सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको छैठौँ (बजेट) अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ।

बर्खे अधिवेशन समेत भनिने यो अधिवेशनमा मुलतः सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटको प्रस्तुति, छलफल र अनुमोदन हुनेछ । दिउँसो २ बजे सुरु हुने प्रदेशसभा बैठकको सम्पूर्ण तयारी पूरा गरिसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सुरक्षाका उपाय अवलम्बन गरेर यो अधिवेशन सञ्चालन हुने सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिव रामसिंह धामीले प्रदेशसभा कक्ष सेनिटाइज गर्ने, सभा परिसरमा मास्क, पञ्जा, सेनिटाइजर लगायतको व्यवस्था गरिएको बताए । उनले प्रदेशसभाभित्र पनि आवश्यक दूरी कायम गरी बस्ने व्यवस्था मिलाइएको बताए ।

प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, मर्यादापालक, प्रदेशसभा सदस्यका सवारी चालक र प्रदेशसभा बैठकको समाचार संकलन गर्ने पत्रकार गरी तीन सयजनाको पिसिआर परीक्षण गरिएको छ । सबैको नतिजा नेगेटिभ भएको प्रदेशसभाका सचिव धामीले जानकारी दिए ।

उनले सोको प्रमाणपत्र मंगलबार नै वितरण गर्ने र सोही आधारमा प्रदेश सभाभित्र प्रवेशको अनुमति दिइने बताए । उनले प्रत्येक दिन प्रदेश सभा कक्षमा सेनिटाइज गर्ने व्यवस्था समेत मिलाइएको बताए ।

प्रदेशसभा सचिव धामीका अनुसार मंगलबारको पहिलो बैठकमा प्रत्येक दलका प्रमुखलाई शुभकामना प्रदान गर्ने समय दिने कार्यसूचि तयार गरिएको छ ।

अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रि–बजेट (बजेटको सिद्धान्त, आधार र प्राथमिकता) प्रस्तुत गर्न विशेष समय दिने कार्यसूचि बनाइएको सचिव धामीले बताए ।

प्रदेशसभा सञ्चालन नियमावली अनुसार प्रदेश सरकारले वार्षिक बजेट प्रस्तुत गर्नुभन्दा एक महिनाअिघ प्रि–बजेट प्रस्तुत गर्ने र नीति तथा कार्यक्रम १५ दिन पहिले प्रदेशसभामा प्रस्तुत गर्नुपर्छ ।

तर, कोरोनाका कारण सिर्जित विषम परिस्थिति भएकाले १५ दिन पहिले प्रिबजेट प्रस्तुत गर्ने व्यवस्था मिलाइएको र समय छोटो रहेकाले पहिलो बैठकमै प्रिबजेट प्रस्तुत गर्ने कार्यसूचि तयार गरिएको सचिव धामीले बताए । उनले त्यसपछिका बैठकहरुमा प्रिबजेटमाथि छलफल गरिने बताए ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको लकडाउनका कारण अर्थतन्त्रमा परेको प्रभावलाई समाधान गर्ने खालका योजनाहरु अगाडि बढाइने जनाएको छ ।

स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने, कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी दिने खालका योजनाहरुमा प्राथमिकताका साथ बजेट छुट्याइने बताइएको छ ।

कोरोनाका कारण रोजगारी तथा आयस्रोत गुमाएका प्रदेशबासीहरुलाई रोजगारी दिलाउने खालका कृषि कार्यक्रम, पुर्वाधार विकासका आयोजनाहरु र उद्योग विकासका कार्यक्रम अगाडि सारिने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

जेष्ठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू