ललितपुरमा कोरोनाका कारण एकको मृत्यु, मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौँ- ललितपुरमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको छ।

ललितपुरको किस्ट अस्पतालमा रहेका एक पुरुषको कोरोना संक्रमणका कारण बुधबार निधन भएको ललितपुरका एसएसपी टेकबहादुर राईले देशसञ्चारलाई जानकारी दिए। उनी ५६ वर्षका थिए।

कलेजो संक्रमणका बिरामी ती पुरुष गत जेठ १२ गते किस्ट अस्पताल भर्ना भएका थिए। उनको घर ललितपुर महानगरपालिका २२, बुङ्‌मतिमा थियो।

किस्ट अस्पतालमा भर्ना भएका उनको स्वाब संकलन गरिएर परीक्षणका लागि टेकु पुर्‍याइएको थियो।

निधनको केहीबेरपछि टेकुबाट आएको रिपोर्टमा उनमा कोरोना भाइरसको संक्रमण  रहेको पुष्टि भएको हो।

नेपालमा यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भइसकेको छ। नेपालमा अहिलेसम्म ८८६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

जेठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्