मकैबालीमा फौजी किराको आक्रमणले किसान चिन्तित

फाइल तस्बिर।

मोरङ– मकैबालीमा अमेरिकन फौजी किराले क्षति पुर्‍याउँदै गएपछि प्रदेश एकका कृषकहरू चिन्तित भएका छन्।

बाली लगाउने समयदेखि नै कृषकले नियमित निरीक्षण गरे यस किराबाट बाली जोगाउन सकिने कृषि निर्देशनालय प्रदेश एकले जनाएको छ। विगत केही वर्षदेखि नेपालमा देखिएको यस किराले बालीनालीमा क्षति पुर्‍याउँदै आएको छ।

पछिल्लो समय प्रदेश एकको १३ वटै जिल्लाका ८४ वटा स्थानीय तहमा मकैबालीमा यसको असर देखिएको निर्देशनालयकी सूचना अधिकृत सरस्वती श्रेष्ठले बताइन्।

गत आर्थिक वर्ष २०७५/७६ मा प्रदेशको कुल २ लाख ७४ हजार ५ सय ५५ हेक्टर क्षेत्रफलमा मकै बाली लगाइएको निर्देशनालयले जनाएको छ। जसमा ७ लाख ७० हजार ९ सय ५५ मेट्रिक टन मकै उब्जनी भएको थियो। तथापि यस पटक किराको कारण यस आँकडामा केही परिवर्तन हुनसक्ने अनुगमन गरिएको छ।

२०७६/७७ मा प्रदेश एकको १० हजार ६ सय ३४ हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीमा किराको प्रकोप देखिएको निर्देशनालयले जनाएको छ।
यस पटकको हिउँदे र वर्षायाममा प्रदेशको मुख्यतः मोरङ, झापा, सुनसरी, उदयपुर र ओखलढुंगामा लगाइएको बालीमा बढी असर परेको निर्देशनालयको भनाइ छ।

प्रदेशको सोलुखुम्बुमा भने किराको प्रकोप नभएको निर्देशनालयले जनाएको छ।

अर्कोतर्फ मोरङको बेलबारी नगरपालिकामा कृषकहरूले औषधि प्रयाेग गर्दासमेत किरा नियन्त्रण गर्न नसकेको बताएका छन्। किसानले लगाएको मकैमा किराले क्षति पुर्‍याएपछि औषधि लगाउँदासमेत नियन्त्रणमा नआएको कृषकहरूको गुनासो छ।

बेलबारी–४ का जसमणि राईले भने, ‘मकैबालीमा किराले क्षति पुर्‍याइरहेको समयमा दुई पटक औषधि स्प्रे गरे पनि किरामा नियन्त्रण गर्न सकेका छैनौँ।’

निर्देशनालयका अनुसार किरा नियन्त्रणका लागि जिल्ला तथा स्थानीय तहमासमेत विषादी वितरण गरिएको छ।

अमेरिकन फौजी किरा दिउँसोको समय गुबोमा बस्ने र रातको समयमा बालीमा नोक्सानी गर्ने बाली संरक्षण प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका प्रमुख मुकेश यादवका अनुसार बाली लगाउँदैबाट किराको प्रकोप बढ्न नदिन नियमित निरीक्षण गर्ने र औषधि प्रयोग गर्दा नियन्त्रण गर्न सकिन्छ।

जेठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्