प्रदेश-२मा पछिल्लो २४ घण्टामा ५६ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ३२४ पुग्यो

जनकपुरधाम- प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५६ जना नयाँ संक्रमित बढेसँगै प्रदेशमा कुल ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रौतहटमा ३५, बारामा ८ जना, सप्तरीमा ११ जना र सिरहा जिल्लामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन्।

यस प्रदेशमा संक्रमण पुष्टि भएका अधिकांश व्यक्ति युवा समुहका रहेका छन्। युवाहरु हिडडुल तथा आवतजावत बढी गर्ने गरेकोले संक्रमण पनि बढि हुनु स्वभाविक रहेको सचिव घिमिरेले बताए।

नेपाल भरमा कुल १ सय ५३ जना निको भएर आफ्नो घर गएकोमा सबै भन्दा बढी यसै प्रदेशमा कोरोना संक्रमित निको भएका छन्। यस प्रदेशमा हालसम्म ९३ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका सचिव घिमिरेले जानकारी दिए।

प्रदेश २ मा नारायणी अस्पताल र त्यसको अन्तर्गत रहेको गण्डक अस्पतालबाट डिस्चार्ज भएका छन्।

वैशाख १४ गते २ जना, जेठ १० गते ९ जना, जेठ ११ गते १८ जना, जेठ १२ गते ४३ जना र जेठ १३ गते गण्डक अस्पताल विरगंजबाट २१ जना डिस्चार्ज भएका छन्। प्रदेश २ मा हालसम्म एकजनाको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको छ।

जेष्ठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्