धनगढी- सुदूरपश्चिम प्रदेशमा दुई जना कोरोना संक्रमित थपिएका छन्। कैलालीको जानकी गाउँपालिका वडा नंं–१ दुर्गौली स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ३८ बर्षिय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा आज कोरोना पुष्टि भएको हो।

धनगढी स्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनमा कोरोना पुष्टि भएको हो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।
जानकी गाउँपालिकामा मात्र कोराना संक्रमण पुष्टि हुनेको संख्या चार पुगेको छ।

यस अघि शनिवार उक्त क्वारेन्टाइनमा रहेका जानकी गाउँपालिका वडा नं.–४ मुनुवा वजारका १ जना र वडा नं.–७ मोतिनगर र जवलपुरका दुई जनामा कोरानो संक्रमणको पुष्टि भएको थियो।

उक्त क्वारेन्टाइनका १६ जनाको स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि धनगढी पठाइएकोमा अहिलेसम्म ४ जनामा कोराना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएका अछामका स्थायी वासिन्दा हुन् भने केही समय अघि भारत पुगेका उनी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्किएका थिए।

नेपालमा रहेका भारतीयलाई सीमासम्म छाड्न गएको गाडीमा बसेर उनी भारतीय नाका बाँकेको रूपडियाबाट जेठ २ गते राति कैलालीको सत्ती स्थित कर्णाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेर जेठ ३ गते दुर्गौली स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ल्याइएका थिए।

आज संक्रमण पुष्टी भएकी अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिइन्। उनका बुवामा पनि आईतवार कोरोना संक्रमण पुष्टि भइसकेको छ।

जेठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्