लिपुलेकको विषयलाई लिएर सुदूरपश्चिम प्रदेशसभा अवरुद्ध

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादीको अवरोधका कारण अवरुद्ध भएको छ ।

प्रदेशको बजेट अधिवेशनका अन्तर्गत मंगलबार भएको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले लिपुलेकलाई विवादित क्षेत्र भनेर अभिव्यक्ति दिएको विषयलाई लिएर दुई प्रतिपक्ष दलले प्रदेशसभा अवरोध गरेका हुन् ।

बुधबार बसको प्रदेशसभा बैठक सुरु भए लगत्तै मन्त्रीले माफी माग्नुपर्ने मागसहित प्रतिपक्षी दलहरुले प्रदेश सभाको बैठक अवरोध गरेका हुन् ।

संघीय सरकारले नेपालको भू–भागका रुपमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नक्सा अद्यावधिक गरिसकेको र सम्पूर्ण राष्ट्र त्यसको समर्थनमा रहेका बेला अविभाज्य भू–भागलाई विवादित भनेकोमा मन्त्री बोहराले सदनमा माफी माग्नुपर्ने प्रतिपक्षि दलहरुको माग छ ।

सदन अवरोध गर्ने प्रतिपक्षी दलका तर्फबाट बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोबिन्दराज बोहराले मन्त्रीको अभिव्यक्ति सरकारकै अभिव्यक्तिका रुपमा रहने भएकोले मन्त्रीले माफी माग्नु पर्ने र आफ्नो दलका तर्फबाट पाँचौँ अधिवेशनकै बेला दर्ता गरिएको संकल्प प्रस्तावमाथि सदनमा छलफल हुनुपर्ने बताए ।

प्रतिपक्षी दलको अवरोध पछि सभामुख अर्जुन बहादुर थापाले प्रदेशसभाको बैठक बिहीबरसम्मका लागि स्थगित गरेका छन् ।

जेठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्