‘आरडिटी परीक्षणले आतंक फैलायो, बन्द गरौँ’

संसद बैठक। फाइल तस्बिर।

काठमाडौँ – सांसदहरुले आरडिटीमार्फत भइरेको कोरोनाको परीक्षण बन्द गर्न सुझाव दिएका छन्। बुधबार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले आरडिटी परीक्षणले रोग पत्ता लगाउने भन्दा पनि समाजमा अनावश्यक आतंक फैलाएको भन्दै बन्द गर्न माग गरेका हुन्।

विपक्षी कांग्रेसका सांसद राजेन्द्र केसीले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–१० मा आरडिटी परीक्षणमा दश जनामा पोजिटिभ देखिए पनि पीसीआरमा नदेखिँदा नागरिकलाई संत्रास मात्र फैलाएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उलने संसदमा भने, ‘मेरो निर्वाचन क्षेत्रमा आरडिटी परीक्षण गर्दा दश जनामा पोजिटिभ देखियो। त्यसपछि उनीहरुलाई हतार हतार क्वारेन्टिनमा राखियो। उनीहरुका परिवारमा रुवाबासी फैलियो। तर ६ दिनपछि पीसीआर रिपोर्ट आउँदा नेगेटिभ देखियो। यसरी आतंक किन फैलाउने ? बन्द गरौं।’

उनले आरडिटी परीक्षण भरपर्दो भएको भनेर विश्व स्वास्थ्य संगठनले नभनेको र सरकारले समेत औपचारिक रुपमा परीक्षण गर्ने निर्णय नगरेको अवस्थामा प्रयोग किन भइरहेको छ भन्दै स्वास्थ्यमन्त्रीसँग जवाफ मागे।

कांग्रेसकै सांसद भरतकुमार शाहले कोरोना नियन्त्रणमा लगाइएको लक डाउनको मोडालिटी फेर्न आग्रह गरे।

लक डाउनका कारण अर्थतन्त्रमा धेरै नकरात्मक असर परेकाले अब पनि यसलाई अहिलेकै अवस्थामा निरन्तरता दिन आवश्यक नरहेको उल्लेख गरे।

उनले भने, ‘अरु देशले लक डाउन खुकुलाे पार्दै लगेका छन्। हाम्रो पनि अर्थतन्त्रमा धेरै असर गरिसक्यो। अब मोडालिटी फेरौँ।’
सांसद शाहले धानको बिउ राख्ने बेला अभाव र ३०० प्रतिशतसम्म बालोबजारी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै नेकपा सांसद भवानीप्रसाद खापुङले पनि लक डाउन खुकुलो बनाउन माग गरे। सांसद भीमसेन दास प्रधानले टुँडिखेलमा रहेको सेनाको अस्पताललाई कोरोना रोगको उपचारमा प्रयोग गर्न सरकारलाई सुझाव दिए।

अर्का सांसद भैरवबहादुर सिंहले भारतले विश्व स्वास्थ्य संगठनको निर्देशनविपरीत क्वारेन्टिनमा बसेकालाई लखट्ने काम गरेकाले नेपालीलाई सुरक्षित रुपमा देश फिर्ता ल्याउने पहल गर्न आग्रह गरे।

मंगलबार जस्तै बुधबार पनि सांसदहरुले रुकुम पश्चिकमा भएको घटनाका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे।

जेठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्