‘प्रधानमन्त्रीले निजी क्षेत्रलाई लिएर गरेको सम्बोधन भाषणमा मात्रै सीमित नहोस्’

भवानी राणा। फाइल फोटो।

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बाेधन गर्ने क्रममा निजी क्षेत्रलाई लिएर गरेको सम्बोधन कार्यान्वयन हुनुपर्नेमा उद्योगीहरुले जाेड दिएका छन्।

उद्योगीहरुले प्रधानमन्त्रीले निजी क्षेत्रलाई लिएर गरेको सम्बोधन स्वागतयाेग्य भएपनि त्यसको कार्यान्वयन हुनपर्ने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा नियन्त्रणको सिमाभित्र रहने गरी थप उद्योगहरु संचालन गर्न दिइने बताएका थिए। काममा आउने कामदारलाई समुदायमा नजाने प्रवधान मिलाएर उनीहरुको कोरोना परिक्षण गरी प्रशासनको निगरानीमा उद्योग व्यवसाय संचालन हुने स्थानमा ल्याउने प्रबन्ध मिलाउनु पर्ने प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्रीले ओलीले कोरोना महामारीबाट क्षति भएका औद्योगिक क्षेत्रका लागि राहतको व्यवस्था गर्ने, जसमा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा छुट दिइने बताएका थिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले प्रधानमन्त्रीले निजी क्षेत्रका लागि गरेको सम्बोधनलाई सकरात्मक रुपमा लिएको बताइन्। उक्त सम्बोधनको कार्यान्वयन हुने पर्खाइमा रहेको उनकाे भनाइ छ। उनले भनिन्, ‘निजी क्षेत्रका लागि उक्त सम्बोधनको खाँचो थियो। र प्रधानमन्त्रीले सम्बोधन गर्नु भयो। आशा छ छिट्टै कार्यान्वयन हुन्छ।’

उनले नेपाल उद्योग वाणिज्य संघले उठाइरहेको कुराहरु नै प्रधानमन्त्रीको सम्बोधनमा आएको बताइन्। लकडाउनका कारण आर्थिक क्षति व्यहाेर्नु परेकाे भन्दै निजी क्षेत्रले केही समयदेखि राहत प्याकेजको माग उठाइरहेको थियो।

यस्तै महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले प्रधानमन्त्रीले गरेको सम्बोधनप्रति आशावादी भएको बताए। उनले उक्त सम्बोधन लागु हुनुपर्ने बताए।

उनले भने, ‘प्रधानमन्त्रीले आर्थिक गतिविधिहरु सुरक्षा सावधानी अपनाएर गर्नुपर्ने भन्नुभएको छ। हामी गरिरहेका छौँ। र अझै गर्दै जानेछौँ। यो सकरात्मक कुरा हाे’, उनले भने।

उनले प्रधानमन्त्रीले भनेअनुरुप मजदुरको व्यवस्थापन गर्दै थप उद्योगहरु संचालन गर्दै जाने बताए। ‘भविष्यको लकडाउन कस्तो होला अनुमान गर्न सकिन्छ’, उनले भने, ‘प्रधानमन्त्रीले भने अनुरुप आर्थिक गतिविधि सुरु गर्दै जानुपर्छ। अब थप होसियार भएर कोरोनासँग लड्दै काम गर्दै जानुपर्छ।’

आफूहरुले सुरक्षाका उपाय अपनाएर उद्योगहरु संचालन गर्दै आएको मुरारकाकाे भनाइ छ।

यस्तै उनले सरकारले संकटमा गरेको निर्णयमा साथ दिनुपर्ने बताए। उनले भने, ‘हामीले अहिलेको अवस्थालाई लिएर सरकारले गरेको निर्णयको पनि सम्बोधन गर्नुपर्छ। सरकारले रहरले बन्द गरेको होइन, मजबुरीले हो।’

काम गर्दै जाँदा आउने समस्याहरु विस्तारै समाधान हुँदै जाने उनले बताए।

यस्तै बैंक तथा वित्तीय संस्थाका अध्यक्ष उद्योगी पवन गोल्यानले प्रधानमन्त्रीले निजी क्षेत्रलाई लिएर गरेको सम्बोधन भाषणमा मात्र सिमित नभइ कार्यान्वयन हुनुपर्नेमा जाेड दिए। उनले उक्त सम्बोधन भाषणमा मात्र सिमित नराख्न सरकारलाई आग्रह गरे। उनले भने, ‘प्रधानमन्त्रीले गरेको सम्बोधनबाट खुसी छौँ। तर त्यो व्यवहारमा लागु हुनु पर्‍यो।’

गोल्यानले सुरक्षाका उपाय अपनाएर उद्योगहरु संचालन गरेको बताए। तर उनले कामदारको कोरोना परीक्षण नगरिएको बताए। ‘हामीले सुरक्षा अपनाएर नै काम गरिरहेका छौँ। तर कोरोना भाइरसको टेस्टको काम भएको छैन। त्यो हुन जरुरी छ’, उनले भने, ‘विस्तारै किट आउन सुरु हुन्छ अनि परीक्षण गछौँ।’

उनले आफूसँग ४ हजार तीन सय कामदार भएपनि बढी नेपालकै कामदार भएको जानकारी दिए। ‘हामीसँग चार हजार तीन सय कामदारहरु छन्। नेपालकै सबभन्दा बढी छन्। १८ सय कामदार भित्र नै छन्। अब प्रधानमन्त्रीको सम्बोधनपछि त्यसको सुरक्षाको दायरामा बसेर काम गर्नुपर्छ। स्थानीय निकायहरुले पनि अप्ठेरो मानिरहेको थियो। र कामदारहरुले पनि सुरक्षाको कुरा छ’, गाेल्यानले भने।

यसैगरी नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले प्रधानमन्त्रीकाे सम्बोधन लागु गर्नुपर्ने बताए। ‘प्रधानमन्त्रीले निजी क्षेत्रलाई लिएर गरेको सम्बोधनको स्वागत गर्छु’, उनले भने,  ‘तर यस्ता सम्बोधन पहिले पनि धेरैचाटी आएर कहिले कार्यान्वयन भएनन्।’

सरकारका लागि निजी क्षेत्र भनेका नेपाल उद्योग वाणिज्य, नेपाल चेम्बर अफ कर्मश लगायतका क्षेत्र भएको र साना तथा माझौला निजी क्षेत्रहरुलाई उपेक्षा गर्ने गरेको उनको भनाइ छ।

‘उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कर्मशमा आबद्ध रहनेहरुलाई मात्रै उद्योगी मान्ने सरकारको प्रवृति छ’, उनले भने।

जेठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्