आफ्नो टाउको जोडेर बनाइएका अश्लील भिडियोले नायिकाहरु तनावमा

काठमाडौं-  कलाकार संघले मंगलबार महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्‍यो,  नेपाली नायिकाहरुको टाउको जोडेर बनाइएका अश्लील भिडियोहरु बन्द गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै।

अश्लील साइटहरुमा ती भिडियोहरु अहिले पनि छ्यापछ्याप्ती छन्। भिडियोहरु हालसालै अपलोड भएका भने होइनन्। एक नायिकाको टाउको जोडेर बनाइएको भिडियो ७/८ महिना अघि अपलोड भएको अनुसन्धान अधिकारी बनाउँछन्। ती अधिकारीका अनुसार अर्की एक नायिकाकै यस्तै भिडियो एक वर्षभन्दा अघि नै अपलोड भएको थियो।

‘ओरिजिनल भिडियो’मा अरु कसैको टाउको जोड्ने कामलाई प्राविधिक भाषामा ‘मर्फिङ’, ‘डिपफेक’ भन्ने गरिन्छ। अश्लील भिडियोमा नायिका, गायिकासहित सेलिब्रेटीहरुको टाउको जोडेर उनीहरुकै जस्तै बनाइने यो प्रवृत्ति पुरानो हो। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु नेपाली नायिकाका यस्ता भिडियो कसले बनाएर अपलोड गरे भन्ने सम्बन्धमा निष्कर्षमा पुग्न सकेका छैनन्।

‘मर्फिङ गरिएका तस्बिर तथा भिडियोहरु हेर्नेबित्तिकै थाहा हुन्छ यो नक्कली हो भनेर’, ती अधिकारी भन्छन्।

सोमबार नायिका आँचल शर्माको त्यस्तै भिडियोबारे कसैले उनलाई जानकारी दिएपछि भारतीय ह्याकरहरुले त्यसो गरेको हुनसक्ने आशंकामा उनले फेसबुकमा पोस्टसमेत गरेकी थिइन्- ‘आफ्नो देशको बारे बोल्दा राष्ट्रिय एकताको विषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपालीले यस्तो सहनुपर्ने ?’

उनले अगाडि  लेखेकी थिइन्, ‘जसले त्यस्ता प्रकारका अश्लील भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका छन्, तिनीहरुको विरुद्धमा एक भएर अघि बढ्न जरुरी छ। यतिबेला तपाईँ साथीभाइको अनि शुभचिन्तकको साथको जरुरी छ मलाई।’ कलाकार संघको उजुरी नायिका आँचल शर्माको यो पोस्टकै निरन्तरता हो।

अश्लिल भिडियोहरु यौनजन्य अपराध बढाएको भन्दै सरकारले गत वर्ष नै अश्लील भिडियोका साइटहरुलाई बन्द गराएको थियो। इन्टरनेट सर्भिस प्रोभाइडर-आईएसपीहरुले केही समय यस्ता साइटहरु बन्दा गराएपनि पछिल्लो समय फेरि सजिलै खुल्ने भएका छन्।

‘हामीले दुरसञ्चार प्राधिकरणलाई अश्लील साइटहरु बन्द गर्न आग्रह गरेका छौँ। यसमा आईएसपीहरु बढी जिम्मेवार हुनुपर्छ,’ महाशाखाका एक प्रहरी अधिकृत भन्छन्। आइएसपीहरुले यस्ता साइटहरु बन्द गरेपनि प्रयोगकर्ताहरुले भिपिएनमार्फत पहुँच राख्न सक्ने अनुसन्धान अधिकारी बताउँछन्। महाशाखाले अश्लील भिडियो अपलोड भएका त्यस्ता साइटहरुलाई पनि हटाइदिन आग्रह गरेको छ।

जेष्ठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू