हङकङ अब चीनबाट ‘स्वायत्त’ रहेनः पोम्पेओ

नयाँ सुरक्षा कानूनको विरोधमा प्रजातन्त्र पक्षधरहरु।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अमेरिकी कानून अनुसार हङकङ अब विशेष व्यवहार वा सहयोगको योग्य नरहेको बताएका छन् ।

कंग्रेसमा विदेश मन्त्री पोम्पेओले अमेरिकाले हङकङमाथि कायम राख्दै आएको विशेष व्यवहार अब कानून अनुसार उपयुक्त नरहेको बताएका हुन् ।

अमेरिकाले यस्तो घोषणा गरेमा हङकङले पाउँदै आएको विश्वको व्यापारिक केन्द्रको पहिचानमा धक्का लाग्ने छ । यस्तै चीन पनि रुष्ट हुन सक्ने छ ।

विदेश मन्त्री पोम्पेओले वक्तव्यमा भनेका छन्, ‘बुझेको कुनै पनि व्यक्तिले अहिले यो भन्न सक्दैन कि हङकङ चीनबाट स्वायत्त छ, त्यहाँको वास्तविकता यहि नै हो ।’

चीनले सुरक्षा सम्बन्धी नयाँ कानून ल्याउने घोषणा गरेदेखि नै अमेरिकाले त्यसको आलोचना गर्दै आएको छ ।

विदेश मन्त्री पोम्पेओले भनेका छन्, ‘सुरक्षा सम्बन्धी नयाँ कानून हङकङको स्वयत्तता र स्वतन्त्रता आधारभूत रुपमै कुण्ठित पार्ने शृङ्खलाबद्ध अभियानको पछिल्लो कडी मात्रै हो । अब यो स्पष्ट भएको छ कि चीनले हङकङलाई पूर्ण रुपमा नियन्त्रणमा राख्न चाहन्छ ।’

अमेरिकाले आफ्नो कानून अनुसार हङकङलाई वित्तिय तथा व्यापरको ग्लोबल हबको विशेष दर्जा प्रदान गरेको छ ।

सुरक्षा सम्बन्धी नयाँ कानूनको विरोधमा हङकङमा प्रदर्शन हुँदै आएको छ । त्यसक्रममा प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

चीनले गएको हप्ता घोषणा गरेको सुरक्षा सम्बन्धी नयाँ कानूनको विरोधमा हङकङका प्रजातन्त्र पक्षधरहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रजातन्त्र पक्षधरहरुले चीनले घोषणा गरेको नयाँ सुरक्षा कानून कार्यान्वयनमा आएमा अन्ततः हङकङको विलय हुन सक्ने बताएका छन् । यस्तै सो कानून हङकङको आधारभूत स्वतन्त्रता र कानूनी शासनको भावना विपरित रहेको प्रदर्शनकारीको भनाई छ ।

सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङ अलग छ ।

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्