रुकुमकाण्डमा बेवास्तामा परेकी पीडित किशोरी

कसैकाे ध्यान नपुगेकी ती १७ वर्षे किशोरीको मनस्थिति

काठमाडौँ– जेठ १३ गते प्रतिनिधि सभा बैठकमा सांसद बिन्दा पाण्डेले सभामुखलाई सम्बोधन गर्दै भनिन्, ‘रुकुममा घटेको दुर्घटना दलित विरुद्धको मात्र हैन मानवता विरुद्धको अपराध हो, यस अर्थ दोषीलाई हदैसम्म कारवाही हुनुपर्छ भन्नेमा दुईमत छैन।

तर,

दुर्घटनापछि बालिका जो छ, अहिलेको प्रेसरले गर्दा किशाेरीतर्फ अर्को दुर्घटना घट्न सक्छ, त्यसको बारेमा पनि ‘साइकोसोसल काउन्सिलिङ’ को बारेमा पनि सरकारले ध्यान दिओस् भनेर आग्रह गर्न चाहन्छु।’

नेपालमा अहिले कोरोना महामारीपछि सबैभन्दा बढी तातेको विषय हो, ‘रुकुमकाण्ड।’ १९ जनाको टोलीसहित जाजरकोटबाट रुकुमको सोती पुगेका नवराज बिककसहित ४ जनाको शव भेरी नदीमा फेला पर्‍यो र दुई अझै बेपत्ता छन्। देशभर उनीहरुको न्यायको लागि लडाइँ भइरहेको छ। जेठ १३ गते प्रतिनिधिसभामा सांसदहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई नवराजले न्याय पाउनुपर्ने भन्दै घटना छानविनको लागि प्रश्न गरे।

प्रहरीले यो दुर्घटनापछि किशोरी, आमाबाबु, वडाअध्यक्ष र गाउँलेहरुसहित १२ जनालाई पक्राउ गरिसकेको छ। सामाजिक सञ्जालमा दोषीलाई कडा भन्दा कडा कारवाही गरिनुपर्ने भन्दै विरोध उठिरहेको छ।

देशभर यो घटनाले भुइँचालो ल्याइरहेको बेलामा नवराजकी प्रेमिका ‘किशोरी’ प्रहरी नियन्त्रणमा छिन्। सामाजिक सञ्जालमा उनलाई धेरै गाली गरिराखिएको छ। दोषीलाई कारवाहीको अनि पीडितलाई न्यायको माग गरिरहँदा १७ वर्षे किशोरीको मनस्थितिलाई ध्यानमा राखिनुपर्ने भन्दै सांसद पाण्डेले फेरि अर्को दुर्घटना नदोहोरियोस् भन्नका लागि सचेत गराएकी थिइन्। चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले ती किशोरी प्रहरी नियन्त्रणमा रहेको जानकारी दिए।

प्राय: अपराधका मुद्दाहरुमा जो पीडित जीवित हुन्छन्, उसको ‘मनोसामाजिक संरक्षण’ को विशेष ख्याल गरिँदैन, त्यसको व्यवस्था पनि छैन।

अपराधका मुद्दाहरुमा मृत पीडितको न्यायको लागि लड्दै गर्दा उसँग जोडिएको अर्को पीडित छायाँ पर्दा वा उसको सुरक्षा नगर्दा पीडितलाई मानसिक समस्या आउने मानसिक अस्पतालका चिकित्सा मनोविद् भूपेन्द्र सिंह गुरुङ बताउँछन्।

गुरुङ भन्छन्, ‘यस्ता दुर्घटनाले व्यक्तिमा मानसिक प्रभाव पर्छ। समाजले हेर्ने दृष्टिकोण फरक पर्छ। यस्ता व्यक्तिलाई मनोसामाजिक परामर्श प्रदान गर्नुपर्ने आवश्यकता छ।’

‘रुकुमकाण्डको विषयमा यही भन्न सकिँदैन, अहिलेको माहोलले यही हुन्छ भनेर भन्न सकिँदैन। किनभने हामीलाई ती किशोरीको अवस्था कस्तो छ थाहा छैन,’ गुरुङ भन्छन्, ‘तर अपराधका अन्य घटनामा धेरैजसाे पीडितलाई ट्रमा, कडा खालका मानसिक रोग, एडजस्टमेन्ट डिसअर्डर लगायतका समस्या हुन सक्छन्, पीडितलाई आत्महत्याको सोच पनि आउन सक्छ।’

रुपन्देहीमा केही दिन अगाडिमात्र १३ वर्षकी एक बालिकाकाे झुण्डिएको अवस्थामा शव भेटियो । परीक्षणबाट थाहा भयो उनको बलात्कारपछि हत्या भएको थियो । गाउँलेले बलात्कार गर्नेकै जिम्मा लगाएपछि त्यस्तो घटना भयो ।

गुरुङका अनुसार यस्ता खालका अपराधबाट प्रभावितहरुलाई मानसिक आघात हुन सक्छ, उनीहरु भावनात्मक रुपमा धेरै नै कमजोर हुन्छन्। उनीहरु ‘ट्रमा’ मा हुन सक्छन् र बिना सोचीसम्झी निर्णय लिन सक्छन्, जुन गलत हुन्छ।

पीडितहरुलाई दुर्घटनापछि ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिस्अडर’ (पिटिएसडी) पनि हुन सक्छ। अर्थात दुर्घटना भएको धेरै समयपछि पनि त्यसले तनाव दिन्छ।

हत्या लगायत अपराधिक दुर्घटना घटिसकेपछि एक पक्षले धेरै सहानुभूति प्राप्त गर्ने र अर्को पक्षलाई गाली गर्ने प्रवृति हुन्छ। राजदरबार हत्याकाण्ड पछि एक नाम अत्यन्तै चर्चामा रहेको थियो, स्वर्गीय युवराज दीपेन्द्रसँग देवयानी राणाको नाम जोडिएको थियो। त्यत्तिबेला युवराज दीपेन्द्रसँग देवयानीको विवाह हुन नसकेको कारण यस्तो दुर्घटना भएको भनेर उनलाई दोष दिने काम भयो।

देवयानी राणालाई यो घटनापछि लामो समयसम्म सार्वजनिक जीवनमा देखिएन। उनी लामो समयसम्म भारततिरै बसिन्। यो घटनाले उनको जीवनमा धेरै ठूलो उथलपुथल भयो। उनी मानसिक आघातको अवस्थामा पुगिन्।

‘कुनै पनि ट्रमाको कारण समस्यामा आएको बिरामीको उपचार सफल हुन बिरामीको वरपरका मानिसले गर्ने व्यवहारमा भर पर्छ। यस्ता बिरामीलाई विशेषगरी परिवार, आफन्त, साथीभाईले धेरै सहयोग गर्नुपर्छ, त्यस्तै विद्यालय, कलेज जाने उमेरका बिरामीलाई निको बनाउन शिक्षक शिक्षिकाको पनि महत्वपूर्ण भूमिका हुन्छ। बिरामीको भौतिक शरीर, भावना र मानसिक अवस्थाको ध्यान दिनुपर्ने हुन्छ।’

रुकुमकाण्डकी पीडितको विषयमा गुरुङ भन्छन्, ‘यी किशोरीले अहिले आफ्नो प्रेमी गुमाएकी छन्, बाबुआमा प्रहरी नियन्त्रणमा छन्, उनलाई सामाजिक लाञ्छना पनि व्यहोर्न परिरहेको छ। उनलाई धेरै गारो पर्छ। किशोरीको मनो सामाजिक अवस्थाको बारेमा चाँडै ख्याल गरिनुपर्छ।’

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्