बिरामीको कोरोनाले निधन भएपछि किस्ट अस्पतालमा उच्च सावधानी, चिकित्सक र नर्सहरु क्वारेन्टाइनमा

फाइल फोटो।

काठमाडौँ- ललितपुरको  इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उपचाररत एक बिरामीको कोरोना संक्रमणका कारण निधन भएपछि उक्त अस्पतालमा उच्च सावधानी अपनाइएको छ।

उक्त अस्पतालको एमआइसियुमा भर्ना भएका ५६ वर्षीय पुरुषको बुधबार कोरोना संक्रमणका कारण निधन भएको थियो।

उक्त अस्पतालमा आइसियुमा भर्ना भएका सबै बिरामीको सोमबार स्वाब संकलन गरिएकाे थियाे । मृत्यु भएका एक जना र अन्य एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ। अन्य एकजनाको पिसिआर रिपोर्ट भने पेन्डिङमा रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। ती बिरामीको अहिले आइसोलेसनमा राखेर उपचार जारी राखिएको अस्पतालले जानकारी दिएको छ।

१२ गते सिकिस्त अवस्थामा पाटन अस्पतालमा पुर्‍याइएका ती ५६ वर्षीय पुरुषलाई त्यहाँ आइसियु नभएपछि ग्वार्कोस्थित किस्ट अस्पताल पुर्‍याइएको हो।

लक्षण जटिल देखिएकाले उनलाई एमआइसियुमा भर्ना गरेलगत्तै स्वाब संकलन गरिएको थियो भने उपचारमा उच्च सावधानी पनि अपनाइएको अस्पताल स्रोतले बतायो।

उनको उपचारमा संलग्न चिकित्सक र डाक्टरहरु गरी २० जना रिपोर्टलगत्तै क्वारेन्टाइनमा बसेका छन्।

किस्ट अस्पतालमा उपचाररत बिरामीको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा उच्च सावधानी अपनाइएको छ भने ती व्यक्ति उपचारमा रहेका वार्ड र आइसियुको सेवा केही समयका लागि बन्द गरिएको छ। अस्पतालको अन्य सेवा भने सुचारु रहेको अस्पतालले जानकारी दिएको छ।

आइसियुमै रहेका अन्य बिरामीलाई पनि रिपोर्ट नेगेटिभ आए पनि अन्यत्र व्यवस्थापन गरिने अस्पताल स्रोतले जानकारी दिएको छ।

कोरोना संक्रमणका कारण निधन भएका ती पुरुषको शव व्यवस्थापनको जिम्मा भने स्थानीय महालक्ष्मी नगरपालिकाले लिने भएको छ।

जेठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्