सीमापारी जोगवनीमा रोकिएका २५० नेपालीलाई ल्याइँदै

माेरङ– लकडाउन र सीमा बन्दका कारण भारतको विभिन्न क्षेत्रबाट आएर सीमामा रोकिएका २ सय ५० जना नेपालीलाई नेपाल प्रवेश गराउने कार्य सुरु भएको छ।

लामो समयदेखि भारतको जोगबनीस्थित एक विद्यालयमा बस्दै आएका उनीहरुलाई भारत र नेपालको अन्तरजिल्ला समन्वयमा नेपाल भित्र्याइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार भारतको विभिन्न स्थानबाट उनीहरु नेपालका विभिन्न स्थान पुग्नका लागि आइपुगेका हुन्।

यस क्रममा कोही करिब डेढ महिनादेखि जोगबनीको क्वारेन्टाइनमा बस्दै आएको बताएका प्रमुख जिल्ला अधिकारी भुजेलले सबैलाई होल्डिङ क्षेत्रमा राखेर स्थानीय तहलाई जिम्मा लगाउने जानकारी दिए।

यसरी आउनेमा रुकुम, स्याङ्जा, गोरखा, सिन्धुली, पाँचथर, झापा, सुनसरी, मोरङसंगै अन्य जिल्लाका स्थानीय रहेको उनले बताए। यसक्रममा केही सर्वसाधारण लगातार तीनचार दिनदेखि साइकलको यात्राबाट सीमासम्म आएको उनको भनाइ छ।

मोरङ र सुनसरीमा घरनजिक हुनेहरुलाई स्थानीय तहको जिम्मा लगाएर राति नै पठाउने र टाढा पुग्नु पर्नेका लागि खानपिनको समेत व्यवस्था गरेको प्रशासनले जनाएको छ। उनीहरुलाई स्थानीय तहको निगरानीमा अनिवार्य १४ दिनको क्वारेन्टाइनमा राखिने बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलुका ७ बजेसम्म ४० जनालाई विराटनगर भित्र्याइएको र सबैलाई महानगरपालिका १३ स्थित डिएभी स्कुलमा राखिनेछ।

मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बेलुका ७ बजेसम्ममा ४० जना भित्रिसकेको र अन्य समेत आउने क्रम जारी रहेको बताए।

नेपाल भित्र्याउने क्रममा सबै जनाको व्यक्तिगत विवरण लिएको बताएका प्रहरी प्रवक्ता राईले सबै जनाको तापक्रम मापन गरिएको जानकारी दिए।

जेष्ठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्