१००,००० भन्दा बढी अमेरिकीको कोभिड–१९ बाट निधन

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक लाख भन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिड–१९ बाट एक लाख २७६ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या १६ लाख ९८ हजार भन्दा बढी पुगेको छ । विश्वभर संक्रमित भएका कुल मानिसमध्ये झण्डै ३० प्रतिशत अमेरिकामा छन् ।

अमेरिकामा गएको जनवरी २१ मा वासिङ्गटनमा पहिलो संक्रमण पुष्टि भएको थियो । चार महिना भित्र संक्रमित तथा मृत्यु हुनेको संख्या विश्वकै सबैभन्दा धेरै भएको हो । विश्वभर हालसम्म ५६ लाख ८५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । त्यसमध्ये कम्तिमा तीन लाख ५४ हजार ९८३ जनाको ज्यान गएको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पछिल्लो ४४ वर्षमा कोरिया, भियतनाम, इराक तथा अफगानिस्तानमा भएका हिंसाको क्रममा ज्यान गुमाउने अमेरिकी सुरक्षाकर्मीको संख्यासँग लगभग बराबर रहेको छ ।

समाचार संस्था रोयटर्सले गरेको अध्ययन अनुसार पछिल्लो हप्ता अमेरिकाका २० राज्यमा अझै पनि संक्रमणदर बढ्दो क्रममा देखिएको छ । शिकागो, लस एन्जलस र वासिङ्गटन डिसीसहितका महानगरका अस्पतालमा अझै पनि संक्रमितको संख्या अधिक छ ।

नर्थ क्यारोलाइना, विस्कनसिन र अर्कान्सा राज्यमा अहिले पनि संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

बढी प्रभावित भएका केही राज्यमा भने मृत्युदर कम हुँदै गएको छ । २९ हजार ४८४ भन्दा बढीको ज्यान गएको न्यूयोर्कमा अहिले संक्रमण नियन्त्रणमा आउने क्रममा छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुले संक्रमण नियन्त्रणका लागि उपयुक्त प्रयास नगरेको भए मृत्यु हुनेको संख्या यो भन्दा धेरै हुने बताएका छन् । तर ट्रम्प प्रशासनले महामारी नियन्त्रणमा लिनका लागि उपयुक्त प्रयास नगरेको भन्दै तीव्र आलोचना हुँदै आएको छ ।

ट्रम्पले भने सरकारले गरेको प्रयासकै कारण लाखौँ अमेरिकी ज्यान जोगिएको दाबी गर्दै आएको छन् । गएको मंगलबार उनले केही नगरेको भए अहिलेभन्दा २५ गुणा बढी मानिसको ज्यान जाने बताएका थिए ।

महामारीको सुरुमा उनले कोरोना भाइरसलाई सामान्य मौसमी फ्लूका रुपमा ब्याख्या गरेका थिए । यहि मे २० मा ट्रम्पले अमेरिकामा सबैभन्दा धेरै संक्रमित देखिनु सम्मानको पदक रहेको बताएका थिए ।

न्यूयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयले गरेको अध्ययन अनुसार अमेरिकाले समयमै उपयुक्त प्रयास गरेको भए ३६ हजार भन्दा कम मानिसको ज्यान जाने थियो ।

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्