लद्दाखसँग जोडिएको सीमा क्षेत्रमा भारती र चीनका सेनाबिच तनाव

लद्दाखसँग सीमा जोडिएको क्षेत्रमा चीनले पछिल्ला दिनमा सैन्य गतिविधि बढाएको भन्दै भारतीय पक्षले चासो व्यक्त गरेको छ ।

लद्दाखमा रहेको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) सँग जोडिएको पाङ्गओङ्ग सो लेक र गाल्वान उपत्यका नजिक पछिल्ला दिनमा सैनिकको संख्या बढाएको देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विवादास्पद क्षेत्रमा सैनिकको तैनाथी बढाउनुले चीन तनाव अन्त्य गर्ने पक्षमा नरहेको देखिएको दाबी भारतीय पक्षको छ ।

पछिल्लो दुई हप्तामा गाल्वान भ्यालीमा झण्डै १०० वटा टेन्ट थपेको र बंकर बनाउनका लागि ठूला सामानहरु ल्याएको देखिएको भारतीय पक्षले दाबी गरेको छ ।

पछिल्लो हप्तामा भारतीय र चिनियाँ सेनाबिच झडपका घटना पनि भएका छन् । भारतीय सेनाले पनि डेमचोक र डाउलात बेग ओल्दी क्षेत्रमा तैनाथी बढाएको छ ।

मे ५ मा भारत र चीनका झण्डै २५० सैनिकबिच झडप भएको उल्लेख छ । स्थानीय कमाण्डर तहमा भएको बैठकपछि भोलिपल्ट सो झडप रोकिएको जनाइएको छ । सो घटनामा दुवै तर्फबाट गरेर १०० सैनिक घाइते भएको खबरमा उल्लेख छ ।

मे ९ मा सो प्रकृतिको घटना सिक्किमको उत्तरी क्षेत्रमा पनि भएको थियो । यसले सीमा क्षेत्रमा भारत र चीनबिच तनाव बढाएको छ ।

जेठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्