सुदूरपश्चिममा स्वदेश फर्कने बढ्दै, कीट र मेडिकल सामग्रीको अभाव

फाइल तस्बिर

केही समयदेखि भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली हुल बाँधेर स्वदेश फर्किरहेका छन्। यस्तै भारतबाट जोखिमपूर्ण यात्रा गरेर फर्किने नेपालीको चाप बढेपछि आइतबार बसेको जिल्ला सुरक्षा समिति, कञ्चनपुरको बैठकले सोमबारदेखि गड्डाचौकी नाका खोलेर भारतबाट फर्किएका नेपालीलाई सुरक्षित रूपमा सम्बन्धित स्थानीय तहसँगको समन्वय क्वारेन्टाइन पठाउने निर्णय गरेको थियो।

भारतमा लकडाउन खुकुलो भई रेल सेवा संचालनमा आएपछि स्वदेश फर्किने नेपालीको संख्या दिन प्रतिदिन ह्वात्तै बढेको छ। नेपालमा लकडाउन भएका कारण लुकीछिपी घर फर्किनेहरुको संख्या बढेसँगै कोभिड–१९ संक्रमणको जोखिम बढी हुने भएका कारण गड्डाचौकी खौलने निर्णय गरिएको थियो।

जोखिम बढी हुनसक्ने भन्दै नाका खुल्ला गरेपनि किट अभावका कारण नाकाबाट भित्रिने गरेका सम्पूर्णको चेकजाँच गर्न नसकेको जिल्ला प्रशासन कार्यलय कञ्चनपुरका सूचना अधिकारी कृष्णनन्द जोशीले बताए।

‘सोमबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म नाका खुल्ला गर्दा साढे २ हजार आएका थिए। मंगलबार ७ सय र आज (बुधबार) १३ सय जना भित्रिएका छन्’, उनले भने,‘नाकाबाट आउने सबैलाई सामान्य चेक जाँच ‘थर्मल स्क्यानिङ्’ मात्रै हुने गर्छ। ज्वरो नाम गरिसकेपछि उनीहरुलाई नाकाबाटै सम्बन्धित स्थानिय तहसँग समन्वय गरेर कसैको सम्पर्कमा आउन नदिई गाडी चढाएर स्थानीय तहकै क्वारेन्टाइनमा राख्ने गरेका छौँ।’

तर नाकाबाट आउने गरेका नेपालीलाई लक्षण नदेखिएमा भने ज्वरो नाप्ने बाहेक अन्य कुनै पनि परीक्षण नगरिने उनले बताए। उनका अनुसार ‘थर्मल स्क्यानिङ्’ गर्दा कसैलाई तापक्रम धेरै छ भने उक्त व्यक्तिलाई नाकाबाटै एम्बुलेन्समा राखेर महाकाली अस्पतालको आइसोलेसन पुर्‍याउने गरिएको छ।

तर मंगलबारभन्दा अगाडि दोधाराचाँदनीबाट नेपाल फर्किएका सबैको आरडीटीसँगै पीसीआरसमेत परीक्षण गरिएको उनी बताउँछन्।

‘तर अहिले किटको अभावले गर्दा शंकास्पद भएमा नाकाकै टेस्ट गरेर आइसोलेसनमा पठाउने गरेका छौँ। लक्षण नदेखिएका व्यक्तिहरुलाई भने टेस्ट नगरेर सिधै क्वारेन्टाइनमा पठाउने गरेका छौँ’, उनी भन्छन्, ‘सबै जनालाई टेस्ट नगर्नुको मुख्य कारण किटको अभाव भएरै हो। पीसीआर यहाँ मात्र नभएर देशभर नै कम छ, तर हामी कहाँ आरडीटीको पनि अभाव भइरहेको छ। एक पटक आएको थियो, तर सकियाे। अर्को भनेको त्यत्रो भिडलाई पर्खाएर परीक्षण गर्न सम्भव पनि छैन।’

संघीय सरकारले केही समय आगाडि सुदूरपश्चिम प्रदेशका भारतबाट फर्किएका शंकास्पद व्यक्तिहरुको परीक्षणका लागि ४ हजार आरडीटी र पीसीआरका लागि २१ सय किट पठाएको थियो।

प्रदेशले संघलाई किटको अभाव भएकाले परीक्षणका लागि समस्या भइरहेको बताए पनि संघले आफूसँग भएसम्म किट पठाउने बताएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकाशमन्त्री कृष्णराज सुवेदीले बताए।

‘हामीले केन्द्रलाई आफ्नो समस्या भनेर आरडीटी किटको माग गरेका छौँ। उहाँहरुले भाएसम्म पठाउछौँ भन्नु भएको छ’, उनले भने,‘यो समस्या प्रदेशलाई मात्र होइन देशलाई नै छ। देशभर नै महामारी फैलिएका कारण सामाग्रीहरुको अभाव भएको हो। त्यही पनि हामीले अलि अलि जोहो गरिरहेका छौँ।’

मन्त्री सुवेदीका अनुसार संघीय सरकारसँग किटको माग गरेपनि प्रदेश सरकारले आफै पनि खरिद गर्न लागेको छ। किटको अभाव भएका कारण प्रदेश सरकारले आफैले किट लगायत स्वास्थ्य सामाग्री खरिद गर्न लागेको मन्त्री सुवेदीले बताए।

उनले भने, ‘हामीले बोलपत्र आह्वान गरेका थियौँ। यहाँ अहिले किटको अभाव छ। धेरै समस्या भइरहेको छ। प्रदेश आपूर्ति कार्यलयबाट बोलपत्र आह्वान गरेको छ। हामीले सामाग्री खरिदका लागि रुपैयाँ पठाएका छौँ। उहाँहरुले प्रकृया आगाडि बढाइरहनु भएको छ।’

सामाग्री खरिदका लागि ठ्याक्कै कति रुपैयाँ खर्च हुन्छ भन्ने बारे आफूहरुलाई यकिन नभएपनि सामग्री खरिदका लागि प्रदेश सरकारले आपूर्तिलाई २०/२२ करोड रुपैयाँ उपलब्ध गराएका मन्त्रीले बताए।

मन्त्रीका अनुसार उक्त खर्चमा परीक्षणका लागि किट, २० वटा भेन्टिलेटर, ३ वटा पीसीआर मेसिन, पीपीई लगायतका अस्पतालमा चाहिने स्वास्थ्य औजार खरिद गरिदिनका लागि हो। तर किट, भेन्टिलेटर र पीसीआर मेसिन भने आउँदो २७ गतेसम्म आइपुग्ने बोलपत्रमा उल्लेख गरिएको छ।

‘आरडीटीका लागि २० हजार र पीसीआरका लागि २ हजार किट हिजो अन्तिम दिन थियो। पाँच जनाले टेन्डर हालेका छन्। तर कसको पर्छ, केही दिनमा थाहा हुन्छ’, मन्त्रीले भने, ‘उनीहरुले टेन्डर कतिमा हाल्छन्। त्यही अनुसार हामीले भुक्तानी दिनु पर्छ। सामाग्री खरिदमा हामीले आपूर्तिलाई दिएको रुपैयाँ भन्दा कम पर्‍यो भने पर्दैन, तर बढी पर्‍यो भने हामीले उहाँहरुलाई सामाग्री थप्नुस्, हामी पैसा दिन्छौँ भनेका छौँ।’

प्रदेश सरकारले आफूले खरिद गर्न लागेका सम्पूर्ण सामान आएपछि केही हदसम्म समस्या समधान हुने बताएको छ।

मन्त्रीका अनुसार भारतबाट एक्कासी धेरै मानिस आएका कारण समस्या झन् थपिएको हो। सुदूरपश्चिमका विभिन्न नाकाबाट मंगलबार साँझसम्म २६ हजार र बुधबार साँझ ५ बजेसम्म साढे पाँच हजार जना नेपाली भित्रिएको उनले बताए।

‘घर फर्किनेको संख्या ह्वात्तै बढेको छ। खरिद गरेको किट सकिदै जान्छ तर भारतबाट नेपाल फर्किनेहरुको संख्या दिन प्रति दिन झन्‌झन् बढिरहेको छ’, मन्त्रीले भने,‘मानिसको संख्यामा पनि कमि आएपछि त सामाग्रीको अभाव नहुने हो। दैनिक ५ देखि ७ हजारका दरले मानिसहरु भित्रिरहेका छन्। कहिलेसम्म आउँछन्, कसैलाई पत्तो छैन।’

अहिलेसम्म करिब ३० हजार मानिसहरु भारतबाट भित्रिसकेको बताउँदै उनले थपे, ‘अनि कसरी हुन्छ, समस्याको समाधान?’

जेठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्