कोरोनाको ‘हटस्पट’ बन्दै बाँके, आठमध्ये ६ पालिकामा फैलियो कोरोना

नेपालगञ्ज– परीक्षणको दायरा बढाउँदै जादा बाँकेमा नयाँ–नयाँ ठाउँमा कोरोना देखिएको छ। मंगलबार बैजनाथ गाउँपालिकामा पनि कोरोना देखिएको हो।

बैजनाथ गाउँपालिका वडा नं. ३ का ३० वर्षीय पुरुषमा कोराना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेसँगै जिल्लाका आठ वटा स्थानीय तहमध्ये ६ वटामा कोरोना देखिएको छ। हालसम्म कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा कोरोना पुष्टि भइसकेको छैन। जानकी गाउँपालिकामा अहिलेसम्म कोरोना परीक्षण नै गरिएको छैन।

मंगलबार डुडुवामा चार जना, राप्तीसोनारीमा दुई जना र नेपालगञ्जमा एकजनामा पनि कोरोना पुष्टि भयो। बाँकेमा कोरोना संक्रमितको संख्या एक सय ५४ पुगेको छ। त्यसमध्येमा २२ जना निको भएर घर गएका छन्। एकजनाको मृत्यु भइसकेको छ।

बाँकेमा भारतबाट आउने क्रम चलिरहेको छ। नाकाबाट भित्रिनेलाई सम्बन्धित पालिकाबाट सवारी साधन ल्याएर लैजाने गरिएको छ। क्वारेन्टाइनको संख्या र त्यसमा बस्नेको संख्या दिनदिनै बढिरहेको छ। अहिले बाँकेमा क्वारेन्टाइनमा दुई हजार एक सय ६५ जना बसिरहेका छन्। भारतबाट आउने र क्वारेन्टाइनमा बस्नेको संख्या बढे अनुसार स्वाव संकलन र परीक्षण सुस्त भएको छ।

यसैबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पठाइएको बाँकेका ६० जना प्रहरीको पीसीआर जाँचको रिपोर्ट नेगेटिभ आएको छ।

कोरोनाको जोखिममा दिनरात ड्यूटीमा खटिएका प्रहरीको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले स्याम्पल लिएर जाँचका लागि पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो।

नेपालगञ्जमा शुरुमा पोजिटिभ देखिएका ६० वर्षीय पुरुषको स्वाब संकलनको समयदेखि त्यसपछि कोरोना देखिएकाहरुको टोल सील र संक्रमितहरुलाई लैजाने ल्याउने कार्यमा संलग्न प्रहरीको कोरोना परीक्षण गरिएको थियो।

स्वाब संकलन गरेको लामो समयसम्म रिपोर्ट नआउँदा तनावमा रहेका प्रहरीलाई नेगेटिभ रिपोर्ट आउदा राहत मिलेको छ। ब्यारेकमा बस्ने भएकाले प्रहरीको रिपोर्ट छिटो बाहिर ल्याउन आग्रह गरिएको थियो।

बाँकेको नरैनापुरमा एकजना प्रहरीलाई कोरोना देखा परिसकेकाले फिल्डमा खटिएका अरु प्रहरीको जाँच गरिएको थियो।

जेष्ठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्