मधेस केन्द्रित दलको मागलाई निशान छाप सम्बन्धी संविधान संशोधनसँगै पारित नगर्न सरकार दृढ

काठमाडौँ– निशान छापसम्बन्धी संविधन संशोधनका बेला आफ्ना माग पनि समावेश गरी संविधान संशोधन गर्न मधेस केन्द्रीत दल जनता समाजवादी पार्टीले गरेको आग्रहलाई सरकारले अस्वीकार गरेको छ।

तर भौगोलिक अखण्डताका पक्षमा आफू उभिने संकेत गर्दै आगामी दिनमा त्यसबारे छलफल जारी राख्ने उक्त पार्टीले दिएको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा जनता समावादी पार्टीका तर्फबाट सामेल डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर र सरदसिंह भण्डारीले एकै स्वरमा आफूहरुले लामो समयदेखि उठाउँदै आएका मागहरु पनि समावेश गरेर संविधान संशोधन गर्न सरकारलाई आग्रह गरेका थिए।

तर प्रधानमन्त्री ओलीले उनीहरुका मागबारे पछि छलफल गर्न सकिने भन्दै त्यसलाई अस्वीकार गरेका हुन्।  बैठकमा समाजवादी पार्टीका नेता उपेन्द्र यादवले मधेसी जनताको हकहितका लागि आफूहरुले लामो समयदेखि उठाउँदै आएका माग समेटेर संविधान संशोधन गर्नुपर्छ भन्ने आफूहरुको अडान दोहोराएको बताए।

उनले भने, ‘संविधानमा कमीकमजोरी छन्। यो संविधान मधेसी जनताको हितमा छैन। हामीलाई साथ लिएर जाने नजाने कुरा प्रधानमन्त्रीमा भर पर्छ। हाम्रो माग पुरा हुने नहुने कुरा सरकारको बलमा निर्भर गर्छ।’

त्यसो भए तपाईहरु राष्ट्रिय एकता र भौगोलिक अखण्डताको पक्षमा हुनुहुन्न भन्ने प्रश्नको जबाफमा यादवले आफूहरु सँधैव राष्ट्रिय एकता र भौगोलिक अखण्डताका पक्षमा रहेको तर राष्ट्रिय एकतामा अन्य तत्वहरु पनि समावेश हुने प्रतिक्रिया दिएका थिए।

उक्त दलका अर्का नेता भट्टराईले संविधान संशोधन सर्वसम्मतिबाट पारित गराउने वातावरण बनाउने काममा प्रधानमन्त्री ओलीले भूमिका खेल्नुपर्ने बताएका थिए।

उनले भने,‘ हामीले मधेसी, जनजाती, मुस्लिम सबै समुदायको हितलाई ध्यान दिएर राष्ट्रिय एकता गर्न आवश्यक छ। भौगालिक अखण्डता पनि महत्वपूर्ण विषय हो। सर्वसम्मतिबाट संविधान संशोधन गर्ने विषयमा प्रधानमन्त्रीले वातावरण बनाउनु पर्छ भन्नेमा जोड दिएँ।’

बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनता समाजवादी पार्टीले आफ्ना मागलाई पनि समावेश गरेर आग्रह गरेको तर ती विषयमा समय लिएर कुनै बेला छलफल गर्न सकिने प्रतिक्रिया प्रधानमन्त्री ओलीबाट आएको बताए।

मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए,‘संविधान संशोधनको अहिलेको विषयमा अरु विषय नजोडौँ। कुनै बेला समय लिएर छलफल गर्न सकिन्छ।’ तर मन्त्री ज्ञवालीले जनता समाजवादी पार्टीका नेताहरुले आफूहरु भौगोलिक अखण्डताका विषयमा एकै ठाउँमा रहेको बताएको दाबी गरे।

बैठकमा सहभागि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला र विमलिन्द्र निधिले निशान छाप परिवर्तनका लागि संविधान संशोधनका पक्षमा आफूहरु भएपनि आफ्नो दलको केन्द्रीय कार्यसमिति बैठकबाट त्यससम्बन्धी औपचारिक निर्णय गर्ने बताएका थिए।

बैठकपछि नेता सिटौलाले भने, ‘नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि हस्तक्षप हुनुहुन्न भन्नेमा हाम्रो एक मत छ । संविधान संशोधनका पक्षमा हामी पनि छौँ। तर केन्द्रीय कार्यसमिति बैठक बोलाएर त्यसबारे निर्णय गर्छौँ।’

जेष्ठ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू