हाम्रो आवाज पनि सुन्नुहोस्- ३

मस्त निदाउन पनि डर लाग्छ

खै कहाँबाट सुरु गरुँ ! अहिलेको यो कोरोना (कोभिड – १९) को महामारी र लकडाउनले जिन्दगी दिक्क लाग्दो भएको छ। संसारमा कोरोनाले मानिस लाखौं मरे रे। करोडौं संक्रमित भएजस्ता समाचारले त मन त्यसै कहालीलाग्दो, त्रासदीपूर्ण र मानव संवेदनहीन हुँदो रहेछ। यसै त कान कम सुन्ने त्यस माथि यो महामारीमा जीवन झन कष्टकर हुँदै गएको छ। यसो काम विशेषले कतै जान लाग्यो भने परिवार छर– छिमेकले प्रहरी गस्ती गरिराछ भनेर जान दिदैँनन् रे, आदि आदि सुन्नुपर्ने।

सरकारी सूचनामा हाम्रो पहुँच नभाएकोले कहाँ कतिबेला जानहुने, जान नहुने, किन गस्ती नै गरेको भन्ने कुरा प्रष्ट बुझेका छैनौँ। उता बजार गयो, मास्क लगाउन पर्ने जमाना आयो। मैले ओठको चाल हेरेर बुझेर कुरा गर्ने गरेको, अहिले त मलाई मास्कले कुरा बुझ्न झनै गाह्रो भएको छ। मास्क खोल भन्न नि नमिल्ने, भनिहाले पनि उनीहरु स्वयम् खोल्न मन नगर्ने कस्तो फसाद! अर्कोतिर एक बच्चाको आमा म, बाबू चाचा, पापा भन्ने बेलाको भैसक्यो। चाचा भनेको हो कि पापा भनेको थाहा छैन। दिक्क लाग्छ कहिले काहिँ।

उसै त बच्चाले बोलेको हामी सुस्तश्रवणलाई बुझ्न अलि गाह्रो हुन्छ, त्यही माथि उस्तै शब्द झन गाह्रो। मेरो श्रवण यन्त्र पनि पुरानो भैसक्यो, सुनेको कुरा प्रष्ट हुँदैन आजकल। बाबुले पापा भन्छ, बाबा भनेको हैन भनेर अरुहरुले बल्लतल्ल अर्थ्याउँछन्, त्यो पनि छर–छिमेकको अगाडि भएको बेलामा। यस्तो छ हामी सुस्त श्रवणको अवस्था।

सुत्दा श्रवण यन्त्र झिकेर सुत्नुपर्छ, राति छोरो रोएर, उठेर हिँडेको थाहा पाइन्न। कति पटक भइसक्यो। कहिले त मस्त निद्रामा सुतेको हुन्छु, झस्याङ्ग भई उठेको बेलामा बच्चा नदेखेपछि निकै नै तर्सन्छु। सबैलाई उठाउँछु, कहाँ गयो भनेर। बाबु उठेको थाहा पाउदिन कि भनेर, मस्तको निन्द्रा लाग्दा पनि निकै डर लाग्छ।

हामी सुस्त श्रवणको पीडा भोग्नेलाइ मात्र थाहा हुन्छ, सुन्नेलाई के मतलब भो। यसो दुई चार जनाको समुहमा बस्दा के भनिरहेका छन्, कुरा बुझिन्न। सोध्यो- सके बुझाउने प्रयास गर्छन्, नसके अनावश्यक कुरामा चासो नराख भन्छन्, के गर्ने। म स्थानीय स्वास्थ्यकेन्द्रमा महिला स्वास्थ्य स्वयम् सेविकामा भर्खरै काम गर्न थालेको छु। बेला बेला गोष्ठी सेमिनारहरु हुन्छन्।

हुन त सबै महिलाको मातृत्वपन, बच्चा हुर्काउने शैली सबै उस्तै नै हुने हो। फरक यति हो कि सुन्नेहरु बच्चाको बोली फुट्दाको आवाज सुन्न सक्छन्। हामी कम सुन्नेहरु बच्चाले के भनिरहेको छ भनेर थाहा पाउन सक्दैनौँ।

त्यहाँ पनि आधा कुरो मात्र बुझ्ने,अति नै गाह्रो भयो। मैले मेरो मोबाईल नम्बर दिएको छु। तर कार्यक्रमहरूको सूचना सबै सुन्नेहरुले अगाडि नै थाहा पाउँछन्। मलाई चाहिँ एसएमएस गर्न नै गाह्रो मान्छन्। कार्यक्रमको दिनमा मात्र बल्लतल्ल पठाउँछन्, अनि मलाई थाहा हुन्छ। अनि त सबै काम छोडेर दौडन पर्ने हुन्छ। वाक्क लाग्छ- कहिले सम्म बुझाउन पर्ने हो सुन्नेहरुलाई, एसएमएस पनि अरुहरूलाई जुन दिन फोन गरिन्छ, त्यै दिन गर्नु भनेर। हामी सुस्त श्रवणहरुलाई जे गरुँ भने नि सजिलो छैन।

म, श्रीमान् र एक छोरा गरी तीन जनाको सानो परिवार मात्र हो। श्रीमान् जागिरे मान्छे, सधैँ डिउटीमा गइरहनु पर्ने हुन्छ। आफू पनि पार्ट टाईम काममा बेला बेलामा हिँडिरहनु पर्ने भएकोले बच्चा हेर्ने मान्छे समेत नहुने। फेरि आफू कान कम सुन्ने भएकोले बच्चामा पनि यो समस्या हुन्छ कि भन्ने चिन्ता उत्तिकै लागिरहने। जब बच्चाले एक दुईवटा स्वर उच्चारण गर्न थाल्यो, त्यसपछि भने बल्ल मन आनन्दित हुन थाल्यो कि बाबुमा मेरो जस्तो कानको कुनै समस्या छैन भनेर।

हुन त म स्वयम् पनि जन्मिदै कान नसुन्ने समस्या भएको भने होइन। आमा कृषक, खेल्दा खेल्दै कानमा गहुँ हाल्न पुगे। बालापनको चकचके स्वभाव न हो। त्यही गहुँ निकाल्दा कानको भित्री भागमा असर भएछ। बिस्तारै कान सुन्ने क्षमता कम हुँदै गएको हो। हुन त सबै महिलाको मातृत्वपन, बच्चा हुर्काउने शैली सबै उस्तै नै हुने हो। फरक यति हो कि सुन्नेहरु बच्चाको बोली फुट्दाको आवाज सुन्न सक्छन्। हामी कम सुन्नेहरु बच्चाले के भनिरहेको छ भनेर थाहा पाउन सक्दैनौँ।

बच्चा पनि जति ठूलो हुँदै गयो, हुर्काउन झन् गाह्रो हुँदो रहेछ। प्रायः घरमा एक्लै हुने भएर बच्चाले बोलाएको रोएको नसुनिएला भनेर बच्चा सँगै बसिरहन मन लाग्ने रहेछ। ट्वाइलेट जाँदा, भान्छामा जाँदा पनि मिले सम्मसँगै नै लैजान्छु तर जति खेर पनि बच्चा च्यापेर बसिरहन पनि सम्भव नहुने रहेछ।

खान पर्‍यो, खुवाउन पर्‍यो, झन् गाह्रो। त्यही भएर बढी जसो समय बच्चा हुर्काउनको लागि भनेर आजकल माइतीमै बस्दै आएको छु। घर र माइती सँगसँगै जस्तो छ। कतै जानै परे माइतीमा बच्चा छोडेर जाने गरेको छु।

फेरि बच्चाले बोली सिक्ने बेलामा हामीलाई उस्तै गाह्रो। आफूले सिकाएको कुरामा उसको प्रतिक्रिया प्रष्ट नसुनिने हुँदा शब्द सिकाउने झनै मुश्किल। बच्चाको बोलीको विकासको लागि भए पनि बाबुलाई वाध्यतावश माइतीमा राखेर हुर्काउने गरेको छु। माइतीमा बस्दा पनि घरको चिन्ता त्यति नै लाग्छ।

कहिलेसम्म यसरी सुन्नेहरुमा आश्रित भएर बस्नुपर्ने हो, थाहा छैन। जहाँ जाउँ, सुन्ने व्यक्ति नै खोज्नुपर्ने। सुनेर स्वतन्त्र भएर आफैँ जीवन चलाउन सक्ने कहिले होला खै मेरो जीवनमा? श्रवण यन्त्र पनि अति नै महंगो छ। तुरुन्तै किन्न सक्ने अवस्था पनि छैन अहिले। अहिले बाबुको हरेक कुरामा ध्यानपूर्वक सुन्न पर्ने, थाहा पाउन पर्ने अवस्थामा किन्न नसकेपछि यो नसुन्ने अवस्थालाई साहै नै धिक्कार गर्न मन लाग्दो रहेछ। खै सरकारसँग हाम्रो आवश्यकताको कुरामा वकालत गर्दा गर्दै पनि वाक्क भईसके।

(लेखिका श्रुति संस्थाको संस्थापक सदस्य तथा हाल उपाध्यक्ष हुनुहुन्छ।)

जेठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्