लकडाउन उल्लंघन गरेका बेलायती प्रधानमन्त्रीका प्रमुख सल्लाहकार–जे गरेँ त्यसमा पछुतो छैन

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रमुख सल्लाहकार डोमिनिम कमिङ्ग अहिले विवादमा छन्।

लकडाउनकै बेला त्यसको उल्लंघन गरी लामो सडक यात्रा तय गरेर पारिवारिक घर गएकोमा उनको आलोचना भइरहेको छ । तर कमिङ्गसले भने आफूले जे गरेँ त्यसमा कुनै पछुतो नरहेको बताएका छन् ।

उनी लकडाउनका बेला लण्डनबाट २६० किलोमिटर पर डुर्हाम काउन्टीमा रहेको पारिवारिक घरमा गएका हुन् । श्रीमतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेशनमा बस्नका लागि पारिवारिक घर गएको उनले बताएका छन् ।

आफ्नो यो योजनाबारे प्रधानमन्त्री बोरिस जोन्सनलाई जानकारी नगराएको पनि कमिङ्गसले उल्लेख गरे । प्रधानमन्त्री जोन्सनले पनि उनको पक्ष लिइरहेका छन् ।

कमिङ्गसले आफ्नो तर्फबाट जे भयो त्यो युक्तिसंगत र कानून भित्रै रहेरको दाबी गरेका छन् ।

प्रधानमन्त्री जोन्सनले कमिङ्गसको गतिविधिबाट अन्यौल, आक्रोश र पीडा महसुस भएको थाहा रहेको तर मानिसले कमिङ्गसको पक्ष पनि सुन्नु पर्ने बताएका थिए ।

तर लेबर तथा लिबरल डेमोक्र्याटिक पार्टीका नेताहरुले भने प्रधानमन्त्री जोन्सन र कमिङ्गस दुवैले ‘डबल स्ट्यान्डर्ड’ देखाएको आरोप लगाएका छन् ।

कमिङ्गसले लगातारको आलोचनापछि पहिलोपटक पत्रकार सम्मेलनमा बोल्दै आफूले राजीनामा नदिने बताए । उनले भने, ‘मैले जे गरेँ त्यसमा कुनै पछुतो छैन ।’

जेष्ठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू