोरोना संक्रमित युवकको पाटन अस्पतालमा शल्यक्रिया

काठमाडौँ-  दुर्घटनामा घाइते भएका सप्तरीका एक कोरोना संंक्रमित युवकको पाटन अस्पतालमा सोमबार शल्यक्रिया भएको छ।

दुर्घटनामा घाइते भई काठमाडौँ ल्याइएका ती ३२ वर्षीय युवकमा कोरोना संक्रमण पाइएको थियो।

पाटन अस्पतालको आइसोलेसन भरिभराउ भएपछि ती युवकलाई दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजमा राखिएको थियो।

सोमबार उनलाई दुवाकोटबाट पाटन अस्पताल ल्याएर डेढ घन्टा लामो हड्डीको शल्यक्रिया गरिएको हो।

शल्यक्रियापछि ती युवक अहिले पाटन अस्पतालकै आइसोलेसनमा आराम गरिरहेको पाटन अस्पतालका निर्देशक प्रा. डा. विष्णुप्रसाद शर्माले देशसञ्चारसँग जानकारी दिए।

उनको शल्यक्रिया अर्थोपेडिक विभागका प्रमुख डा. सुमन श्रेष्ठ र उनको टिमले गरेको हो।

डा. शर्माले नेपालमै पहिलोपटक कोरोना संक्रमितको शल्यक्रिया भएको पनि बताए।

‘कोरोनाकै उपचारमा अन्य अस्पताल डराएको बेला हामीले संक्रमितहरु ल्याएर राखेका थियौँ,’ डा. शर्माले भने, ‘अहिले आएर हामीले कोरोना संक्रमितको शल्यक्रिया पनि गरेका छौँ।’

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्